Thursday, April 29, 2010

माओवादीले सुरक्षा अधिकारीसँग अन्तरकृया गर्ने

१६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले शान्तिपूर्ण जनप्रदर्शनमा सेना परिचालन गर्ने धम्की शान्ति सम्झौता र अन्तरिम संविधान विपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । विहीबार विहान पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको जनआन्दोलन परिचालन समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारमाथि हस्तक्षेप नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।


बैठकपछि एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले सेना परिचालन र दमन गर्ने सरकारका मन्त्रीको अभिव्यक्ति आइरहेकोले सुरक्षा अधिकारीहरुसँग छिट्टै अन्तरकृया गर्ने बताउनुभयो ।

‘शान्तिपूर्ण जनआन्दोलनमाथि पनि दमन गर्ने सरकारका मन्त्रीहरुको अभिव्यक्ति शान्तिसम्झौता र अन्तरीम संविधानको भावना विपरीत छ,’ नेता अनन्तले भन्नुभयो, ‘हामी यसबारे सुरक्षा अधिकारीहरुसँग पनि छलफल गर्छौं ।’

मजदुर दिवसको अवसरमा राजधानीमा शनिबार गरिने बृहत जनप्रदर्शन शान्तिपूर्ण बनाउन हरसम्भव प्रयास गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जनसभालाई सम्बोधन गर्ने वक्ताको टुङ्गो

यसैगरी बैठकले आउँदो शनिबार देशभर गरिने बृहत जनसभालाई सम्बोधन गर्ने वक्ताहरुको टुङ्गो लगाएको छ । काठमाडौंमा गरिने सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुनेछ ।

यसैगरी विराटनगरमा सचिब सीपी गजुरेल, पोखरामा टोपबहादुर रायमाझी, बुटवलमा देवेन्द्र पौडेल, जनकपुरमा गिरिराजमणि पोख्रेल, दाङमा लिलामणि पोख्रेल, दिपायलमा अमिक शेरचन, धनगढीमा लेखराज भट्ट, नेपालगन्जमा हरिभक्त कँडेल र वीरगन्जमा प्रभु शाहले सम्बोधन गर्ने तय भएको छ । (अनलाइनखबर)

No comments:

Post a Comment