केदार ओझा काठमाडौ, वैशाख १५ - माओवादीको अनिश्चितकालीन आमहडतालका क्रममा देशका मुख्य सहर राजधानीमा हुनसक्ने अशान्तिलाई रोक्न मंगलबारदेखि नेपाल प्रहरीले कडा चेकजाँच र निगरानी थालेको छ ।
भीड नियन्त्रण गर्न खटिनेलाई संयमित हुन र आवश्यक परेका स्थानमा मात्रै कमान्डरको आदेशमा बल प्रयोग गर्न प्रधान कार्यालयले सबै तहका सुरक्षाकर्मीलाई पुनर्ताजगी तालिम दिइरहेको छ । 'विगतका गल्ती कमजोरी नदोहोरियोस् भनेर पुनर्ताजगी तालिम दिएका हौं,' प्रधान कार्यालयका एक डीआईजीले भने, 'रिस र आवेगका झोंकमा फेला परेको एउटैलाई सामूहिक रूपमा निर्घात पिट्ने कार्य नगर्न विशेष रूपमा सम्झाएका छांै ।'
प्रहरी प्रवक्ता विज्ञानराज शर्माले 'धेरै हदसम्म संयमता अपनाउने' जानकारी दिए । उनले भने, 'कानुनविपरीत र कसैमाथि आक्रमण भए प्रहरीले तत्काल हस्तक्षेप गरी स्थितिलाई नियन्त्रणमा लिन्छ ।' पुनर्ताजगी तालिमका लागि झन्डै एक सातादेखि प्रधान कार्यालयका चौरमा खचाखच सुरक्षाकर्मीहरू तालिमरत देखिन्छन् ।
भीड नियन्त्रण गर्ने क्रममा आवश्यक पर्ने हेल्मट, बुलेट प्रुफ ज्याकेट, डन्डा, ढाल, रबरका गोली, अश्रुग्यास लगायतका बन्दोबस्तीका सामानहरू सरसफाइ र गन्ती गर्दै समूह-समूहमा बुझाउने कार्य भइरहेको छ ।
'सशस्त्र प्रहरी बलबाहेक नेपाल प्रहरीको मात्रै १२ हजार जनशक्ति एकसाथ भीड नियन्त्रणका लागि खटिने प्रबन्ध मिलाइएको छ ।' ती अधिकृत भन्छन्- 'थप मद्दतका लागि उपत्यका बाहिरका तालिम केन्द्रहरूबाट सुरक्षाकर्मी ल्याउने क्रम जारी छ ।'
केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुसार राजधानीको सुरक्षा व्यवस्था कडा गर्न थालिसकिएको छ । 'राजधानी प्रवेश गर्ने चारै नाकामा अधिकृतको कमान्डमा चौबीसै घन्टा चेकजाँच थालेका छौं ।' महानगरीय आयुक्तको कार्यालयका प्रमुख मदन खड्का भन्छन्- 'ठूलो संख्यामा माओवादी कार्यकर्ताहरू भित्रिएका सूचना आएपछि उनीहरू कुन स्थानमा ? कसरी बसेका छन् ? भन्नेबारे विवरण संकलन गर्न मंगलबार मातहतका सबै निकायलाई निर्देशन दिइएको छ ।'
बस्न र खानका लागि कसैलाई व्यक्तिगत र संस्थागत रूपमा दबाब दिएको थाहा भए त्यस्तो समूहलाई तत्काल पक्राउ गर्न आदेश दिइएको छ । खड्का भन्छन्- 'संस्थागत र व्यक्तिगत रूपमा कसैले गुनासो गरे तत्काल प्रहरी पठाएर नियन्त्रणमा लिन निर्देशन दिएको छु ।'
उनका अनुसार चन्दाका नाममा जबर्जस्ती गर्नेहरूलाई नियन्त्रणमा लिन छुट्टै टोली बनाइएको छ । पेस्तोल, खुकुरी, भालाजस्ता सांघातिक हतियार कसैले ल्याएको, राखेको सूचना आए त्यसको अन्तिम तहसम्म पुगेर अनुसन्धान गर्न निर्देशन दिइएको छ,' खड्काले भने- 'कसैले समूहमा वा एक्लै लाठी बोकेर हिँडेको देखिए त्यस्तो लाठी तत्काल खोस्न निर्देशन दिएका छौं ।' समाचार स्रोतका अनुसार माओवादी कार्यकर्ताहरूले आवश्यकता परेका बखत तत्काल झिक्न मिल्ने गरी राजधानीका आठवटा क्यासिनोहरूमा लाठी राखेको थाहा भएको छ । (इकान्तिपुर)
Wednesday, April 28, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment