Saturday, May 1, 2010

खुलामञ्चमा अटेन/बजार र सडक सुनसान

खिम घले काठमाडौ, वैशाख १८ - अन्तरराष्ट्रिय मजदूर दिवसको अवसर पारेर माओवादीले आयोजना गरेको शक्ति प्रदर्शन र त्यसपछि हुनसक्ने मुठभेडको आशंकाले राजधानीको जनजीवन त्रस्त छ ।

आम हड्तालको सुरु हुने एक दिन अघिदेखि नै सडकहरु बिहानैदेखि सुनसान छन् भने व्यापार व्यवसाय बन्द छ । यद्यपी माओवादीले शुक्रबारदेखि नै शनिबार आम हड्ताल नभइ प्रदर्शन र आमसभा मात्र भएको बताउँदै आएको थियो । माओवादीले आइतवारदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरेको छ ।

सरकार र सत्तारुढ दलहरुले माओवादीले सत्ताकब्जा गर्ने भन्दै नेपाली सेनासहित सबै सुरक्षा निकायहरु उच्च सतर्कतामा राखेको छ । माओवादीले पनि दमन गरिए प्रतिकार गर्ने बताउँदै आएको छ ।

सडक, बजार सुनसान छभने माओवादीले खुलामञ्चमा आयोजना गरेको आमसभामा भने ठूलो संख्यामा मानिस जम्मा भएका छन् । बिभिन्न १८ वटा स्थानबाट निस्किएको माओवादीको जुलुस खुलामञ्च आइपुग्दा त्यहाँ नअटेर बागबजार, नेपाल वायुसेवा निगमअगाडिको बाटो, शान्तिबाटिका क्षेत्रमासमेत मानिसलेभरिएको छ ।

माओवादी सभालाई स्वयंसेवकहरुले व्यवस्थित गरिरहेका छन्भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बिशेष गरेर सिंहदरवार प्रवेशको नाकाहरुमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

माइतीघर मण्डलाबाट नै स्वास्थ्यकर्मी तथा अतिआवश्यकीय सेवाका व्यक्तिलाई बाहेक प्रवेश निषेध गरिएको छ । प्रहरीले निषेधित क्षेत्र लेखेको तुल टाँगेर माइतीघर मण्डला, भद्रकाली र पद्मोदय मोडमाबाट आवतजावतमा रोक लगाएको छ ।

माओवादी सभामा सहभागी हुन आउनेहरुको लागि पानीको ट्याङ्करहरुको व्यवस्था गरेको छ । माओवादी कार्यकर्ताहरुले पनि सुन्धारा, जमल, बागबजार, प्रदर्शनी मार्गलगायतका क्षेत्रबाट सवारी साधनलाई रत्नपार्कतर्फ जान दिएका छैनन् । (ekantipur)

No comments:

Post a Comment