Thursday, April 29, 2010

दाहालको विकल्प खोज्न सकिन्छः नारायणकाजी

रासस काठमाडौं, वैशाख १६ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति भए सरकारको नेतृत्व गर्ने व्यक्तिको विकल्पमा लचकता अपनाउन सक्ने बताएका छन् ।

राजधानीका विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग अनौपचारिक कुराकानीमा उनले यस्तो बताएका हुन् । 'हुन त हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले हाम्रो नेतृत्वमा सरकार बन्ने स्थिति आएमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'कै नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ,' उनले भने, 'तर हामी यति लचक पनि छौं कि राष्ट्रिय सहमति बनेमा यसबारेमासमेत हाम्रो पार्टी लचक हुनसक्छ ।'

यद्यपि उपाध्यक्ष श्रेष्ठले विदेशी शक्तिहरूले यो वा त्यो नाम अगाडि सारेर आपmनो पार्टीभित्र खेल्न खोजेको आरोप पनि लगाए । आफ्नो पार्टीलाई राष्ट्रिय स्वाधीनता, सेना समायोजन र नयाँ संविधान निर्माण गर्ने सवालमा आत्मसमर्पण गराउन खोजिए सहमति हुन नसक्ने टिप्पणी गर्दै उनले विगतमा भएका सबै समझदारीका आधारमा नै सहमति खोज्नुपर्छ भन्नुभयो ।

गत चैत ५ गते एमाओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले सभामुखलाई समेत जानकारी गराएर जेठ १४ गतेभित्रै संविधान जारी गर्ने सहमति गरे पनि कांग्रेस र एमालेले आलटाल गरेर अहिले तोकिएको समयमा संविधान बन्दैन भन्दै हिँडेको आरोप लगाउँदै उपाध्यक्ष श्रेष्ठले भने, 'दलहरूबीच सहमति नभई संविधानसभाको अवधि बढाउनुको कुनै अर्थ छैन, आपसी सहमति भए मात्र यसो गर्न सकिन्छ ।'

यही वैशाख १८ गते बेलुकासम्म सहमति नभए आमहड्तालमा जानुको विकल्प नरहने अडानमा जोड दिंदै उनले आन्दोलन भने शान्तिपूर्ण, संयमित र मर्यादित नै हुने दाबी गरे । तत्काल जनविद्रोहमा जाने पार्टीको अहिलेको एजेन्डा नै नभएको जीकिर गर्दै उनले तर्क गरे, 'तर शान्ति भाँडेर मुलुकलाई गृहयुद्धमा लगियो, संविधान बनाउन दिइएन भने त्यतिबेला जनता टुलुटुलु हेरेर बस्दैनन्, जनविद्रोहमा जान बाध्य हुनेछन् ।'

No comments:

Post a Comment