Thursday, April 29, 2010

सोचेजस्तो हुन्न जीवन

निद्रा बिथोलियो । ठीक यसैवेला हिजो बिहान पनि बसको चर्कोे हर्नले उनको निद्रा बिथोलिदिएको थियो । पुलमाथिबाट बस गुडेपिच्छे पुलमुनिको उनको घर थर्रर काँप्छ । न झ्याल छ, न ढोका, न अर्को कुनै मार्गबाट चिसो हावा नै भित्र-बाहिर गर्न सक्छ । चाउचाउका खोल, बिस्कुटका बाकस र चामल निखारेर फालिएका बोराले चारैतिर बेरेर बनाइएको एउटा घर जहाँ शुद्धबहादुर डंगोल बस्छन् । सायद यो दुनियाँको महाकंगालको दरबार हो । मैतीदेवी सेतोपुलमुनिको घरको आडैमा बग्ने धोबीखोला पनि उनलाई गन्हाउँदैन । किनभने, धोबीखोला र आफ्नो जीर्ण शरीर उनलाई उस्तै लाग्छ- फोहोर र रोगी । गन्ध पनि उस्तै र बराबर ।


'पुलमाथिबाट बस कानै खानेगरी कराउँछ । बिहानको ठीक चार बजे, एकपल्ट निद्रा बिउँझएिपछि निदाउन बडो कठिन हुन्छ । आँखा लोलाइरहे पनि कान चनाखो रहन्छ र मनमा नानाथरीका कुरा आइरहन्छन्,' ९६ वर्षको बूढो शरीरले पनि बितेको समय र जवानी सम्झिरहन्छ ।

जिन्दगी गह्रुङ्गो लागेको धेरै भइसक्यो शुद्धबहादुरलाई, मर्न नसकेर बाँचेकाहरूको विवशताजस्तो झर्कोलाग्दो लागिरहेछ । त्यसो त मृत्युले आफूलाई पक्राउ गर्न आइसकेजस्तो लाग्छ उनलाई । शरीर थर्थर काँपिरहन्छ, आत्मबल फुस्केको जस्तो लाग्छ । अहिले उनको शरीर रोगले थला परेको छ, भन्छन् - 'त्यसै-त्यसै हनहनी ज्वरो आउँछ, दमले सताउँछ, टाउको, कम्मर दुखिरहन्छ र दुई पाइला हिँड्न पनि निकै गाह्रो हुन्छ ।' जवानीका दिन कतै टक्क अडिएजस्तो लागेको छ, उनलाई । काठमाडौंको ३३ वर्षे बसाइलेे जीवनमा केही परिवर्तन ल्याएन । केही चालचुल नगरी धोबीखोलामुनिको गन्हाउँदै बगेको फोहोर पानी हेर्छन् र आफ्नो जीवन पनि त्यस्तै धमिलो गरी बग्दै गएको अनुभव गर्छन् । बाँकी समय कसैले खान दिन्छन् कि भनी घरैको आडमा माग्न बस्छन् र चर्को घाममा पसिना चुहाउँदै शिरमाथिको रित्तो आकाश हेरिरहन्छन् ।

यो बुढ्यौलीमा दिनहरू यसरी बित्न थालेको पनि जुगै भइसकेछ, शुद्धबहादुरको । जवानी र जीवनका सबै राग काठमाडौंले निलिदियो । एक दशकजति अघि मैतीदेवीको तोरीमिल नै उनको सर्वश्व थियो । धोबीखोलाको आडमा मृत्यु कुरेको दुई वर्ष भयो । जीवनमा अब कुनै आश छैन, लालसा छैन र कसैको भरोसा पनि छैन । पर्खाइ छ, केबल मृत्युको । अवतारसिंह पाशका कवितामा जस्तै जीवनले कसरी सपनाका थाकहरूबाट पाखा लगाएर शुद्धबहादुरलाई भुइँमा पछार्‍यो ? कसरी यिनका सपनाको मृत्यु भयो त ?

