आफ्नो कार्यशैलीबाट असन्तुष्ट समूहको निर्देशनमा अपरहण भएको खुलासा
डा. श्रेष्ठलाई भरतपुर छाड्न चेतावनी
१ करोड १० लाख रुपैयाँ बराबरको सुन फिरौती बुझाएर डा रिहा भएका थिए
केदार ओझा, काठमाडौं, अषाढ ९ - भरतपुर क्यान्सर अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठले अस्पतालकै असन्तुष्ट पक्षले पेशेवर अपराधी लगाएर आफ्नो अपहरण गराएको बताएका छन् ।
परिवार र प्रहरीको अनुसन्धान टोली पनि उनको अपहरण पेशेवर अपराधीहरुको निर्देशनमा भएको टुंगोमा पुगेका छ । 'धेरै प्रकारको सिन्डिकेट तोड्ने क्रममा मसँग असतुष्ट समूह मध्येका केहीले भुक्तानी दिएर परिचालन गरेका अपराधिक समूहले मलाई अपहरण गरेको हुनसक्छ' परिवारसहित सोमवार काठमाडौं आइपुगेका डा श्रेष्ठ भने 'अस्पताल र त्यहाको सेवालाई सहज र सर्वसुलभ बनाउने क्रममा मेरो कदमबाट अस्पताल भित्र र बाहिरका धेरै व्याक्तिहरु असुन्तुष्ट छन, तिनीहरु मध्ये कसैको निर्देशनमा परिचालित व्यवशायीक अपराधीहरुले मलाई अपहरण गरेजस्तो लाग्छ ।'
उनले त्यो अपराधिक समूहले आफूलाई भरतपुर नबस्न चेतावनी दिएको बताए । 'भरतपुर अस्पतालमा जागिर नखाँदा राम्रो हुन्छ, काठमाडौं बस्नु भयो भने महिनामा दशौं लाख कमाई हुन्छ, सकेसम्म भरतपुर छाड्नुहोला', डा श्रेष्ठले रिहा हुनु अघि अपहरणकारीले भनेको शव्द सम्झदै भन्छन्, 'यसैबाट मेरो अपहरणमा को संलग्न हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ ।'
उनले आफ्नो अपहरणका कारण आर्थिकका लागि मात्र नभएको जिकिर गरे । 'घटना अझै रहष्यमय नै छ' डा. श्रेष्ठ भन्छन- 'पैसाकै लागि अपहरण गरेको भए चितवनमै दशौ करोड रकम फिरौती दिने धेरै थिए, मेरा परिवारसग लिएको पैसा त सेफ लेण्डिङ्गका लागी मात्रै लिएजस्तो लाग्छ ।'
फिरौती बुझाएर अपहरणमुक्त भएको मंगलबार १७ दिन बितिसक्दा पनि अपहरणकारी मध्येका कसैलाई प्रहरीले पक्राउ गर्न सकेका छैन । मनोबैज्ञानिक त्रासका कारण डा. श्रेष्ठ अझै अस्पताल हाजिर हुन सकेको छैनन । जेठ ४ गते राती अस्पतालबाट घर फर्कंदै गर्दा डा. श्रेष्ठ अपहरण भएको मंगलवार एक महिना चार दिन भएको छ । यो घटनाक्रममा हालसम्म भारतीय प्रहरीलाई कुनै सुराक र सूचना माग गरिएको छैन ।
पारिवारिक श्रोतका अनुसार डा. श्रेष्ठ एक करोड दश लाख रुपैयाँ बराबरको साढे तीन किलो सुन बुझाएर रिहा भएका थिए । अपहरणकारीलाई श्रेष्ठको परिवारले भारतको लखनऊ नजिकै उक्त परिमाणको सुन बुझाएको थियो । अपहरणकारीहरुले नगदको सटृामा समझदारी भए अनुसारको रकम बराबरको नम्बरी सुन खरीद गरेर ल्याउन आग्रह गरेका थिए ।
