Friday, April 30, 2010

सार्वजनिक स्थलमा चुरोट पिउन नपाइने

माधव ढुङ्गेल, काठमाडौं, वैशाख १७- चुरोट बिंडी, खैनीजस्ता सूर्तिजन्य पदार्थको बट्टा वा प्याकेटको बाहिरी भागमा उत्पादनको 'नाम' भन्दा ठूलो अक्षरमा 'सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ' भनी उल्लेख गर्नुपर्ने भएको छ। सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनमा यस्तो प्रावधान राख्न लागिएको हो।
संसदको विधायन समितिबाट बिहीबार बहुमतले पारित विधेयकमा सूर्तिजन्य पदार्थको बट्टा, र्‍यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबुलको बाहिरी कुल भागमध्ये कम्तिमा ७५ प्रतिशत भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक भएको उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ। विधेयकमा भनिएको छ, 'सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानीकारक छ भन्ने जस्ता व्यहोराको मन्त्रालयले तोकेबमोजिम चेतावनीमूलक सन्देश र सूतीजन्य पदार्थको सेवनको असरबाट भएको घातक रंगीन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्नेछ।'

सरकारले ३० प्रतिशत भागमा मात्र उल्लेख गर्नुपर्ने प्रावधानसहित विधेयक पेस गरेको भए पनि स्वास्थ्य मन्त्रालयका कर्मचारीले विधायन समितिको बैठकमा ७५ प्रतिशत राखे पनि मन्त्रालयलाई फरक नपर्ने बताएपछि सो प्रावधान राखिएको हो। स्वाथ्यमन्त्री उमाकान्त चौधरीले भने ५० प्रतिशतमात्र राख्न आग्रह गरे पनि समितिले ७५ प्रतिशतकै प्रावधान पारित गरेको हो।

विधेयकमा विदेशबाट आयात गर्ने सूर्तिजन्य पदार्थले समेत उक्त मापदण्ड पूरा गर्नुपर्ने अन्यथा आयात गर्न नपाउने पनि उल्लेख गरिएको छ। विधेयकमा भनिएको छ, 'मापदण्ड पूरा नभएका सूर्तिजन्य पदार्थ आयात गर्न पाउनेछैन।' यसले विदेशी ब्रान्डका चुरोटको आयातमा रोक लाग्ने र नेपाली उद्योग फस्टाउने आशा सभासद्हरूको छ।

नेपालमा पहिलोपल्ट बन्न गैरहेको सूर्तिजन्य पदार्थ नियमन गर्ने ऐन बन्न लागेको हो। समितिले पारित गरेको विधेयकमा सञ्चारका कुनै पनि माध्यमबाट विज्ञापन वा प्रचारप्रसार गर्न पूर्ण रूपमा रोक लगाएको छ। पत्रपत्रिका, रेडियो, टीभी, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तर्क्रिया कार्यक्रम, होडिङबोर्ड, भित्तेलेखनदेखि लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट विज्ञापन वा प्रवर्द्धन वा प्रायोजन गर्न रोक लगाइएको छ।

पारित विधेयकमा अठार वर्ष नपुगेका व्यक्ति वा गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ बिक्री वितरण तथा प्रदर्शनमा बन्देज लगाएको छ। विधेयकमा लेखिएको छ, 'शिक्षण तथा स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तिमा १०० मीटर भित्रको घर पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन पाउने छैन।'

विधेयकले सार्वजनिक स्थलमा धूमपान वा सूर्तिसेवन गर्न निषेध गरेको छ। सरकारी वा निजी कार्यालय, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, वायुसेवा, क्लब, उद्यान र अनाथालयदेखि कलकारखाना र शौचालयमा धुमपान गर्न निषेध गरेको छ। कारागार, विमानस्थल वा पर्यटकीय स्तरको होटमा भने अरुलाई असर नपर्ने गरी धुमपान वा विधेयकमा वा व्यक्तिले घर वा निजी सवारी साधनमा पनि अन्य व्यक्ति धुमपान वा सूर्तिजन्य पदार्थको सेवन गर्न पाउने प्रावधान राखिएको छ। विधेयक पारित भए पनि आफ्नो घर वा निजी सवारी साधनभित्र समेत अरुलाई असर पर्ने चुरोट वा सूर्ति खान पाइने छैन।

विधेयकमा ऐनको प्रावधान नमानेमा सजाय समेत तोकिएको छ। नमानेमा वा पटक पटक धूम्रपान वा सूर्ति सेवन गरेमा निजलाई त्यस्तोसार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एकसय रुपैयाँ जरिवाना वा दुवै सजाय गर्नु पर्नेदेखि कर्मचारीलाई विभागीय कारवाहीसम्म हुने विधेयकमा व्यवस्था गरिएको छ। विधेयक अब संसद्मा पेश हुनेछ। त्यहाँबाट पारित भएमा कानुनी रूप धारण गर्नेछ। (nagariknews)

No comments:

Post a Comment