Friday, April 30, 2010

मन्त्रीको कुटाइ खाएको त्यो दिन

राजेश राई

कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी

"करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।"

२०६६ कात्तिक २४

संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए ।

त्यसदिन बिहान सधैँझैँ केही साथीसँग भेटघाट गरियो । जिल्लामा बिमानस्थल नभएकाले बाराको बिमानस्थलमा ओर्लिएर मन्त्रीहरू बारा आउनुपर्छ । पर्सा र बारा जिल्ला प्रशासन कार्यालयले समन्वय गरी भिआइपीको सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । मन्त्रीको सुरक्षा विषयमा बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग अघिल्लो दिन पनि कुरा भएको थियो । र, त्यस दिन बिहान पनि भयो ।

अघिल्लो दिन राज्यमन्त्री बेगमका स्वकीय सचिवले जिल्ला विकास समितिको गाडी राज्यमन्त्री बेगमलाई लिन पठाइदिनू भनेका थिए । तर, स्थानीय विकास अधिकारीले जिविसको गाडी काठमाडौँतिर लैजानुभएको थियो । मन्त्री भएपछि उहाँ जिल्ला आउँदा करिमालाई सधँै जिविसकै गाडी चाहिन्थ्यो । त्यही गाडी पठाउनू भनेर आदेश नै आउँथ्यो । छन त अर्को राम्रो गाडी पनि थियो, नारायणी सिँचाइको । तर, त्यसदिन त्यो पनि उपलब्ध थिएन । फिल्डमा लगिएको थियो । कृषि अनुसन्धान परिषद्को गाडी खाली थियो । मन्त्रीको लागि बिहान ७ बजेतिरै त्यही गाडीलाई मैले बिमानस्थल पठाएँ । त्यो मित्सुबिसी गाडी एकदम कन्डिसनमा थियो ।

बाराको सिमरा बिमानस्थलमा ९ बजेतिर नै आउने भनिए पनि प्लेन ढिलो गरी उडेकाला उहाँ दस बजे मात्रै आइपुग्नुभएछ । जिविसको गाडी नदेखेपछि रिसाउनुभएछ । म दस बजे नै अफिस पुगिसकेको थिएँ । बिमानस्थलबाटै उहाँको पिएले फोन गरेर 'जिविसको गाडी किन नपठाएको ? मन्त्रीज्यू साह्रै रिसाउनुभएको छ,' भने । गाडी पठाउन नसक्नुको कारण बताएँ मैले । तर, उनले मेरो कुरै नसुनी फोन ढ्याक्क राखिदिए । मन्त्रीको सामान्य असन्तुष्टि होला, उनलाई नै भेटेर गाडी पठाउन नसक्नुको कारण बताउँला भन्ने सोचेँ ।

तराईका जिल्लाहरूमा जनसंख्या बढी भएकाले यहाँका सिडिओ कार्यालयहरूमा जहिल्यै पनि सेवाग्राहीहरूको भीड हुन्छ । त्यसदिन पनि मेरो कार्यालयमा भीड थियो । त्यसैले म नियमित काम गर्न थालेँ । सवा एकतिर मलाई मन्त्रीले मोबाइलबाट फोन गरेर सोधिन्, 'तपाईं कहाँ हुनुहुन्छ ?' मैले 'अफिसमै छु' भनेँ । उनले 'तपाईंसँग कुरा गर्नु छ । किन थोत्रो गाडी पठाउनुभयो ? कुरा गर्न म कार्यालयमै आउँछु,' भनेर फोन काटिन् ।

मन्त्री मेरो कार्यालयमा आउने भनेपछि म उनलाई स्वागत गर्न बाहिर निस्केँ । करिब चालीस/पचासजना कार्यकर्ताको हुलसहित करिमा बेगम आइन् । मैले सोचेँ- 'मन्त्री आएपछि जिल्लास्तरका कार्यकर्ता पछि लाग्ने नै भए ।'