***

झन्डै एक शताब्दी लामो उमेरमा आइसकेका शुद्धबहादुरले एकबारको जुनीमा के पो देखेनन् होला र ? 'अब देख्न बाँकी केही छैन,' उनी भन्दै थिए, 'त्यही काल देख्नु छ, कहिले आउँछ कुन्नि ?' संयुक्त राष्ट्रसंघ र सिंगो राष्ट्रले पनि वृद्धवृद्धालाई अनमोल सम्पत्ति मानेका छन् । नक्कली नै सही, वरिष्ठ नागरिकको गुणगान भइरहेका वेला बसको चर्को हर्नबीच शुद्धबहादुर भन्दै थिए, 'मभन्दा माथि र मसँगका सबै गइसके, आफन्त काहीँ-कतै कोही पनि बाँकी छैन ।'

'नब्बे सालको भुइँचालो आएकै वर्ष मेरो बिहे भएको थियो,' शुद्धबहादुर सम्झँदै थिए, 'भुइँचालो आउँदा हामी बूढाबूढी घरमा थियौँ । हेर्दाहेर्दै म भुइँमा लडेँ, मान्छेहरू कोकोहोलो हाल्दै चिच्याउन थाले । गाउँभरि धुलो उड्यो । हाम्रो घरको ढोकामाथिको पाली लड्यो । हामी त यता न उताका भयौँ ।' त्यसवेला मात्रै उनलाई 'मर्न त केहीबेर पनि लाग्नेरहेनछ' भन्ने लागेको हो । उनको गाउँ नुवाकोट थानसिङको लेकमा शनिबार मात्रै हाट-बजार लाग्थ्योे । आफू श्रीमतीसँगै हाट भर्न गएको उनी अहिले पनि सम्झन्छन् ।

साँझ परेपछि घरअघि बाघ कराउँथ्यो । उनको घरछेउमा धेरैले भूत छ भन्थे । तर, उनलाई डर अलिकति पनि थिएन । रात-बिरात जंगलबाट दाउरा ओसार्थे । घाँस बोक्थे । श्रीमतीलाई लिएर हाट लाग्दा रोदी हेर्न पुग्थे । तर, रोदीबारे अरू सम्झना उनलाई छैन । 'के कुरा गर्ने बाबु' यसै भन्दै उहिलेका हिसाब-किताब सुनाइरहेका थिए, शुद्धबहादुर-'म पाँच पैसामा एक ठेकी घ्यू हाटबजारमा लगेर बेच्थेँ । आठ आनामा त एक धार्नी मासु आउँथ्यो । सात आनामा एक माना खानेतेल र एक रुपैयाँमा दुई पाथी मासको दाल आउँथ्यो ।'

***
जवानीका जोसिला दिनहरू नुवाकोटमा बिते । त्यसवेला उनी ठुल्ठूला खोला पनि तर्थे, अग्ला रूख पनि चढ्थे र भारीका भारी स्याउला झार्थे । जवानीका वेला मृत्युबारे कसले पो सोच्छ र ? अहिले यसरी मृत्युको छायाले सताउला भन्ने पनि कुनै कल्पना गरेनन् । आखिर जीवनका अर्थ र अनुभूति पनि उमेरसापेक्ष हुनेरहेछन् । अहिले एकाएक मृत्युको लालसा पलाएको छ ।

छोरालाई घर छाडेर शुद्धबहादुर बूढीसहित वनजंगल गर्थे । एकदिन पनि छुट्टएिर बसेनन् उनीहरू । तर, श्रीमतीलाई कुबेलामै रोगले च्याप्यो । हनहनी ज्वरो आउँथ्यो, रगत बान्ता गर्थिन् । दिनभरि घरमा श्रीमती कुरेर बस्नुपथ्र्यो । गाउँका वैद्यको ओखतीले निको हुने छाँटै थिएन । 'तैपनि ओखती खुवाइरहेकै थिएँ,' शुद्धबहादुर सम्झन्छन् ।

यही रोगले बिहे गरेको १८ वर्षपछि श्रीमतीले आँखा चिम्लिइन्, सधैँका लागि । 'आखिर रोग पनि खुट्याउन नपाई श्रीमतीले छाडेर गई,' उनले सुनाए । श्रीमतीले छाडेर गएको वर्षदिन नपुग्दै रोगले थलिएका बूढा बा-आमा दुवैले संसार छाडेपछि शुद्धबहादुर साँच्चै एक्लो भए ।

श्रीमती गएपछि जीवनमा नरमाइलो लाग्ने नै भयो । सुख-दुःख गर्ने अर्की साथी खोज्न पाए...भन्ने पनि मनमा आयो । तर, उनलाई छोराको मायाले बाँध्यो । माया पनि कति गाढा हुँदोरहेछ । 'छोराको मायाले अर्को बिहे गरिनँ,' सुस्केरा हाल्दै उनले सुनाए ।

