Wednesday, April 28, 2010

निषेधित क्षेत्रमा पनि चन्दा माग

राजधानी लैजान मान्छे पनि दिनुपर्ने-
चाँदनी हमाल, चितवन, वैशाख १५- चन्दा निषेधित क्षेत्र सौराहामा पनि एकिकृत माओवादीले चन्दा माग गरेपछि पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। आन्दोलनका लागि भन्दै उनीहरुले चन्दा मागेका हुन। पटक-पटकको चन्दा आतङ्कका कारण पर्यटन व्यवसाय धरासायी भएको भन्दै गत वर्ष व्यवसायीले सौराहालाई चन्दा निषेधित क्षेत्र घोषणा गरेका थिए।

'निषेधित क्षेत्रमा पनि प्रतिव्यवसायी दुई लाखसम्म चन्दा माग गरिएको छ'- क्षेत्रीय होटल एसोसिएसन (हान) का अध्यक्ष शङ्कर सैजूले भने। 'मलाई नै पनि एक लाख चन्दा दिन भनिएको छ, सैंजूले थपे- अरु डेढ दर्जनभन्दा बढी पर्यटन व्यवसायीलाई पनि चन्दाका लागि चिठी आएको जानकारी एसोसिएसनमा आएको छ।' व्यवसायीलाई नगद र जिन्सी चन्दा दिएर सहयोग गर्न माओवादीले चिठीमा आग्रह गरेको उनले बताए।

सौराहाका व्यवसायीलाई माओवादी कार्यकर्ताले सिधै फोनबाट र भेट गरेर पनि चन्दा माग गरेको व्यवसायीले बताएका छन्। सौराहाको होटल वाइल्ड लाइफ क्याम्प, बाघमारा वाइल्डलाइफ रिसोर्ट, रोयल पार्क, जङ्गल सफारी, जङ्गल नेपाल रिसोर्ट, ग्रीनमेन्सनलगायतलाई तोकेरै दुई लाख रुपैयाँ चन्दा माग गरिएको उनीहरुले बताए। अन्यसँग भने डेढदेखि एक लाखसम्म चन्दा मागिएको व्यवसायी बताउँछन्।

माओवादी आन्दोलनको हल्लाका कारण सौराहामा पर्यटक आगमन पनि ह्वात्तै घटेको क्षेत्रीय होटल सङ्घले जनाएको छ। बन्द र आन्दोलनका हल्लाले सौराहामा ८० प्रतिशत होटल खाली रहेको सङ्घले बताएको छ। 'दैनिक तीन सयभन्दा बढी पर्यटकले हात्ती चढ्थे तर अहिले छैन्, सङ्घका पूर्व अध्यक्ष गिरिधारी चौधरीले भने। त्यहीमाथि चन्दा आतङ्क, बरु होटल बन्द गर्छौ तर चन्दा दिन्नौं'- उनले आक्रोश पोखे।

होटल व्यवसायीसँग चन्दासँगै राजधानी लैजान कर्मचारी पनि एकिकृत माओवादीले मागेका छन्। एउटा होटलबाट पाँच जना र एक हात्तीको एक जनाको सङ्ख्यामा कर्मचारी माग गरिएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष शङ्कर सैजू बताउँछन्। चन्दा र मान्छे दुवै मागेकाले सो विषयमा होटल व्यवसायीको प्रतिक्रिया दिन छलफल भैरहेको सैंजूले बताए।

मेरो होटलबाट तीन जना मागेका छन्- अर्का व्यवसायी सुवास गौतमले भने। एकिकृत माओवादीका जिल्ला इन्चार्ज अनिल शर्माले भने कसैसँग पनि जबर्जस्ती चन्दा नमागिएको दाबी गरे। स्वेच्छिकरुपमा आर्थिक सहयोग माग गरिएको उनको भनाइ छ।

सौराहामा बन्द हड्तालका बाबजुद पनि हाल ७० होटल सञ्चालनमा छन्। पर्यटकलाई थप सेवा दिन होटल बाहिर पनि १५ भन्दा बढी साना रेष्टुरेन्ट र पव सञ्चालित छन्।

No comments:

Post a Comment