Friday, August 6, 2010

चौथो पटक प्रधानमन्त्री चयन नहुँदा पनि अडान यथावत

काठमाडौं, श्रावण २१ - मुलुकले चौथो पटक पनि प्रधानमन्त्री चयन गर्न नसके पनि प्रमुख दलहरुको अडान फेरिएको छैन । माओवादी र कांग्रेसले उम्मेदवारी फिर्ता नलिने बताएका छन् भने सत्ता समीकरणको मुख्य साँचो बोकेको एमालेले बहुमतीय सरकारलाई कुनै हालतमा समर्थन नगर्ने अडान यथावत राखेको छ ।

कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले आफूले कुनै हालतमा उम्मेदवारी फिर्ता नलिने अडान राखे । 'म यो चुनावी प्रक्रियामा भाग लिइरहन्छु,' प्रधानमन्त्री चुनावपछि पौडेलले संविधानसभा परिसरमा संवाददाताहरुसित भने, 'तटस्थमा रहेका दलहरुले मलाई सहयोग गरेर यो प्रक्रिया टुंग्याउनुपर्दछ ।'

पौडेलले कांग्रेसमा प्रधानमन्त्रीका लागि आफ्नो विकल्प नभएको बताए । 'मेरो विकल्प छैन,' चौथो पटक पनि पराजित भए पछि निराश उनले आक्रोसित हुँदै भने, 'मलाई मेरो पार्टीले निर्णय गरेर पठाएको हो, मेरो उम्मेदवारी यथावत छ ।' संविधानसभा परिसरमा कांग्रेस नेता प्रदीप गिरीले पौडेलको विकल्प कांग्रेसले नै दिने संकेत गरेका थिए ।

एमाले अध्यक्ष झलनाथ खनालले पनि बहुमतीय सरकारलाई समर्थन नगर्ने अडान दोहोर्‍याए । 'राज्यले बहुमतीय हैन, सहमतीय सरकार चाहिएको भन्ने त यसैले स्पष्ट पारेको छ,' प्रधानमन्त्री चुनावपछि संविधानसभा परिसरमा संवाददाताहरुसित उनले भने, 'अब हामी सहमतिको दिसातर्फ बढ्नुको विकल्प छैन, म ठूला, मझौला र साना दललाई सहमतितर्फ अघि बढ्न आग्रह गर्दछु ।'

उनले बहुमतीय चुनावी प्रक्रिया त्याग्न एमालेले शुक्रबारदेखि नै छलफल सुरु गर्ने जानकारी दिए । 'भदौ २ गते भित्र राष्ट्रिय सहमति निर्माण गर्नु पर्दछ, यो अनमोल समय हो, हामी आज बेलुकादेखि नै सहमतिका लागि पहल सुरु गर्छौं,' उनले भने । (कान्तिपुर)

No comments:

Post a Comment