Tuesday, June 29, 2010

असार १५ मा पर्यटक

लालप्रसाद शर्मा, पोखरा, अषाढ १६ - राचेल अस्टे्रलियाबाट पहिलोपटक फेवानगरी आएकी थिइन् । पोखरेली प्रकृतिको सौन्दर्यमा लठ्ठ परिसकेपछि उनी तानसेन घुम्न जाने तरखरमा थिइन् । बीचैमा असार १५ आइदियो । उनको जीवनमा यो मंगलबार छुट्टै महत्त्वको बन्यो ।
'हिलाम्मे खेतमा खेल्न पाउँदा जीवनमै पहिलो पटक धेरै खुसी भएँ,' रोपाइँ महोत्सवमा सहभागी उनले भनिन्, 'मलाई पोखराको यो थप आकर्षणले रमाइलो र आनन्दित बनायोे, कहिल्यै भुल्ने छैन ।' उनले हिलोको कुनै पर्बाह नगरी घन्टौं खेतमा रमाइलो गरिरहिन् । नेपाली किसान र अन्य पर्यटकसँग हिलो छ्यापाछ्याप गरेर हिलोमै दौडिइन् । कुनै बेला उनको हातमा रोपो पनि देखिइरहेको थियो ।

रसियाबाट आएका सर्जली पनि दिनभर हिलाम्मे खेतमा खेलिरहे । 'भाग्यले मैले नेपाली संस्कृतिको यो नौलो अनुभूति सँगालेर जाने मौका पाएँ,' आफ्ना साथीभाइसँग हिलो छ्यापाछ्याप गर्दै सर्गलेले भने, 'आफैंमा राम्रो नेपालको संस्कृति पनि महान् रहेछ ।'

झ्याइँझ्याइँ पञ्चेबाजा र आमा समूहको असारे गीतको स्वागतले आफूले सोचेभन्दा बढी नेपाली माया र सत्कार पाएको पर्यटकले बताए । राचेल र सर्जली जस्तै झन्डै दुई दर्जन पर्यटक महोत्सवमा नेपालीसँग घुलमिल गर्दै निकै रमाए । अधिकांश जापान, अस्ट्रेलिया, अमेरिकी, रसियालगायतका थिए ।

पोखरा पर्यटन परिषद्ले यसपालि पनि 'पोखरा सबै मौसमका लागि' नारा दिएर रोपाइँ महोत्सव आयोजना गरेको थियो । महोत्सवको यो सातौं संस्करण हो ।

यस वर्ष पोखरासँगैको सराङकोट गाविस-६ चिसापानीको फाँटमा महोत्सव भएको हो । 'असारे संस्कृतिलाई जोगाइराख्ने लक्ष्य हो,' परिषद् अध्यक्ष तथा महोत्सव संयोजक बच्चुराम तिवारीले भने, 'यसले पोखरा प्रत्येक मौसममा उपयुक्त छ भन्ने सन्देश पनि दिएको छ ।'

महोत्सवको उद्घाटन पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले गरेका थिए । उनी पनि हिलो खेलाइ र रोपाइँमा सहभागी बने । किसान, पर्यटन व्यवसायी, सञ्चारकर्मी पनि हिलोमा दौडिएर रोपो रोप्न व्यस्त भए । त्यहाँको उल्लासमय वातावरणले सञ्चारकर्मीलाई आफ्ना क्यामेरालगायतका सञ्चार सामग्री जोगाउन हम्महम्मे भएको थियो ।

लक्ष्य पूरा गर्न स्थानीयवासी पनि कम्मर कसेर जुटे । आमा समूह बिहानैदेखि खेताला र सहभागीका लागि रोटी पोल्न व्यस्त थिए । महोत्सव हेर्न आउनेको ठूलो घुइँचो लागेको थियो । तिनका लागि पनि दहीचिउरा र रोटी अचारको व्यवस्था थियो । पञ्चैबाजा र असारे भाकाले सबैलाई हिलोमा नाच्न बाध्य बनायो ।

'करिब १५ हजारको सहभागिता रह्यो,' परिषद् महासचिव नारायण शर्माले भने, 'आउँदो वर्ष पनि महोत्सव गर्नेछौं ।'

महोत्सवलाई रोचक बनाउन हिलोमा विदेशी पर्यटक र नेपालीबीच छुट्टाछुट्टै दौड प्रतियोगिता गरियो । प्रतियोगितामा अमेरिकी पर्यटक कोली कोल्थार्प पहिलो, आयरल्यान्डका बेरी ओफ्लान दोस्रो र अमेरिकाकै आरोन ह्वाइटली तेस्रो भए ।

त्यस्तै दाँदे चढेर हलीको पनि प्रतिस्पर्धा भयो । हिलोमा माछा समात्ने, आमा समूहले धान रोप्ने, असारे भाकाको प्रतिस्पर्धा पनि गरियो । विदेशी पाहुनाहरू असारे भाकाबाट पनि आनन्द लिइरहेका थिए-

असार मासा कुटेका चिउरा म कति साँचुँला,
सौताको हात दुई कट्की भात
म कति बाँचुँला...

असारै मासको दबदबे हिलो,
छिः मलाई घिन लायो
पातली नानीलाई फरिया किन्दा,
छ बीस रिन लायो...
(ekantipur)

No comments:

Post a Comment