काठमाडौं, असार १८ (नागरिक)- प्रधानसेनापतिमा रुक्मांगत कटवाललाई थमौती गर्ने राष्ट्रपति रामवरण यादवको निर्णयविरुद्ध परेको रिटमाथिको बहस अकस्मात् सारिएको छ।
सर्वोच्चको पूर्ण इजलासमा सुरु भएको बहस राष्ट्रपतिका वकिलसँग न्यायाधीशको नाता परेको भन्दै अर्को इजलासले हेर्ने गरी बिहीबार रोकिएको हो।
सर्वोच्चले न्यायाधीश रामकुमारप्रसाद साहको राष्ट्रपति पक्षका वकिल रामकृष्ण निरालासँग नाता परेकाले न्यायाधीश आचारसंहिता ०६० विपरीत हुने भन्दै अर्को बेन्चमा सार्ने निर्णय लिएको हो।
न्यायाधीशत्रय रामकुमारप्रसाद साह, प्रेम शर्मा र रणबहादुर बमको पूर्ण इजलासमा बहस सुरु भएको थियो। आधा दिन फाइल अध्ययन भइसकेपछि सोही दिनबाट बहस सुरु भएको मुद्दा 'हेर्दाहेर्दै' को अवस्थामा पुगेको थियो।
अदालतले एक महिनाभित्रै मुद्दा टुंग्याउन पक्ष/विपक्षलाई समयसीमासमेत तोकेको थियो। साताको दुई दिन राष्ट्रपतिका वकिललाई, दुई दिन निवेदक, एक दिन सरकारी वकिल र एक दिन जवाफका लागि समय निर्धारण गरिएको थियो। बहस साउन २० का लागि सारिएको छ।
अर्को पूर्ण इजलास प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले तोक्नेछन्।
जटिल संवैधानिक प्रश्न बोकेको मुद्दामा एक दिन बहस भइसकेपछि हेर्न नमिल्ने भन्दै रोकिएको यो पहिलो घटना भएको रिटनिवेदक अधिवक्ता श्रीकृष्ण सुवेदीले बताए। 'सार्वजनिक सरोकारको विषय र संवैधानिक प्रश्नको सवालमा व्यक्तिगत नाताले असर पार्दैन,' उनले भने।
न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र राजेन्द्रप्रसाद कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दा खारेज गर्ने वा नगर्ने भन्ने विषयमा राय बाझिएपछि पूर्ण इजलासमा पठाइएको थियो।
Thursday, July 1, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment