अर्जुन सुवेदी, काठमाडौं, बैशाख १५- मे दिवसमा ठूलो प्रदर्शन गरी सरकार बदल्ने एकीकृत माओवादीको घोषणासँगै मंगलबारदेखि राजधानीमा नौला अनुहारको संख्या बढ्न थालेको छ।
उनीहरू संगठित रूपमै बस्ने, हिँड्ने गरिरहेका छन्। सामान्य जीवनयापन गर्दै आएका स्थानीयवासीमा भय सिर्जना भइरहेको छ भने चन्दा मागिएका वा यसरी आएकाहरुलाई बास बन्दोबस्त गर्न अह्राइएका यो त्रासबाट उम्कने उपाय खोज्दै छन्। चन्दाको त्रासबाट सबैजसो व्यापारी डराएका छन् भने चन्दा र गासबास दुवैको प्रवन्ध गर्नुपर्ने अप्ठेरोमा निजी तथा सरकारी विद्यालय, होटल-धर्मशाला सञ्चालक, हाउजिङ कम्पनी परेका छन्।
पशुपतिनाथ क्षेत्रमा रहेका धर्मशाला र होटल नियन्त्रणमा लिएर माओवादीले आन्दोलनमा सहभागी हुन राजधानी आएका कार्यकर्तालाई बसाल्न सुरु गरेको छ। शनिबारदेखि यो क्षेत्रमा ३० हजार कार्यकर्ता अटाउने गरी माओवादीले धर्मशाला र होटल नियन्त्रणमा लिन सुरु गरेको हो।
माओवादीले पशुपति क्षेत्रका बनकाली, पशुपति गौशाला, धर्मशाला, सत्य साइ प्यालेस, गुहेश्वरी सेतो सत्तललगायत यो क्षेत्रका तीन दर्जनभन्दा बढी होटलमा सोमबारदेखि कार्यकर्ता बसाल्न सुरु गरेका छन्। माओवादी स्रोतका अनुसार यो क्षेत्रमा मंगलबार साँझसम्म ७ हजार कार्यकर्ता आइपुगेका छन्।
सोमबार राजधानी आएका माओवादी कार्यकर्ता ओम साइ प्यालेस, द्वारिका होटेल, महाराजा होटेललगायतका दुई दर्जन होटेल र पशुपति गौशालामा बस्दै आएका छन्।
धर्मशालामा कार्यकर्ता बसाल्नुपर्ने भन्दै माओवादीले सर्वसाधारणको प्रवेशमा समेत रोक लगाएको छ। ‘कर्मचारीले धर्मशाला प्याक भैसक्यो भनेर फर्काइदिए, 'पशुपति गौशाला धर्मशालामा बस्ने ठाउँ नपाएपछि शिवराम भट्टले नागरिकसँग भने, ‘आन्दोलनका समय कार्यकर्ता राख्ने भन्दै माओवादीले तिर्थयात्रीलाई दिन रोक लगाएका रहेछन्।'
मंगलबार पशुपति गौशालामा सयभन्दा बढी माओवादी कार्यकर्ता थिए। १० जना महिलाहरू उनीहरुका लागि खाना पकाउँदै थिए।
माओवादीले पाहुना हटाएर आफ्ना कार्यकर्ता राख्न दिएको मौखिक आदेश बाहिर सार्वजनिक नगर्न समेत व्यावसायीहरुलाई उर्दी दिएका छन्। उनीहरुले सक्दो आर्थिक सहयोग माग्ने र फोनबाट जबर्जस्ती सहयोग रकम तोकेको स्थानीय होटल व्यावसायीहरु बताउँछन्। ‘सक्दो सहयोग गरिदिनुस भनेर पत्र पठाए , अनि फोन गरेर बार्गेनिङ गर्छन।' स्थानीय एक होटल व्यावसायीले नाम उल्लेख नगर्ने शर्तमा भने ‘सबै होटेल पनि उनीहरुलाई नै जिम्मा लगाउने अनि मागेजति पैसा पनि दिन कसरी सकिन्छ र?'
त्यसैगरि माओवादीहरुले बनकाली धर्मशालामा समेत त्यहाँ बस्ने मानिसहरुलाई एक साता सम्म हटाउनका लागि व्यवस्थापनलाई चेतावनी दिएका छन्। उनीहरुले पशुपति मन्दिर वरपर समेत खाली ठाउँ र भवनहरुमा कार्यकर्ता राखिनेहुनाले अवरोध नगरिदिन कोषका कर्मचारीलाई निर्देशन दिइएको बताइएको छ।
‘यहाँ बस्नेलाई कुनै अवरोध नगर्नु भनेर चेतावनी आएको छ।' कोषका एक कर्मचारीले नागरिकसंग भने ‘खाली सत्तल र चौरमा समेत मान्छेहरु भर्ने बताएका छन्।' उनका अनुसार बनकाली पशुपति मन्दिर भित्रको बनकाली धर्मशाला र गुहेश्वरी सेतो सत्तल र मन्दिर परिसर भित्र रहेका खाली क्षेत्रमा दश हजार मान्छे राख्ने तयारी भैरहेको छ। उनका अनुसार दैनिक एक कोठा बराबर दुई सयदेखि तिन सय रुपैयाँ तिर्नुपर्ने धर्मशालामा पैसा नतिर्ने समेत बताएका छन्।
त्यसैगरि भण्डारखाल रहेको बनकालीको खाली जंगलमा समेत मान्छेहरु राख्ने तयारी भैरहेको कर्मचारीहरु बताउँछन्। उनीहरुका अनुसार त्यहाँ ५ हजार मान्छे राख्ने तयारी माओवादीले गरेको छ। भने तीन हजार गौशाला बनकाली धर्मशाला र १२ हजारलाई स्थानीय होटेलहरुमा अटाउने माओवादी योजना छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव शुशिल नाहटाले माओवादीले धर्मशालाहरुमा कार्यकर्ता राख्न सुरु गरेपनि कोषलाई कुनै जानकारी नगराएको बताएका छन्। ‘पशुपति क्षेत्रमा हजारौं माओवादी कार्यकर्ता भर्ने भनेका छन्। ' नाहटाले भने ‘धार्मिक क्षेत्रभित्र राजनीतिक उदेश्यका मान्छेहरु भरिनु ठिक होइन। ' उनले त्यस्तो अवस्था पशुपतिको सुरक्षा स्थिती कमजोर हुने भएकाले सरकारले सुरक्षा व्यवस्था बलियो पार्नु पर्ने बताए।
यो त्रासको अवस्था उपत्यकामा हाउजिङ व्यावसाय सञ्चालन गर्दै आएका व्यावसायीहरुले पनि बेहोर्न थालेका छन्।
‘२० लाख चन्दा र केहि हजार मान्छेलाई बन्दै गरेको घरमा राखेर ख्वाउने अनुरोध गरेका थिए,' काठमाडौंमा टावर ठड्याउँदै गरेका एक हाउजिङ व्यावसायीले नागरिकलाई भने,'हामीले अस्वीकार गरेपछि ठाडो भाषामा आदेश र धम्कीसमेत दिदै गएका छन्।'
ती व्यावसायीका अनुसार आफ्नो नवनिर्मित आवासमा कार्यकर्ता राख्न नचाहनेहरुलाई उनीहरुले तोकेकै संख्याका निम्ति होटलमा खाँदा र बस्दा लाग्ने खर्च तिर्न दबाब दिइरहेका छन्।
सूत्रका अनुसार उनीहरुले सीइ कन्स्ट्रक्सनलाई १० हजार, पार्क भ्यू होराइजनलाई सात हजार र गोल्छा अर्गनाइजेशनको कम्पनीलाई चार हजार कार्यकर्ता पाल्ने आदेश दिइसकेका छन्।
‘आफ्ना मान्छेहरु कुनैबेला पनि आउन सक्छन् भनेर भर्खरै फोन गरेको थियो,' मंगलबार दिउँसो अर्का व्यावसायीले भने, ‘उनीहरुलाई सहज ढंगले बस्न दिएमा केहि असर नपर्ने भनेर तर्साएका छन्।'
यसरी फोन गर्ने व्यक्तिलाई आफूले भर्खर तयार गरेका घरको भौतिक सामग्रीमा नोक्सानी भए कसले ब्यहोर्छ भनेर प्रश्न गर्दा कुनै जवाफ नदिइएको समेत उनले उल्लेख गरे। (नागरिकन्यूज)
Tuesday, April 27, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment