अजित तिवारी, विराटनगर, वैशाख १६- एकीकृत माओवादीले आन्दोलनका लागि १५ हजार रुपैयाँ अनिवार्य चन्दा मागेपछि मोरङका ४० गाउँ विकास समितिका सचिवले गाउँ छाडेका छन्। रकम नदिँदा धम्क्याउने क्रम तीव्र भएपछि गाउँ छाड्नु परेको सचिवहरूको गुनासो छ।
मे दिवस र आमहड्तालका लागि माओवादीले यहाँका ६५ वटै गाविसका सचिवसँग रकम तोकेरै चन्दा मागेका छन्। गाउँ छाडेर विराटनगर बसिरहेका ४० गाविस सचिवले सुरक्षा व्यवस्था मिलाइदिन स्थानीय विकास अधिकारीलाई आग्रह गरेका छन्। ‘चन्दा आतंकले गाउँ बसिनसक्नु भयो, त्यही भएर विराटनगर आएका हौं,' एक गाविस सचिवले भने।
माओवादीको चन्दा उर्दीपछि महादेवा, बरडंगा, झुरकिया, रंगेली, सोराभाग, दादरबेरिया, कदमाहा, पोखरिया, नोचा, सिसबनी जहदा, थलहा, मोतीपुरलगायत गाविसका सचिव गाउँ छाडेर विराटनगर आएका छन्।
मोरङका स्थानीय विकास अधिकारी पशुपति पोखरेलले जबर्जस्ती चन्दा माग्ने क्रम बढेपछि सचिवहरू गाउँ छाड्न बाध्य भएको बताए। पोखरेलले भने, ‘केही यता मनखुसी चन्दा माग्ने क्रम बढेपछि सचिवहरू भयभित भएका छन्।'
माओवादी मोरङका कार्यवाहक इन्चार्ज गणेश उप्रेतीले आन्दोलनका लागि चन्दा मागिएको स्वीकार गरे। उनले भने, ' चन्दा मागेकै कारण कोही पनि विस्थापित हुने अवस्था छैन, गाविस सचिवलाई आन्दोलनमा सहयोगका लागि आग्रह गरिए पनि डरत्रास देखाइएको छैन।' आन्दोलनलाई कमजोर पार्न स्वेच्छिक चन्दा अभियानलाई बदनाम गर्न खोजिएको उनले आरोप लगाए।
एक गाविस सचिवका अनुसार माओवादीनिकट राष्ट्रिय निजामती कर्मचारी संगठनले आर्थिक सहयोग गर्न तीव्र दबाब दिएपछि गाउँ छाड्ने अवस्था आएको हो।
गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले माओवादीले मनखुसी चन्दा माग्नुको साथै गाविस सचिवलाई ‘भौतिक कारबाही' को धम्की दिन थालेकामा आपत्ति जनाएको छ। केन्द्रका अनुसार चन्दा नदिएकै कारण माओवादीले केही गाविस सचिवको नाम कारबाहीको लिस्टमा राखेको छ। माओवादीले मोरङका शिक्षकहरूलाई १० दिनको तलब बराबरको रकम दिन पत्र पठाएको छ।
माओवादीले १० दिनको तलब मागेपछि जिल्लाभरका शिक्षकमा त्रास छाएको जिल्ला शिक्षा कार्यालय, मोरङले बताएको छ। माओवादीले मइ दिवसका अवसरमा विराटनगरमा आमसभा गर्दैछ। (नागरिकन्यूज)
Thursday, April 29, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment