Thursday, April 29, 2010

१२ कक्षाको परीक्षा १८ केन्द्रमा स्थगित

रुबी रौनियार, काठमाडौं, वैशाख १६- बिहीबारदेखि सञ्चालन भएको कक्षा १२ को अङ्ग्रेजी परीक्षा मुलुकका केही केन्द्रमा स्थगन भएको छ। ७ सय ८७ केन्द्रमा सञ्चालन गरिएको यो परीक्षा १८ केन्द्रमा स्थगित भएको जानकारी उच्च माध्यमिक शिक्षा परिषदले दिएको छ। उपत्यकाका मात्रै ७ परीक्षा केन्द्रमा परीक्षा स्थगित भएको छ। सोह्रखुट्टे क्षेत्रका परीक्षा केन्द्रमा परीक्षा स्थगित भएको परिषदले जनाएको छ।


शान्ति विद्यागृह, मनमोहन उच्चमावि, प्राइम कलेज, सिग्मा मावि, गीतामाता उच्चमावि, पब्लिक कलेज र गीतान्जलि कलेज केन्द्रका परीक्षा स्थगित भएको हो।

गीतान्जलि तथा सिग्मा माविमा परीक्षार्थीले नै प्रश्नपत्र च्यातेर बाहिरिएका थिए भने अन्य केन्द्रमा बाहिरी व्यक्ति छिरेर परीक्षार्थीको उत्तरपुस्तिका च्यातिदिएका परिषदका सदस्यसचिव रामबहादुर खड्काले बताए।

त्यसैगरी परीक्षा स्थगित भएका बाँकी ११ परीक्षा केन्द्र भने उपत्यकाबाहिरका छन्। जसमा चितवनमा ४, झापामा २, रुकुममा २, रामेछापमा १ र रोल्पामा २ परीक्षा केन्द्रमा बाहिरका व्यक्ति आन्दोलनको समयमा परीक्षा सञ्चालन गरेको भन्दै भाँड्न आएपछि स्थगन गराएको खड्काले बताए। स्थगित परीक्षा अर्को सूचना प्रकाशित गरी पुन: सञ्चालन गरिने उनले बताए। यो परीक्षा वैशाख १६ देखि २८ गतेसम्म चल्नेछ। (नागरिकन्यूज)

No comments:

Post a Comment