Wednesday, April 28, 2010

माओवादी आन्दोलनप्रति अनमिनको चासो

१५ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि सुरु हुने वृहत जनप्रदर्शनबारे संयुक्त राष्ट्र संघले एकीकृत नेकपा माओवादीसँग चासो राखेको छ । उसले आन्दोलनमा घुसपैठबाट हुनसक्ने हिंसात्मक गतिविधिबारे माओवादी नेतृत्वलाई सचेत पारेको छ ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. भट्टराईसँग उहाँकै निवास शान्तिनगरमा बुधबार विहान भेट गरी अनमिन प्रमुख करिन ल्यानग्रेनले विशेषगरी आन्दोलनको लागि देशभरबाट काठमाडौं आएका माओवादी कार्यकर्ता र चितवनमा ग्रिनेडसहित पक्राउ परेका जनमुक्ति सेना नेपालका कमाण्डरबारे चासो राख्नुभएको थियो ।

जवाफमा भट्टराईले आन्दोलन शान्तिपूर्ण हुनेमा ल्यानग्रेनलाई विश्वस्त पार्नुभएको थियो । साथै ग्रिनेडसहित पक्राउ परेका जनमुक्ति सेनाका कमाण्डर विगत केही हप्तादेखि घरविदामा रहेको र उनले बोकेको ग्रिनेडबारे पार्टीलाई कुनै जानकारी नभएको उहाँले स्पष्ट पार्नुभयो ।

‘शिविरबाट कुनै पनि जनसेना हतियारसहित बाहिर निस्किएका छैनन्,’ ल्यानग्रेनलाई विश्वस्त पार्दै डा. भट्टराईले भन्नुभयो, ‘शान्ति सम्झौता पालना गर्ने विषयमा माओवादी गम्भीर छ ।’

हालै सरकारका जिम्मेवार मन्त्रीहरुले नैै नेपाली सेनाको हतियार अनमिनले अनुगमन गर्नु हुँदैन भनेर दिएको अभिव्यक्ति शान्तिसम्झौता विपरीत भएको डा. भट्टराईले बताउनुभयो । ‘जनमुक्ति सेना र नेपाली सेना दुवैका हतियार निरीक्षण गर्दै आएको अनमिनलाई अहिले नेपाली सेनाको हतियार अनुगमन गर्न दिनु हुँदैन भन्ने कुरा शान्ति सम्झौता विपरीत छ,’ डा. भट्टराईले भन्नुभयो, ‘माओवादीलाई यो कुरा मान्य हुँदैन ।’

अनमिनको म्याद थप र समसामयीक राजनीतिक परिस्थितिबारे पनि उहाँहरुबीच छलफल भएको थियो । सो अबसरमा भट्टराईले सेना समायोजन र शान्तिप्रक्रिया पूरा नभएसम्म अनमिनको उपस्थिति अनिवार्य रहेको दोहोर्‍याउनु भयो । (अनलाइनखबर)

No comments:

Post a Comment