Tuesday, June 22, 2010

डिएसपी न्यौपाने निलम्बित

विनोद न्यौपाने/नयाँ पत्रिका, काठमाडौं, ७ असार : तराईका आपराधिक संगठनसँग साँठगाँठ गरेको अभियोगमा डिएसपी रूपकुमार न्यौपाने निलम्बित भएका छन् । गृह मन्त्रालयले सोमबार उनलाई चार महिनाका लागि निलम्बन गरेको हो ।
डिएसपी न्यौपाने धनुषामा कार्यरत रहँदा स्थानीय सशस्त्र समूहसँग साँठगाँठ रहेको खुलासा भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार नै उनलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । तर, मन्त्रालयले छुट्टै छानबिन गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । राजनीतिक दलका नेतासँग समेत 'राम्रो' सम्बन्ध रहेका न्यौपानेलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले पटक-पटक आग्रह गरेपछि कार्यालयको सिफारिस पुगेको चार दिनपछि उनलाई निलम्बन गर्ने निर्णय भएको स्रोतको दाबी छ ।

धनुषामा दुई साताअघि लगातार गोली प्रहारका घटना भएपछि क्षेत्रीय प्रहरी कार्यालय र जिल्लामा समेत छुट्टाछुट्टै छानबिन समिति बनाइएको थियो । दुवै समितिले तराईमा क्रियाशील आपराधिक समूहसँग डिएसपी न्यौपानेको सम्बन्ध रहेको भन्दै उनलाई कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले न्यौपानेलाई निलम्बन गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो । प्रहरी निरीक्षकभन्दा माथिका प्रहरी अधिकृतलाई निलम्बन वा पदमुक्त गर्ने निर्णय गृह मन्त्रालयले गर्ने व्यवस्था छ । उनलाई कारबाही नगर्न सत्तारुढ दलकै मन्त्रीदेखि केन्द्रीयस्तरका नेतासमेत लागेका थिए ।

न्यौपाने सइदेखि डिएसपी हुँदासम्म १० वर्षभन्दा बढी जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत थिए । 'पावर' को भरमा धनुषामा पटक-पटक बसेका उनी जिल्ला प्रहरी प्रमुखको सहमतिविना नै अपराधीलाई छुटाएको भन्दै विवादमा आएका थिए । हाल धनुषाका प्रहरी प्रमुख एसपी सर्वेन्द्र खनालले समेत न्यौपानेका कारण अपराधीहरू सजिलै उम्केको भन्दै गुनासो गरेको प्रहरी स्रोतले बताएको छ ।

अपराधीलाई छाडेको भन्दै उनको चौतर्फी आलोचना भएपछि उनलाई गएको साता पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सरुवा गरी अनुसन्धान सुरु गरिएको थियो । अपराधी छुटाएको विषयमा धनुषाका प्रहरी प्रमुख खनाल र न्यौपानेबीच विवाद भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो ।

प्रहरी प्रवक्ता विज्ञानराज शर्माले प्रारम्भिक छानबिनका क्रममा डिएसपी न्यौपानेका गतिविधि शंकास्पद रहेको पाइएपछि निलम्बनका लागि सिफारिस गरिएको बताए । 'डिआइजीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले उनको व्यवहार शंकास्पद र विवादित देखिएपछि निलम्बनका लागि सिफारिस गरिएको हो,' शर्माले नयाँ पत्रिकासँग भने, 'अब बृहत् रूपमा छानबिन हुन्छ ।' अबको छानबिनका क्रममा उनी दोषी पाइए कानुनअनुसार कारबाही हुने शर्माले बताए ।

No comments:

Post a Comment