Saturday, May 1, 2010

कार्यदल सहमतिमा पुग्न असफल/लडाकु समायोजन र सरकार बारे कुरा मिलेनः भट्टराई

आम हड्ताल फिर्ता नहुने भयो ।

काठमाडौ, वैशाख १८ - सहमतिको प्रयास स्वरुप शनिबार दोस्रो चोटी बसेको तीन दलीय संयन्त्रको बैठक पनि असफल भएको छ । माओवादी सेनाका लडाकुको व्यवस्थापन कार्ययोजना र राष्ट्रिय सहमतिको सरकारबारे विवाद कायमै रहेको छ ।

माओवादी नेताहरु सहमति हुन नसकेको भन्दै बैठकस्थलबाट बाहिरिएका छन् । 'राष्ट्रिय सहमतिको सरकार र सेना समायोजन सम्बन्धी कार्यतालिकामा सहमति हुन सकेन' माओवादी नेता बाबुराम भट्टराईले संवाददाताहरुसंग भने, 'बैठक फेरी बस्ने गरि टुङ्गियो ।' फेरी कहिले बैठक बस्ने भन्ने सम्बन्धमा उनले केही बताएनन् ।

उनले अब अंश अंशको सहमतिको अर्थ नभएको र प्याकेजमै सहमति हुनुपर्ने समेत बताए । भट्टराईका अनुसार काँग्रेस र एमालेका नेताहरुले तीन साता भित्र लडाकु समायोजन गरिसक्ने प्रस्ताव ल्याएको तर, त्यसमा माओवादी सहमत नभएको हो ।

'हामीले यति ठूलो र गम्भीर मुद्द तीन साताभित्र सक्न संभव छैन भन्यौं । त्यसैले समय बढाउनु पर्छ भन्दा उहाँहरु मान्नु भएन' उनले भने ।

त्यसैगरी माओवादीले सहमतिका लागि प्रधानमन्त्री माधवकुमार नेपालले पहिला राजीनामा दिनु पर्ने प्रस्तावमा काँग्रेस एमालेले सहमत नभएको पनि उनले बताए । भट्टराईले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सहमति नहुने पनि बताए । यद्यपी आम हड्तालका बीच पनि संवाद जारी रहने बताए ।

पौने सात बजेबाट सुरु भएको दोस्रो बैठक साँढे १० बजे सकिएको हो । बैठकमा विगतमा सहमति र सम्झौताहरुको समिक्षा र कार्यन्वयन, विश्वासको बातावरण निर्माण, राष्ट्रपतिको कदम बारे, संविधान, शान्ति प्रकृया र सत्ता साझेदारीका बारे छलफल भएको थियो । बैठकमा माओवादीका भट्टराई र बर्षमान पुन, काँग्रेसका बिमलेन्द्र निधि, कृष्ण सिटौला र रामशरण महत तथा एमालेका इश्वर पोखरेल र प्रदीप ज्ञवाली सहभागी थिए । (ekantipur)

No comments:

Post a Comment