Wednesday, April 28, 2010

मन्त्रीले भनेको नमान्दा गार्डको धुलाई !

खेलकुद मन्त्री गणेश नेपालीका कार्यकर्ताले जनकपुर चुरोट कारखानाका गार्डलाई मन्त्रीकै सामु कुटपिट गरेका छन्। कारखानाका कर्मचारीले दिएको जानकारीअनुसार जर्जर रहेको कारखानामा जेनेरेटर बन्द गरिएको कारणले पानी नआएपछि मन्त्रीले जेनेरेटर चलाउन दबाब दिएका थिए। कारखानाका सुरक्षा कमान्डर अशोक मिश्रले आफूलाई जेनेरेटर चलाउने निर्देशन नभएको कारणले चलाउन नमिल्ने बताएका थिए। सो झोकमा मन्त्रीका कार्यकर्ताहरूले गार्डलाई कुटपिट गरेका हुन्।

सुरक्षागार्डलाई पिटिएको खबर कारखानाका कर्मचारीले थाहा पाएपछि मन्त्रीलाई घेराउ गरेका थिए। कर्मचारीहरूले मन्त्री रहेको कोठामा ताला लगाएर थुनेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोठाको ताल्चा फुटाएर मन्त्रीलाई बाहिर निकालेका थिए। कर्मचारीहरूले मन्त्रीको गाडीमा समेत तोडफोड गरेका थिए। कर्मचारीको विरोधका कारणले करिब तीन घण्टा कारखाना परिसर तनावग्रस्त बनेको थियो।

अतिथि गृहमा पानी र बिजुलीको उचित व्यवस्था नभएको भन्दै मन्त्रीसँगै रहेका तमलोपा कार्यकर्ताहरू सुरक्षागार्ड मिश्रलाई राति पौने ११ बजे कुटपिट गरेका थिए। उक्त घटनाबाट आक्रोशित कारखानाका कामदारहरूले मन्त्रीलाई घेराउ गर्नुका साथै विरोधमा चर्को नाराबाजीसमेत गरेका थिए। कुटपिटमा दोषी देखिएका कार्यकर्तालाई कारबाही गर्ने स्थानीय प्रशासनले प्रतिबद्धता व्यक्त गरेपछि मात्रै कर्मचारीहरूले आफ्नो विरोधको कार्यक्र्रम स्थगित गरेका थिए।

आथिर्करूपले धराशयी भएको जनकपुर चुरोट कारखानाको सुविधा सम्पन्न अतिथि गृहमा बसोबास गर्नु मन्त्रीदेखि नेताहरूको पहिलो प्राथमिकता हुने गरेको छ। (नमस्तेयूरोप)

No comments:

Post a Comment