Thursday, April 29, 2010

घोषणापत्र र वक्तव्य जारी गर्दै सकियो सार्क

'थिम्पू रजत जयन्ती घोषणापत्र' र 'जलवायु परिवर्तनसम्बन्धी थिम्पू वक्तव्य' जारी-


लेखनाथ पाण्डे, भुटान (थिम्पू), वैशाख १६- अन्तरक्षेत्रीय सम्पर्क अभिवृद्धि र जलवायु परिवर्तनका चुनौती सामना गर्न संयुक्त पहल र सहकार्य गर्ने सम्बन्धमा छुट्टा-छुट्टै घोषणापत्र जारी गर्दै १६ औं सार्क शिखर सम्मेलन सम्पन्न भएको छ।

भुटानको थिम्पूमा बिहीबार सम्पन्न दुई दिने सम्मेलनमा सार्क क्षेत्रभित्र व्यापार, पराबहन, पर्यटनदेखि जनस्तरसम्म सम्पर्क अभिवृद्धि गर्न 'थिम्पू रजत जयन्ती घोषणापत्र' र 'जलवायु परिवर्तनसम्बन्धी थिम्पू वक्तव्य' जारी भएका हुन्।

दक्षिण एसिया क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको २५ वर्ष पुगेको अवसरमा १६ औं सम्मेलनले रजत जयन्ती र जलवायु परिवर्तनसम्बन्धी फरक फरक घोषणापत्र जारी गरेको हो। यसअघि सार्क सम्मेलनमा एउटामात्र घोषणापत्र जारी हुँदै आएको थियो।

३७ बुँदे रजत जयन्ती घोषणपत्रमा २०१० देखि २०२० लाई 'अन्तरक्षेत्रीय सम्पर्क दशक' का रुपमा मनाउने उल्लेख छ। सार्कका आठै सदस्य राष्ट्रबीच बहुआयामिक सम्पर्कमा यसले जोड दिएको छ। बहुआयामिक सम्पर्क भन्नाले हवाई, सामुद्रिक, स्थल सम्पर्कलाई इङ्गित गरिएको छ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै भुटानका प्रधान मन्त्री जिम्मे वाई थिन्लेले घोषणापत्रको मुख्य सार 'शान्त, समृद्ध र खुशी दक्षिण एसिया' भएको बताए। घोषणापत्रमा सम्मेलनले १६ औं सार्कको नारा 'हरियाली र खुशी सार्क' अनुमोदन भएको उल्लेख छ। थिम्पू घोषणापत्रले दक्षिण एसियाका जनस्तरमा सम्पर्क अभिवृद्धि सांस्कृतिक तथा सामाजिक सम्पर्क अभिवृद्धिसमेत परिकल्पना गरेको छ।

६ पृष्ठ लामो थिम्पू घोषणामा यस वर्षको अन्त्यमा र आगामी वर्ष काठमाडौंमा पर्यटन, पर्वत श्रृङ्खला संरक्षण र गरिबी निवारणसम्बन्धी गरी तीन छुट्टा-छुट्टै मन्त्रीस्तरीय बैठक गर्ने उल्लेख छ। सार्क मन्त्रिपरिषद् र स्थायी समिति बैठकमा नेपालले यी प्रस्ताव राखेको थियो। सम्मेलनमा गरिवी निवारण सम्बन्धमा बङ्गलादेशले पनि नेपालकै जस्तो प्रस्ताव राखेको थियो, जुन अति कम विकसित मुलुक (एलडिपी) राष्ट्रका साझा एजेण्डासँग मिल्दोजुल्दो छ।

थिम्पु घोषणापत्रमा भुटानद्वारा प्रस्तुत क्षेत्रीय 'ग्रस नेसनल ह्याप्पीनेस' एजेण्डा पनि उल्लेख छ। प्रधान मन्त्री थिन्लेले यो भुटानको तीन दशकदेखिकै मार्गदर्शन भएको बताए।

भारतको दिल्लीमा आउँदो भदौदेखि दक्षिण एसिया विश्वविद्यालय सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ। यो दक्षिण एसियाको उच्च शिक्षा अध्ययनको केन्द्र हुने उल्लेख गर्दै यो न्युन कार्वन उत्सर्जन अध्ययन संस्थाका रुपमा हुने थिन्लेले विश्वास व्यक्त गरे।