मैले उनलाई बाहिरै स्वागत गरेँ । त्यसपछि मेरो कार्यकक्षतिर जाऔँ भनेर भित्र लगेँ । मन्त्रीसँगै कार्यकर्ताको लस्कर पनि आयो । साढे एक बजेको थियो होला । कार्यकक्षमा पुगेर म आफ्नो कुर्सीमा बस्न पनि पाएको थिइनँ, करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो । म अलिकति पछाडि हटँ । त्यसपछि पनि उनी आक्रामक भएपछि उनका कार्यकर्ताले उनलाई पक्रेर पछाडि हटाए । रक्सी पिएर बेस्कन मातेको मान्छेले जस्तो उनी मलाई झम्टिन खोजिरहेकी थिइन् ।

त्यसपछि 'तँलाई यहाँबाट तुरुन्तै सरुवा गर्दिन्छु' भन्दै कार्यकर्ताको हुलसहित उनी बाहिरिइन् । त्यतिबेला त्यस्तै पौने दुई जति भएको थियो कि । जुन गाडी पुरानो र थोत्रो भयो भनेर त्यत्रो हंगामा मच्चाउनुभएको थियो, त्यही लिएर जानुभएछ ।

जिल्लाको शान्तिसुरक्षाको जिम्मेवारी लिएर बसेको राष्ट्रसेवकमाथि जिम्मेवार मन्त्रीबाट यस्तो कुटपिट होला भन्ने त मैले सपनामा पनि सोचेको थिइनँ । करिमाले 'जिविसको गाडी किन नपठाएको ?' भनेर सोध्लिन् र जवाफ दिउँला भन्ने सोचेको थिएँ । आफ्नै कार्यकक्षमा यसरी कुटिँदा मलाई पनि कम्ति रिस उठेको थिएन । तर, मैले संयमित भएर जिम्मेवार राष्ट्रसेवकको भूमिका निर्वाह गरेँ ।

करिमा बेगम सिडिओ कार्यालयबाहिर निस्किनासाथ मैले गृहमन्त्री भीम रावललाई फोन गरेर घटनाबारेमा जानकारी गराएँ । उनले मन्त्रिपरिषद्मा कुरा लगेर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लास्थित अरू सरकारी कार्यालयका प्रमुखहरूलाई पनि जानकारी गराएँ । मलाई कुटेको विरोधमा सबै कार्यालय तत्कालै बन्द भए । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि काम ठप्प पारिहाले । घटना बाहिर आएपछि पत्रकार साथीहरू घटनाबारे जानकारी लिन आए । मेरो कार्यकक्षमा पत्रकारको भीड लाग्यो । राजधानीका विभिन्न मिडिया हाउसका पत्रकारका पनि धमाधम फोन आउन थाले । कार्यालय र मेरो मोबाइलको घन्टी बजेको बजै गर्न थाले । घटनाका विषयमा बताउँदाबताउँदा म त हैरानै भएँ । तीन बजेतिर पर्साका सबै सरकारी कार्यालय र सुरक्षा निकायका प्रमुखहरू पनि आए । घटनाका विषयमा छलफल भयो । पत्रकार, कार्यालय-प्रमुख र सुरक्षानिकायका प्रमुखहरूसँग कुरा गर्दागर्दै कार्यकक्षमै ५ बज्यो । साढे एकदेखि पाँच बजेसम्मको त्यो साढे तीन घन्टालाई खै कसरी व्याख्या गर्ने ? एकातिर म कुटिनु र अपमानित हुनुको पीडाले रन्थनिएको थिएँ भने अर्कातिर, सबैले देखाएको सद्भाव र सहानुभूतिले मलाई 'म एक्लो छैन' भन्ने आभाष गराइरहेको थियो ।

पाँच बजेपछि सबै कार्यकक्षबाट बाहिर निस्किएँ । कार्यालयनजिकै क्वार्टर थियो । म अविवाहित हुँ । क्वार्टरमा सुरक्षा गार्ड र एकजना सहयोगी मात्रै थिए । फोन एकोहोरो आइरहेको थियो । सञ्चारमाध्यमले समाचार प्रसारण गरेपछि मेरा आफन्तका पनि फोन आउन थाले ।

