Wednesday, April 28, 2010

नेपाल - वंगलादेशबीचको व्यापार प्रवर्द्धन गर्न मंगला बन्दरगाह उपयोग गर्ने सहमति

लेखनाथ पाण्डे, थिम्पु (सार्क सभा हल), वैशाख १५ - नेपाल र बंगलादेशबीच सचिव स्तरीय वार्ता गरी द्धिपक्षीय व्यापारमा देखिएका अप्ठ्यारा समाधान गर्ने सहमती भएको छ। प्रधानमन्त्री माधवकुमार नेपाल र बगलादेशी समकक्षी शेख हसिनाबीच बुधबार दुई देशबीच व्यापार प्रवर्द्धन गर्न बंगलादेशको मंगला बन्दरगाह उपयोग गर्ने सहमती भएको हो।

सार्क शिखर सम्मेलनका लागि थिम्पु आइपुगेका दुवै नेताबीच बुधबार विहान सार्क भिलेजमा भेटवार्ता भएको थियो।

'द्धिपक्षीय सम्बन्ध, सार्क प्रक्रिया र नेपाल(बंगलादेश व्यापारमा देखिएका कठिनाई सुल्झाउन विषयमा छलफल भयो' वार्तापछि प्रधानमन्त्री नेपालले भने, 'व्यापारमा भएका अप्ठ्यारा सुल्झाउन सचिव स्तरीय वार्ता गर्ने सहमती भएको छ।'

नेपालले तरकारी, फलफुल लगायत नेपाली उत्पादनलाई सहज रुपमा बंगलादेशसम्म पुर्र्याउन र तेस्रो देशबाट आयात गरिने सामग्री बंगलादेशी बन्दरगाह हुँदै ल्याउन कूटनीतिक पहल गर्दै आएको छ।

प्रधानमन्त्री नेपालले बंगलादेशी समकक्षीलाई तरकारी र फलफुललगायत नेपाली उत्पादनले बंगलादेशसम्म सहज पहुँच नपाएको उल्लेख गर्दै मंगला पोर्ट उपलब्ध गराउन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री हसिनाले यसप्रति आफू सकारात्मक रहेको बताएका थिए।

बुधबारै प्रधानमन्त्री नेपालले अफगानिस्तानका राष्टपति हमिद कारजाईसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री नेपालले बुधबार बिहानै अफगानिस्तानका राष्टपति हमिद कारजाईसँग पनि शिष्टाचार भेट गरी आपसी हित र सम्बन्ध अभिवृद्धिका विविध विषयमा छलफल भएको बताए। भेटपछि प्रधानमन्त्रीले भने, 'राष्टपति कारजाईले असल नियत र खराब कार्यले द्धन्द्ध समाधानले नहुने आफ्नो अनुभव सुनाउनुभयो।'

प्रधानमन्त्री नेपालले दुवै नेताबीच करिब आधी आधी घण्टा छलफल गरेक थिए। यसैबीच पाकिस्तानी प्रधानमन्त्री युसुफराजा गिलानीले उपप्रधान तथा परराष्टमन्त्री सुजाता कोइरालालाई भेटेर नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको निधनप्रति समवेदना दिएका छन्। कोइरालालाई भेट्न प्रधानमन्त्री गिलानी उनी बसेको नेपाल हाउसमै आएकी थिइन्। त्यसलगत्तै मन्त्री कोइराला र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेशीबीच भेटवार्ता भयो। (नागरिकन्यूज)

No comments:

Post a Comment