यस शिखर सम्मेलनले शान्त र सुरक्षित दक्षिण एसियासम्बन्धी तेस्रो र चौथो शिखर सम्मेलनद्वारा पारित घोषणापत्रको प्रभावकारी कार्यान्वयनलाई जोड दिएको छ। सम्मेलनमा अफगानिस्तान, पाकिस्तान र माल्दिभ्सले आतङ्कवाद र उग्रवादविरुद्ध सहकार्य गरी क्षेत्रीय सुरक्षा प्रभावकारी बनाउन जोड दिन प्रस्ताव गरेका थिए। शिखर सम्मेलनले ३० करोड अमेरिकी डलर पुँजी रहने सार्क विकास कोष सञ्चालन गर्ने प्रस्ताव अनुमोदन गरेको छ। थिम्पूमा मुख्यालय रहने यस कोष सार्क क्षेत्रभित्र सन्तुलित विकासका निम्ति परिचालन गरिनेछ। भारतले कोषमा १० करोड डलर उपलब्ध गराइसकेको छ।

सम्मेलनमा वातावरणसम्बन्धी 'सार्क कन्भेन्सन अन कोअपरेसन अन इन्भायरोमेन्ट' र क्षेत्रीय सेवा व्यापारसम्बन्धी 'सार्क एग्रिमेन्ट अन ट्रेड इन सर्भिस' गरी दुई सम्झौता भएका छन्। सार्क सदस्य राष्टका सरकार या राष्टप्रमुखको उपस्थितिमा सबै देशका सार्कमा आaद्ध आठै राष्ट्रका परराष्ट्र मन्त्री सदस्य रहने सार्क मन्त्रिपरिषद्ले यी सम्झौतामा हस्ताक्षर गर्नेछन्। आयोजक राष्ट्रका तर्फबाट भुटानले प्रस्ताव गर्ने र मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन गर्ने सार्क सचिवालयका एक पदाधिकारीले बताए।

सार्कका सबै सदस्यले प्राकृतिक प्रकोप द्रुत व्यवस्थापन र वातावरणीय क्षयी न्युनीकरणका लागि क्षेत्रीयरूपमा सहकार्य गर्ने प्रस्तावमा सहमत भइसकेका छन्। सबै राष्ट्रबाट राष्ट्र या सरकार प्रमुख उपस्थित हुने शिखर सम्मेलनमा परराष्ट्र मन्त्रीहरूले यी प्रस्तावलाई अन्तिम रूप दिने हुन्। वातावरणसम्बन्धी क्षेत्रीय सम्झौताबमोजिम हरेक सदस्य राष्ट्रले बढ्दो ताममान नियन्त्रण, हरितगृह ग्याँस उत्सर्जन न्युनीकरण, वन विनासमा नियन्त्रण तथा वृक्षरोपण, नवीकरणीय ऊर्जाको उपयोग गर्ने र एकअर्काबीच सहयोग आदान-प्रदान गरिनेछ।

विपद व्यवस्थापन सम्झौताअनुसार भूकम्प, सुनामी, बाढी पहिरोलगायत प्राकृतिक विपत्ति आइपर्दा त्यसको द्रुत व्यवस्थापन र उद्दार कार्यमा सहयोग आदान-प्रदान गरिनेछ। 'कुनै सदस्य राष्ट्रलाई यस्ता विपद पर्दा वा विपद नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने यसको उद्देश्य हुनेछ'- ती अधिकारीले भने। सेवा व्यापारसम्बन्धी सम्झौताबमोजिम कुनै देशका संस्था र व्यक्तिको सेवा अर्को देशलाई बेच्न सकिनेछ। 'नेपालका कसैले कुनै सेवा वा विजनेस अर्को मुलुकसम्म विस्तार गर्न यसबाट सम्भव हुनेछ'- परराष्ट्रका ती अधिकारीले भने।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को करिब अढाई दशक लामो इतिहासमा हिमाली अधिराज्यले पहिलो चोटी क्षेत्रीय सम्मेलन गरेको हो। यसअघि आर्थिक विपन्नता र भौतिक पूर्वाधार कमीले सम्मेलन आयोजना नगरेको भुटानले सम्मेलन तयारीस्वरूप राजधानी थिप्पूदेखि अन्तर्राष्ट्रिय विमानस्थल सडक विस्तार, तारे होटल र सम्मेलन केन्द्र निर्माण गरेको थियो। (नागरिकन्यूज)

No comments:

Post a Comment