Friday, April 30, 2010

हिंसात्मक गतिविधिको सामना गर्नुको विकल्प छैनःप्रधानमन्त्री

उनले आफ्नो राजीनामाले समस्याको समाधान नहुने बताए ।


कान्तिपुर संवाददाता

काठमाडौ, वैशाख १७ - प्रधामन्त्री माधवकुमार नेपालले माओवादीको आन्दोलन हिंसात्मक भए सरकारले सेना परिचालन गर्न सक्ने संकेत दिएका छन् । उनले हिंसात्मक ढंगले समस्या समाधान गर्न खोजिए स्थिति जे पनि हुन सक्ने बताए ।

१६ औं सार्क शिखर सम्मेलनमा भाग लिएर थिम्पुबाट शुक्रबार बिहान स्वदेश फर्केका प्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै विभिन्न स्थानमा बरामद भएका लाठी,बम,बोतल,पेट्रोल,खुकुरी लगायतका सामग्रीहरुले माओवादी हिंसाको बाटोमा अघि बढ्ने लक्षण देखिएको बताए । 'माओवादीको हिंसात्मक गतिविधिको निन्दा र सामना गर्नुको विकल्प छैन' उनले भने ।

यद्यपी सहमतिको बाधक आफू नबन्ने उनले दोहोर्‍याए । 'मेरो आग्रह छ,बसौं छलफल गरौं,सहमति खोजौं,'उनले भने-'म त्यसको लागि जे गर्न पनि तयार छु ।'उनले आफ्नो राजीनामाले समस्याको समाधान नहुने बताए । मुलुकको प्रमुख समस्या शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु र संविधान जारी गर्नु रहेको उल्लेख गर्दै उनले त्यसका लागि सहमतिको विकल्प नरहेको बताए । उनले भने-'तर,यहाँ उद्देश्य अर्कै छ, सत्ता कब्जा र अधिनायकवाद लाद्ना खोज्नु छ । जुन मुलुकको लागि दुर्भाग्यपूर्ण हुनेछ ।'

अर्को प्रसंगमा उनले सार्क सम्मेलनमा सहभागी सबै मुलुकले नेपालमा शान्ति,स्थायित्व र आर्थिक प्रगतिको सुभेच्छा व्यक्त गरेको बताए । भुटान र नेपालबीच धेरै समानता रहेकोले दुई देश संग संगै अघि बढ्नुपर्ने भुटानी नेतृत्वसंग छलफल भएको उनले उल्लेख गरे । साथै भुटानी शरणार्थी समस्या समाधानका विषयमा पनि छलफल अघि बढाउन आफूले भुटानलाई आग्रह गरेको उनले जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहसंगको भेटमा आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनको पक्षमा र त्यसको समिक्षा गरिएको बताए । वागमती सभ्यता परियोजना,म्युजियम निर्माण लगायतका विषयमा आफूले जोड दिएको साथै नयाँ परियोजनाहरु बारे कुरा राखेको उनले जनाए ।

No comments:

Post a Comment