श्रेष्ठ अपहरणमा परेको पाचौ दिनपछि मात्रै डा. श्रेष्ठको पत्नी शिलु श्रेष्ठलाई अपहरणकारीले पहिलोपटक सम्पर्क गरेका थिए । पहिलो सम्र्पकमा अपहरणकारीले फिरौतीको कुरा नगरी डा. श्रेष्ठलाई सामान्य अनुसन्धानका लागी कव्जामा लिएको दावी गरेको थिए । त्यसपछि झण्डै एकदिन बिराएर अपहरणकारीहरु परिवारको सम्र्पक रहेको थाहाभएको छ । अपहरणकारीले गरेको सबै फोन भिओआइपी मार्फत गरिएका हुनाले प्रहरीले कुन नम्बर र स्थानबाट अपहरणकारीले फोन गरिरहेको छन भन्ने पत्ता लगाउन सकेन ।
रिहा गर्नका लागी फिरौतीको प्रस्ताव भने अपहरणकारीहरुले १२ दिन देखि मात्रै सुरु गरेका थिए । पहिलो माग उनीहरुको पाँच करोड गरेको थाहाभएको छ । तीन दिन भन्दा बढी समयसम्म अपहरणकारीहरुले पाँच करोडको मागलाई कायमै राखे । सम्र्पकमा रहेका परिवारका सदस्यले पाँच करोड कुनै पनि अवस्थामा तिर्न नसक्ने बताएपछि अपहरणकारीहरु केही लचिलो हुदै एक करोड दिए डा. श्रेष्ठलाई सकशुल फिर्ता गर्न सहमत भएका थिए । तर कबुल गरेको रकम बुझाउन ढिलो भएकाले उनीहरुले पछि थप दश लाख बढी माग गरेको थाहा भएको छ ।
अपहरणमा परेको १९ दिने मध्ये डा श्रेष्ठलाई एक पटक मात्रै अपहरणकारीले अप्रत्यक्ष रुपमा फोनमा परिवारका सदस्यलाई सम्र्पक गराएको थिए । अपहरणकारीहरुले रिहा गर्न केही दिन अघि मात्रै परिवारका सदस्यहरुसग हतियार किन्नका लागी केही रकम लिन लागेको जानकारी डा श्रेष्ठलाई दिएका थिए ।
समझदारी भए अनुसारको रकम बराबरको सुन लिएर परिवारका सदस्य मध्येका दुई जना भारतका लखनऊ आसपासका क्षेत्रमा गएका थिए । त्यसरी गएका दुई सदस्यहरुले जेेठ २० गते राती १ बजे उनीहरुले भनेअनुसारको अज्ञात गाडीमा चढेर आएका अज्ञात व्याक्तिलाई सुन दिइएको थियो । श्रेष्ठ परिवारका सदस्यहरुले अपहरणकारीलाई दिने सुन भरतपुरको स्थानिय बजारमै खरीद गरेका थिए । अपहरणकारीले मागेको रकम धेरै चितवनकै र केही काठमाडौका साथीभाईहरुबाट संकलन गरिएको थियो ।
फिरौती बुझाए लगत्तै डा श्रेष्ठलाई छाडिदिने भनिएपनि अपहरणकारीले २६ घन्टापछि जेठ २२ गते बिहान सवा तीन बजे डा श्रेष्ठलाई छाडिदिएका थिए । फिरौती बुझाएको २४ घन्टासम्म पनि डा श्रेष्ठको अत्तोपत्तो नहुदा परिवारका सदस्यहरु एकदमै तनावमा थिए ।
अहिलेसम्म पनि अपहरण गरेर राखेको स्थान धादिङ्ग जिल्लाकोे माझिमटारबाट गाडी र मोटरसाइकलमा हिडदा सात घन्टाको बाटो वरपरको चिसो स्थान बाहेक केही खुल्न सकेको छैन ।