क्वार्टरमा विभिन्न कार्यालयका प्रमुखहरू आउनुभयो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । साँझ पाँच बजेभित्र पर्साका अधिकारकर्मी संघ/संस्था, कर्मचारी संगठनलगायतले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरिसकेका थिए । गृहमन्त्रीले पनि कारबाहीको प्रतिबद्धता व्यक्त गरिसकेका थिए । त्यसकारण, मैले केही राहतचाहिँ महसुस गरेको थिएँ ।

राज्यमन्त्री करिमा बेगमसँग औपचारिक चिनजान भएको तिथिमिति ठ्याक्कै याद छैन मलाई । २०६४ मा सुनसरीबाट सरुवा भएर पर्सा आएपछि उनीसँग बेलाबेला फोनसम्पर्क हुन्थ्यो । २०४१ सालमा निजामती सेवामा प्रवेश गरेको हुँ । चौधवटा जिल्लाको प्रजिअ भएर काम गरेँ । तर, पर्सामा जति दबाब र तनाब कहीँ झेल्नुपरेन । त्यस घटनाअघि पनि मलाई करिमाले फोनमा रुखो वचन नगरेकी होइनन् । फोन गरेर यो गरिदिनू/त्यो गरिदिनू भनेर आदेश दिइरहन्थिन् । उनीसँग तिक्तता बढेको चाहिँ भन्सार कान्डपछि हो । उनको श्रीमान् गाडीको टायरको व्यापार गर्थे । एकचोटी भन्सार छलेर अवैध रूपमा टायर ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मलाई करिमाले फोन गरेर उनको श्रीमान्लाई तुरुन्तै छाड्न आदेश दिएकी थिइन् । तर, मैले अस्वीकार गरिदिएँ । सायद, उनले त्यसबेलाको बदला लिएको हुनसक्छ ।

घटना भएको यतिका महिना बितिसक्यो । म अहिले काठमाडौंको कारागार व्यवस्था विभागमा छु । तर, अझै पनि त्यस घटनाको आघातबाट मुक्त हुन सकेको छैन । निर्दोष कर्मचारीमाथि व्यक्तिगत सनक पोख्ने मन्त्रीलाई कारबाही हुन्छ भन्ने सोचेको थिएँ । तर, त्यसो हुन सकेन । उल्टै, मलाई कारबाही गराउने राजनीतिक प्रपञ्च सुरु भएको छ ।

नेपाल सरकारको अनुमतिविना फौजदारी मुद्दा हाल्न नपाइने व्यवस्था छ । तर, करिमाले मविरुद्ध फौजदारी मुद्दा हालेकी छिन् । म तारेख धाइरहेको छु । गत चैतमा एकचोटी पर्सामा गएर तारेख दिएँ, वैशाखमा पनि तारेखका लागि जानु छ । कुटाइ खाने पनि मै, अनि दोषी बनाइने पनि मै ? तर, मलाई अदालतप्रति पूर्ण विश्वास छ । मैले अवश्य न्याय पाउँछु । यो देशमा कानुन हुँदो हो त करिमालाई पक्राउ गरिँदो हो । पर्सामा उनीविरुद्ध मुद्दा हालेको यतिका महिना भइसक्यो । उनी तारेखका लागि पनि गइनन् । दण्डित हुनुपर्ने मान्छे देशको मन्त्री भएर छाती फुलाउँदै हिँडिरहेकी छिन् ।

मलाई अहिले करिमा बेगमप्रति कुनै गुनासो छैन । गुनासो छ त, सरकारप्रति । मन्त्रीेले त विवेक गुमाएर एकजना राष्ट्रसेवक कर्मचारीलाई कुटिहालिन्, तर सरकारले पनि विवेक गुमायो । सरकार पनि करिमाजस्तै मूर्ख र विवेकहीन भयो । (nayapatrika.net)

No comments:

Post a Comment