Wednesday, June 23, 2010

सरकार 'दाहालकै नेतृत्वमा'

किरण पुन, (नागरिक) काठमाडौं, असार १०- शान्ति र संविधान सुनिश्चित गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा सहमतीय सरकार बन्नुपर्ने प्रस्ताव माओवादीले ल्याउने भएको छ। संविधानसभाको प्रस्तावक र ठूलो दलको हैसियतले उसले यस्तो प्रस्ताव ल्याउन लागेको हो।
यसअघि नै अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव लाने निर्णय स्थायी समतिले गरे पनि उपाध्यक्ष बाबुराम पक्षधरले 'जसको नाममा सहमति जुट्छ उसकै नेतृत्वमा जाने विकल्प खुला राख्नुपर्ने' भन्दै विरोध जनाएपछि माओवादीभित्र नेतृत्व विवाद चुलिएको हो।
गत मंगलबारदेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी पोलिट्ब्युरो बैठकमा उठेका प्रश्नको जबाफ अध्यक्ष दाहालले बिहीबार दिने छन्। उनले बुधबार बिहान उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग अलगअलग परामर्श गरे। यसैगरी, उनले आफ्ना निकट र भट्टराई निकटका स्थायी समिति सदस्यहरुसँग पनि छलफल गरे।
तर राति अबेरसम्म भने संस्थापन पक्षको दाहाल निवास नयाँबजारमा र उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको भट्टराई निवास शान्तिनगरमा दुवै गुट छलफलमा व्यस्त रहे।
'शान्ति र संविधानलगायतका विजनेस पूरा गर्न माओवादी पार्टीको अध्यक्ष प्रचण्ड नेतृत्व सरकार मात्र व्यावहारिक हुन्छ,' संस्थापनपक्षको छलफलबाट बुधबार राति अबेर दाहाल निवास नयाँबजारबाट फर्केपछि सचिव पोष्टबहादुर बोगटीले नागरिकसित भने। राति अबेरसम्म दाहाल निवासमा बोगटीसहित संस्थापन पक्षका स्थायी समिति सदस्यद्वय कृष्णबहादुर महरा र नेत्रविक्रम चन्द थिए। साँझपख ६ बजेतिर दाहाल निवास पुगेका उनीहरु राति नौ बजेतिर मात्र फर्केका थिए।
सचिव बोगटीले प्रधानमन्त्री माधव नेपालको उदाहरण दिदै अध्यक्ष दाहालबाहेकका नेतालाई सरकारको नेतृत्व नदिए अस्थिरतासमेत आउने दाबी गर्दै भने, 'अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व नगरे व्यावहारिक दृष्टिले पनि माधव नेपाल नेतृत्वजस्तै अस्थिर हुन्छ।' घुमाउरो पाराले बाबुराम भट्टराई वा अरु कुनै माओवादी नेताको नेतृत्वमा पनि सरकार बन्न नसक्ने बताए।
उनले शान्ति र संविधान माओवादीकै एजेन्डा भएकाले पनि माओवादी र अध्यक्ष दाहालकै नेतृत्वमा सरकार बन्नुपर्ने तर्क दोहोर्‍याए। बिहीबार पोलिट्ब्युरो बैठकमा अध्यक्ष दाहालले जबाफ दिने छन्। उनका अनुसार संभव भए बिहीबार बैठक सकिएपछि माओवादीको आधिकारिक निर्णय बाहिर आउने छ। तर अध्यक्ष दाहालको जबाफ चित्त नबुझे बैठक शुक्रबारसम्म पनि तन्किन सक्ने छ।
'सरकारको नेतृत्व माओवादीले नै गर्ने हो। तर व्यक्ति तोक्ने होइन,' भट्टराई पक्षधरले एक स्थायी समिति सदस्यले नागरिकसित भने। प्रधानमन्त्रीको लागि आफूले दाबी नगर्ने र सहमतिको लागि त्याग गर्न भनेर अध्यक्ष दाहालमाथि दबाब हालेका उपाध्यक्ष भट्टराईलाई बैठक सुरु भएयता कुनै पनि हालतमा संस्थापनपक्षसँग नझुक्न आग्रह गरेको भट्टराई पक्षधर एक नेताले बताए।
दाहाल पक्षधर अध्यक्ष दाहालको नेतृत्वमा सरकार बन्ने स्थिति नभए प्रतिपक्षमा बसेर जनविद्रोह तयारी गरेर जाने पक्षमा निर्णय गराउन लागिपरेको छ भने भट्टराई पक्षधर जसको नाममा सहमति बन्छ उसकै नाममा भनेर विकल्प खुला गराउन।

राति अबेरसम्म दाहाल निवास नयाँबजारमा संस्थापन पक्षका र शान्तिनगरस्थित बाबुराम भट्टराई निवासमा आआफ्ना गुटका छलफल चलेको थियो।

'एक सातासम्म चलेको बैठकमा जबाफ दिनुअघि पिसपिसमा बसेर अध्यक्षले छलफल थाल्नुभएको हो भने उता उपाध्यक्ष भट्टराईले पनि आफ्नो समूहबाट कसरी डिल गर्ने भनेर छलफल गर्नुभयो होला,' दुवै गुटमा नरहेका एक माओवादी नेताले नागरिकसित भने।

भट्टराई पक्षधर महाधिबेसन नगरे राष्टिय सम्मेलन हुनुपर्ने बताएका छन् भने यता दाहाल पक्षधरले भने विस्तारित बैठक, भेला र राष्टिय सम्मेलनका कुरा आए पनि सम्भावना भेला वा सम्मेलन नै हुने तर्क गरे।

सेना समायोजनको मोडालिटीमा भने पार्टीभित्र विवाद छैन। जनमुक्ति सेनाको छुट्टै फोर्स बनाउने वा जनसेनाको संख्या बराबर नेपाली सेना र पुलिसबाट लिएर छुट्टै फोर्स बनाउने वा पढ्न, राजनीति गर्न चाहनेलाई घर पठाएर बाँकी रहेकालाई सेना, पुलिसमा समायोजन गर्ने तीनवटा विकल्प ल्याउने छ। सात मुख्य र एक्काईस सहायक शिविरमा १९ हजार ६ सय दुई जनमुक्ति सेना छन्।

यसैबीच, माओवादी निकट अखिल जनस्वास्थ्यकर्मी संघद्वारा राजधानीमा बुधबार आयोजित अपहरणमुक्त भएका डा.भक्तमान श्रेष्ठलाई सम्मान गर्दै महासचिव रामबहादुर थापाले सरकार बनाउने खेलमा माओवादीलाई फुटाउन खोजेको आरोप लगाए। उनले भने, 'देशभक्तहरुलाई फुटाउने गम्भीर षड्यन्त्र पनि भइरहेको छ।'

No comments:

Post a Comment