रिहा भए लगत्तै परिवारका सम्र्पकमा पुगेका डा. श्रेष्ठले गाडी चढी भरतपुर जानेक्रममा पटक पटक रुदै आफूलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताएको थिए । भरतपुरस्थित निवासमा पुगेपछि पनि डा ले हिन्दु जनता पाटीले नै अपहरण गरेको बताएका थिए । 'अपहरणमुक्त भएको तीनदिनसम्म पनि उक्त पार्टीले जिम्मेवारी नलिएपछि मेरो ती व्याक्तिहरुले भनेका सबै कुराहरुप्रति भ्रम टुटेको छ ।' डा श्रेष्ठ भन्छन-'उनीहरुले बन्धक बनाएको १९ दिन नै त्यस बारेमा दिन रात कुरा गरेकाले म कन्भिस भएको थिए, म ठूलै भ्रम परेको रहेछु ।'
डा. श्रेष्ठका अनुसार अपहरणकारीले १९ दिन नै आखामा भित्र कपास राखी बाहिर कालो पटृी लगाइदिएका थिए, पटृी खोलेर चियाउने प्रयास गरे, भाग्ने कोशिस गरे र अपहरण मुक्त गराउन प्रहरी र माओवादीको सर्च टोली आए कुनै पनि बेला ज्यान जानसक्छ भन्ने चेतावनी दिएका थिए । उनका अनुसार बन्धक बनाएर राख्दा श्रेष्ठलाई २४ सै घन्टा हात र खुटृा डोरी बाघिएको थियो, अपहरणकारीसग दुईवटा पेस्तोल र चारवटा मोवाएल साथमा थियो । बेला बेला छाम्न दिने पेस्तोल र मोवाएल अघिकांश समय डा श्रेष्ठको छेवैमा हुनेगर्दथे । साथैमा रहेको मोवाएलमा दैनिक जस्तै एक व्याक्तिले डा श्रेष्ठसग हिन्दीमा कुराकानी गरी हालखबर बुझ्ने गर्दथे । श्रेष्ठका अनुसार अपहरणकारीहरुले १९ दिनका बन्धक बनाई राख्ने क्रममा पाँच स्थान सारेका थिए । त्यसरी सार्दा केही समय मोटरसाइकलमा र केही समय गाडीमा लैजान गर्दथे । गाडीमा लैजादा काखमा सुताएर कम्बल ओडाउथे भने, मोटरसाइकलमा लैजादा कालोपटीमाथी ठूलो कालो गगल्स लगाएर रेनकोट लगाइदिने गर्दथे । अपहरणकारीले डा श्रेष्ठलाई अपहरण गर्न तीन महिनाअघि देखि योजना बनाएको पनि बताएका थिए ।
तेस्रो अनुसन्धान टोली गठन
काठमाडौ- डा. भक्तमान श्रेष्ठको अपहरण प्रकरणको अनुसन्धान गर्न तेस्रो अनुसन्धान टोली गठन भएको छ । तेस्रो अनुसन्धान टोली लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाईमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीको अध्यक्षतामा गठन भएको छ । सुवेदी यसअघि महानगरिय अपराध महाशाखामा समेत कार्यरत थिए ।
श्रेष्ठ अपहरण भए लगत्तै प्रधान कार्यालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक रमेश फुयालको अध्यक्षतामा तीन सदस्यीय टोली गठन गरिएको थियो । त्यसपछि नेपाल प्रहरीकै अनुसन्धान विभागका प्रमुख प्रकाश कुवरको अध्यक्षतामा पनुः तीन सदस्यी अनुसन्धान टोली गठन भएको थियो । एआईजी कुवरको टोलीले तीन साता अनुसन्धान गरी गृह मन्त्री भीम रावललाई प्रतिवेदन बझाएका छ । एआईजी कुवरको नेतृत्वमा गठित टोलीले बुझाएका प्रतिवेदन अपुरो भएको र त्यसबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले सुवेदीको नेतृत्वमा तेस्रो अनुसन्धान टोली गठन भएको हो । (ekantipur)
Tuesday, June 22, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment