Wednesday, April 28, 2010

भ्रष्टाचारी सुब्बा कारबाहीमा / सवा करोड बिगो / एक वर्ष जेल

घनश्याम खड्का काठमाडौं, वैशाख १५ - भ्रष्टाचार गरी अकुत सम्पत्ती जोडेको ठहर गर्दै विशेष अदालतले एक नायव सुब्बालाई सवा करोड बिगोसहित १ वर्ष कैद सजाय तोकेको छ ।


आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. १ बबरमहलका नासु उमेशकुमार रेग्मीलाई सजाय तोकेका हो । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले मंगलबार दण्ड जरिवानाको फैसला सुनाएको थियो ।

अख्तियारद्वारा २०५९ पुस १९ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । अदालतका अनुसार रेग्मीको कुल सम्पती एक करोड २८ लाख, ९२ हजार ३ सय ८९ रुपैयाँ देखिन आएको थियो । 'त्यस मध्ये १७ लाख ३२ हजार ६ सय ७१ रुपैयाँको मात्रै स्रोत खुलेको छ' कार्कीले भने, 'बाँकी रुपैयाँ भ्रष्टाचारबाट जोडिन आएको स्वतः सिद्ध हुन आउँछ ।'

रेग्मीले आफ्नो र उनकी पत्नी सम्झना, सासु उषादेवी काफ्ले, जेठी सासु सुशीलाकुमारी काफ्ले र सालो सुधीरकुमार काफ्लेको नाममा समेत बैंकमा पैसा लुकाएको अख्तियारको अनुसन्धानमा खुलेको थियो । उनीहरुका नाममा जग्गासमेत थियो । नगद र घरजग्गा तत्कालिन मूल्याङ्कन अनुसार १ करोड, ११ लाख, ५९ हजार ७ सय १८ रुपैयाँ बराबरको सम्पती रेग्मीले भ्रष्टाचार गरेको देखिन आउँछ । अदालतले उनलाई यति नै रकम विगो तोकेको छ ।

'निज राष्ट्रसेवक रहेका र आफुसंग रहे भएको सम्पत्तिको वैध श्रोत देखाउन नसकेकाले' अदालतले फैसलामा लेखेको छ,'निजले साविक भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) वमोजिम गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसूर गरेको ठहर्छ ।'

घरेलु शिल्पकलामा ०४५ श्रावण देखि जागिर सुरु गरेका रेग्मीले आवास तथा भौतिक परियोजना मन्त्रालयमा लेखापाल, अर्थ मन्त्रालयमाम ना.सु., तनहु कर कार्यालय र कर कार्यालयमा मुद्दा लाग्दासम्म काम गरिरहेका थिए । उनको अचल सम्पती जफत हुने अदालतको फैसलामा उल्लेख छ ।

गत साता तातोपानी भन्सार कार्यालयका खरिदार भरतप्रसाद घिमिरेलाई पनि विदेश अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै पौने करोड विगो जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । भ्रष्टाचार अभियोग लागेका अरुमाथि पनि अनुसन्धान भइरहेको कार्कीले बताए । (इकान्तिपुर)

No comments:

Post a Comment