Thursday, April 29, 2010

अनावश्यक ४१ ठाउँमा पुल !

विज्ञान अधिकारी, काठमाडौ, वैशाख १६ - मुलुकको ठूलो जनसंख्या पुल अभावले फेरी र तुइन तरेर गुजार गर्न बाध्य भएको अवस्थामा सरकारले राजनीतिक दबाबमा अनावश्यक स्थानमा पुल बनाउन थालेको छ। चालु बजेटमा ३० स्थानमा पुल निर्माणको कार्यक्रम राखिकामा सरकारले अनावश्यक ४१ स्थानमा थप पुल बनाउन लागेको हो।


'आर्थिक र मानविय घनत्वको आधारमा पुल निर्माण हुनुपर्ने हो,' भौतिक योजना तथा निर्माण मन्त्रालय मन्त्रालयका अधिकाले नागरिकसँग भने, 'तर अहिले जथाभावी रुपमा आवश्यकै नभएको स्थानमा पुल निर्माण गर्न थालिएको छ।'

स्रोतका अनुसार कुनै दलको विशेष दबाबकै आधारमा पुल निर्माण हुँदा सरकारको रकम अनावश्यक स्थानमा खर्च भएको छ। आवश्यक स्थानमा पुल नभएर सर्वसाधारणले दुःख पाइरहेका छन्। कालीगण्डकी नदिको १८ किलोमिटर पेफेमा चारवटा पुल निर्माण भइरहेका छन्। '१८ किलोमिटरको नजिकमा यस पुल निर्माण गर्नुपर्ने कुनै आधार देखिदैन,' मन्त्रालयका ती अधिकारीले भने, 'यो कुनै दलको दबाबका आधारमा बनाइएको हो।' 'राजनीतिक दबाबकै कारण नियमित भन्दा बढी पुल निर्माण गर्न थालिएको हो,' ती अधिकारीले भने।

मन्त्रालयले ४१ थपे पनि योजना आयोगले २० वटा मात्र स्विकृती गरेको थियो। सबै ७१ पुल निर्माण गर्न २ अर्ब ३५ करोड रुपैयाँ आवश्यक पर्छ।

अनावश्यक स्थानमा निर्माण हुने पुलले आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्न सक्दैन। अहिले पनि कर्णाली लगायतका धेरै जिल्लामा पुल अभावमा स्थानिय स्तरमा उब्जाउ भएको सामानले बजार पाउन सकेको छैन। 'जनताले पुल नभएर फेरी र तुइनबाट नदी ओहोरदोहोर गर्नु परिरहेको छ,' ती अधिकारीले भने, 'तर सरकारले दलको दबाबमा फजुल खर्च गरिरहेको छ।'

स्रोतका अनुसार कतिपय दलका नेताहरुले आफ्ना घर अगाडी भएको स्थानमा पुल निर्माण गरिरहेका छन्। मन्त्रालयका अनुसार आधीखोलामा ६ वटा पुल निर्माण भइरहेको छ। 'आधीखोलमा यतिधेरै पुल आवश्यक छैन,' मन्त्रालयका ती अधिकारीले भने।

यस्तै काठमाडौ भित्रै विजुलीबजारमा दुई सय मिटरभित्रै अर्को पुल निर्माण भइरहेको छ। विजुलीबजारको पुल नजिकै नेपाल निर्माण व्यवसायी महासंघ नजिक अर्को पुल निर्माण भइरहेको छ। यो स्थानमा पुल आवश्यक देखिदैन। 'धोबीखोलामा पुल भए नजिकै अर्को पुल बनिरहेको छ,' ती अधिकारीले भने, 'दुई सय मिटर फरकमा पुल आवश्यक छैन। ' काठमाडौ सडक डिभिजन कार्यालयले भने उक्त स्थानमा पुल निर्माण आवश्यक भएको बतायो। 'दुई सय मिटर भित्रै पनि जनसंख्याको हिसाबले पुल आवश्यक भएकाले बनिरहेको हो,' कार्यालय प्रमुख बलराम मिश्रले नागरिकसँग भने।

मन्त्रालयका अधिकारीका अनुसार सिंनामगलको पुल निर्माणमा ढिलासुस्ती गरेर नयाँ स्थानमा पुल निर्माण गर्नुको नियत ठीक देखिदैन। सर्वसाधारणलाई सिंनामगलको चाँडो पुल निर्माण नहुँदा त्रिभुवन विमानस्थल लगायत क्षेत्रमा जान सास्ती छ।

अहिले निर्माण भएको पुल प्राविधिक हिसाबले समेत राम्रा छैनन्। 'कुनै अध्यययन र प्राविधिक हिसाब बिना पुल बनाइएका छन्,' ती कर्मचारीले भने, 'जथाभाबी रुपमा बनाएका यस्ता पुल कस बलियो होला?'

राजधानीका सडक खाल्डाखुल्डीविहिन
सरकारले पर्यटन वर्षलाई लक्षित गरेर उपत्यकाको एक सय किलोमिटर सडक खाल्डाखुल्डीविहिन बनाउने भएको छ। पर्यटन क्षेत्र वरपर रहेका स्थानलाई ध्यानमा राखेर सडक निर्माण गर्न थालिएको हो।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिलेसम्म २५ किलामिटर क्षेत्र निर्माण भइसकेको छ। कार्यालय प्रमुख मिश्रका अनुसार लक्ष्य गरिएको अरु सडक मंसिरभित्र निर्माण सम्पन्न गरिसक्ने बताए । (नागरिकन्यूज)

No comments:

Post a Comment