***

एउटा छोरो थियो बाँकी, उसैको मुख हेरेर शुद्धबहादुर जीवन घिसार्दै थिए । छोरो पनि रोगले थलियो । बढ्दो उमेरको छोरोलाई पनि श्रीमतीको जस्तै रोग देखियो । बेस्सरी ज्वरो आउने, उसैगरी रगत बान्ता गर्ने र बेहोस हुने । 'अनेक उपचार गराइयो, जति गर्दा पनि भएन । धुरु-धुरु रोएँ मात्र, के गर्न सक्थेँ र ?' एकदिन छोराले पनि सधैँका लागि उनलाई छाडेर गयो । शुद्धबहादुर अर्कोपटक फेरि एक्लिए ।

आफ्ना सबै आफन्त र भएको छोराले पनि छाडेर गएपछि उनलाई आफ्नै जीवन भारी लाग्न थाल्यो । घरमुनिबाट बग्ने कालीखोला सुसाएको पनि मन पर्न छाड्यो । गाउँमा बग्ने सिर्सिरे बतास गन्हाउन थाल्यो । उनले आँखा देखेनन् । सबैतिर अँध्यारो भयो । अधवैंशे उमेरमा आएर आमा सम्झिए, श्रीमती सम्झिए ।

घाँस-दाउरा गर्ने वन एक्लो लाग्न थाल्यो, घरछेउको चौतारी बिरानो हुन थाल्यो । श्रीमतीसँगै हाट जाने उनलाई हाटको रौनकताले छोएन । अब उनले सोचे, यो गाउँ छाडेर अन्त कतै जानु नै बेस हुन्छ । एकै सन्कामा एउटा ग्राहक खोजेर भएको घर, खेत र सबै सम्पत्ति तीन हजारमा बेचिदिए । र, एक्लै लागे काठमाडौंतिर । बहाना सुख खोज्ने थियो । तर, भेट्टाए दुःख मात्रै । सहर आएर सुखले जिन्दगी बाँच्ने सपना धुमिल भए । सहर पसेर उनी डकर्मी भए, गाईगोठाला पनि बने । कतै गएर पनि सुख नमिलेपछि अन्ततः उनी तेल मिलमा काम गर्न थाले । दिनभरि डकर्मी काम गर्नु र बेलुका आएर सहरको गल्लीको कुनै अँध्यारो कोठामा सानो डेक्चीमा भात पकाउनु, खानु र सुत्नु उनको दिनचर्या हुन्थ्यो । कामले थाकेको साँझ गल्लीको कुनै भट्टी छिर्नु र लोकल रक्सीले आँत भिजाउनु उनका रमाइला दिन थिए । 'जति काम गरे पनि पैसा कमाउन सकिएको होइन,' उनले सुनाए, 'दुःखले कमाएको थोरै पैसा खाएरै सकिन्थ्यो ।'

सहर सयरपछि उनको जीवन साँच्चै एक्लो बन्यो । सधैँ निरस र उस्तै उदास । न कोही आफन्त, न साथीभाइ । सहरको गहिरो भीडमा कतै भासिएजस्ता भए शुद्धबहादुर । आखिर तिघ्रामा बल छउन्जेल रहेछ काम गर्नु र आफ्नै पाखुरीमा बाँच्नु । शरीरबाट बलले छाड्दै गएपछि उनी तेल मिलको कामबाट पनि निकालिए । र, भए सहाराविहीन । शरीर लुलो भएपछि र बूढो ज्यान काम्न थालेपछि कसले काम दिन्थ्यो र ?

***
उनले सुनेका थिए, पशुपतिको वृद्धाश्रममा सित्तैमा बस्न पाइन्छ । उनी गए र बस्न थाले । एक महिना त्यहाँ बसेपछि आश्रम सञ्चालकले उनीसमक्ष आएर भन्यो, 'अब यहाँ बस्न तिमी मरेपछि चाहिने किरियाखर्च दिनुपर्छ ।' शुद्धबहादुरले जवाफ फर्काए, 'तिमीलाई दिने किरियाखर्च भएको भए यो आश्रममा आएर किन बस्थेँ ?' त्यसैदिन उनी पशुपति छोडर हिँडे ।

अब उनी सडकपेटीमा बसेर माग्न थाले र बटुवाले दिएको केही पैसाको भरमा जिन्दगीको पाङ्ग्रा गुडाउन थाले । यसरी माग्न थालेको र पुलमुनि बोराले बेरिएको सानो दुलोभित्र जीवनरूपी सास अड्याउन थालेको पनि दुई वर्ष बितेछ ।

