Thursday, April 29, 2010

चितवनबाट ५५ हजारलाई राजधानी उतार्दै

चाँदनी हमाल, चितवन, बैशाख १६ - बैशाख १९ देखि राजधनीमा हुने आन्दोलनका लागि चितवनबाट ५५ हजार मानिस लैजाने तयारी एकीकृत माओवादीले गरेको छ।


प्रत्येक घरधुरी, विद्यालय, संघसस्था, व्यापारी सबैबाट माओवादीले प्रतिनिधि लैजाने भएको हो।

'संघ संस्था र व्यवसायीलाई पाँचदेखि दश जनासम्म मान्छे दिन भनेका छौं,' एकीकृत माओवादीका जिल्ला ईन्चार्ज अनिल शर्माले भने, 'प्रत्येक घर धुरीलाई पनि कम्तीमा एकजना दिन भनेका छौ।' उनले जान्नौ र दिन्नौ भन्नेलाई कर नगरेको समेत दावी गरे। कार्यकर्ताहरु चितवनबाट राजधानी जानेक्रम भने जारी रहेको माओवादीले जनाएको छ। अहिलेसम्म एकहजार बढी माओवादी कार्यकर्ता राजधानी छिरेको बताइएको छ। अन्यलाई भने आन्दोलनको अघिल्लो दिनसम्ममा राजधानी उतार्ने योजना रहेको माआवादीले जनाएको छ।

उता मकवानपुर र नवलपरासी जिल्लाबाट पनि माओवादी कार्यकर्ताहरु राजधानी जाने क्रम जारी राखेका छन्। मकवानपुरबाट अहिलेसम्म आठवटा भन्दा बढी सवारी साधनबाट माओवादी कार्यकर्ता राजधानी पसेको माओवादीले जनाएको छ। मकवानपुरका गाउँगाउँका स्थानियलाई भने शुक्रबारदेखि राजधानी पठाउने योजना माओवादीको छ।

एकीकृत माओवादीले चितवनका गाउँ र शहरका प्रत्येक घरघरबाट पनि मान्छेसँगै चन्दा पनि संकलन जारी राखेका छन्। आफूनिकट कर्मचारी ,शिक्षक र संस्थाबाट भने माओवादीले तोकेरै एकमहिनाको तलब र आम्दानी लिएको शिक्षक कर्मचारीहरु बताउँछन्।

उनीहरुलाई अनिवार्य राजधानी जाने उर्दी समेत माओवादीले दिएको छ।

माओवादीले आन्दोलन नजिकिदै गर्दा चन्दा संकलानलाई पनि तिब्रता दिएको छ। स्थानियहरुबाट पाँच रुपैयाँदेखि दुईलाखसम्म चन्दा संकलन गरिएपनि कति जम्मा भयो, सोको हिसाबकिताब भने आउन बाँकी रहेको जिल्ला ईन्चार्ज शर्माले जानकारी दिए। कति चन्दा संकलन गर्ने भन्ने विषयमा भने उनले यती नै भन्ने कुनै यकिन नभएको भन्दै भने ,'यहाँबाट लैजानेलाई गाडी भाडा हामी आफैले पुर्‍याउनुपर्छ।'

खाना र बस्ने व्यवस्था भने राजधानीमा पार्टीले नै गर्ने उनको भनाई थियो। चितवनका उद्योगी व्यवसायीहरुले पनि कसैले स्वेच्छिक रुपमा ठूलै रकम दिएपनि नदिनेलाई आफूहरुले जबरजस्ती नगरेको उनले बताए।

चन्दाकै विषयमा नारायणगढका उद्योगी व्यवसायी र माओवादीबीच दुईदिनसम्म तनाब उत्पन्न भएको थियो। मकवानपुरका उद्योगी व्यवसायीहरुले पनि चन्दा आतंकका कारण व्यवसाय प्रभावित बनेको भन्दै आपत्ती जनाएका छन्। लोडसेडिङको मार खेपीरहेको हेटौंडा औधोगिक क्षेत्रका व्यवसायीहरुसँग एकिकृत माओवादीले चिठी काटेर चन्दा माग गरेका छन्।

विद्यालयसँग मागिएको चन्दा नदिएको भन्दै माओवादी कार्यकर्ताहरुले पूर्वी चितवनको ग्लो साईन एकेडेमीको ग १ क ९७२ नम्वरको स्कुल बसमा तोडफोड गरेका छन्। शुरुमा माओवादीले २ लाख ५० हजार चन्दा मागेको र पछि ५० हजारमा झरेपछि आफुहरुले ५० हजार पनि दिन नसक्ने जनाएकाले स्कुल हाता र बसमा तोडफोड गरेको एकेडेमीका प्राचार्य रामनाथ पाठकले बताए।

माओवादी सम्बद्ध जिल्लास्तरीय नेता कार्यकर्ताहरुले भने गहनासमेत बेचेर पार्टीलाई रकम दिएका छन्। पार्टी कार्यकर्ता अम्बिका मुडवरी र अस्मीताले आफ्नो गहना बेचेर सात हजार र पाँच हजार रकम पार्टीलाई दिएका छन्। कार्यकर्ताहरुमध्ये सबैभन्दा बढी ५० हजार र कम्तीमा एकहजार सहयोग गरेको एकिकृत माओवादी चितवनले जनाएको छ। (नागरिकन्यूज)

No comments:

Post a Comment