पुलमुनिको घरमै पनि उनी धेरैपटक लुटिइसके । भात खाने सानो डेक्ची, कराई र थाल पनि चोरी भइसक्यो । अब उनीसँग केही छैन, बाँकी । छ त यही जीर्ण शरीर । 'यहाँका चोरले गरिब पनि छाड्दैनन्,' उनले भने, 'यो सहरका कसैमा पनि दया रहेनछ । यो सहर धनीहरूका लागि हो ।' यति सुनाउँदा शुद्धबहादुरले आफ्नो अघि निकैपटक थुकिसकेका थिए । त्यो थुक सहरप्रतिको घृणा थियो वा उनको शरीरमा दमले निम्त्याएको परिणति ?

***

यो सहरमा उनलाई हेप्नेहरू मात्रै छन् । धोबीखोलावरपर घर भएकाहरू उनलाई देखेर दिङमिङ मान्छन् । उनको घरैभित्र फोहोर पानी छ्यापिदिन्छन् । उनको नजिक पर्नेबित्तिकै 'गन्हायो' भन्दै नाक थुन्छन् । शुद्धबहादुरले ननुहाएको दुई वर्ष पुग्यो रे ! 'पहिले तेल मिलमा काम गर्दा नुहाउँथे, त्यसपछिका दिनमा कहाँ पानी पाएर

नुहाउनु ?' उनले सुनाए । अब उनलाई नुहाएर, सफा कपडा लगाएर बाँच्नु पनि छैन । 'जतिसक्दो चाँडो मर्न पाए हुन्थ्यो,' उनले भने ।

शुद्धबहादुरले धोबीखोलाको आड लागेर बसिरहँदा धेरैपटक ३३ वर्षपहिलेको र अहिलेको सहर दाँजेका छन् । र, फेला पारेका छन्, मात्र फोहोर, दुर्गन्ध र वाक्कलाग्दो काठमाडौं । 'मैले देख्दा धोबीखोलामा सफा पानी बग्थ्यो । अहिले धमिलो ढल मात्रै बग्छ,' उनले भने । उनको अनुभव छ- पहिले माया पनि दोहोरो हुन्थ्यो, अचेल त्यस्तो देख्न कहाँ पाउनु ? भनिन्छ, जीवन बहुरंगी छ, तर शुद्धबहादुरको जीवन शुद्ध फुस्रो धुलोले ढाकिएको छ । भन्छन्, उनको जीवनमा अहिले कुनै रस बाँकी छैन ।

शुद्धबहादुरलाई केही खाने वा कसैलाई भेट्ने इच्छा छैन । उनी 'कसैलाई' भनेर सायद यस राष्ट्र र समाजका ठूलाबडाको नाम या पद तोक्न रुचाएनन् । राष्ट्रपति, प्रधानमन्त्री वा अहिलेका विद्रोही नेता, कसैप्रति पनि उनको रुचि रहेनछ । उनले बुझेका छन्, मृत्युपछि अन्धकार व्याप्त हुनेछ । त्यसपछि उनलाई केही पनि थाहा हुने छैन । उनलाई कोही रिसाउला भन्ने पीर पनि छैन, कसैलाई खुसी पारेर जीवनको आयु तन्काउनु पनि छैन । अब धेरै दुःख खान मन छैन, उनलाई । उनको एकसूत्रीय दर्शन हो- आफ्नै पाराले बाँचे हुन्छ जिन्दगी ।

गाउँमा सबै आफन्तमाझ आँखाभरि सप्तरंगी सपना बुनेर भोलिको उज्यालो घर-दैलो पोत्न कति आतुर थिए उनी ? दिन भनेनन्, रात भनेनन् । तर, सास फेर्नकै लागि पटक-पटक मरे शुद्धबहादुर ।

शुद्धबहादुरलाई जिन्दगी साह्रै बेस्वादिलो लागेछ, विशुद्ध स्वादविहीन । ज्येष्ठ नागरिक शुद्धबहादुर त्यसदिनको पर्खाइमा छन्, जुन दिन उनी अत्यासलाग्दा दिनरात र धोबीखोलाको गन्ध थाहा पाउन सक्ने छैनन् । - दीपक सापकोटा (नयाँ पत्रिका)

No comments:

Post a Comment