Friday, August 13, 2010

एमाले संविधानसभा विघटनको सहयोगी बन्दैनः खनाल

मुख्य पृष्ठ » समाचार » एमाले संविधानसभा विघटनको सहयोगी बन्दैनः खनाल

२८ साउन, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभा विघटन गर्ने ‘षड्यन्त्र’ को सहयोगी हुन नसक्ने बताउनुभएको छ ।

शान्ति र संविधानका लागि एमालेले राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्रीको निर्वाचनमा लगातार तटस्थ बस्दै आएको उल्लेख गर्दै उहाँले पार्टीको यो अडान सही भएको दाबी गर्नुभयो ।
एमाले काठमाडौं जिल्ला सङ्गठन कमिटीको बृहद् कार्यकर्ता भेलालाई शुक्रबार केन्द्रीय कार्यालय बल्खुमा सम्बोधन गर्दै अध्यक्ष खनालले आगामी भदौ २ गतेको प्रधानमन्त्रीको पाँचौ चरणको निर्वाचन अगाडि नै एकीकृत नेकपा -माओवादी) र नेपाली काँग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन पुनः आग्रह गर्नुभयो ।
उहाँले बहुमतको सरकारबाट शान्ति र संविधान निश्चित नहुने भएकाले राष्ट्रिय सहमति नभएसम्म प्रधानमन्त्रीका उम्मेदवारहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामचन्द्र पौडेलमध्ये कसैलाई पनि मत नहाल्ने प्रष्ट पानुर्ृभयो ।

उहाँले एमालेको तटस्थता शान्ति, संविधान र अग्रगतिका लागि नभएको भन्दै सत्ताकै लागि आफ्नो पार्टी मरिहत्ते नगर्ने बरु प्रतिपक्षमै बस्ने जनाउनुभयो ।
एमालेले माओवादी, काँग्रेस वा भारतलाई मुख्य शत्रु नठानेको बताउँदै अध्यक्ष खनालले वर्तमानको प्रधानअन्तरविरोध ‘सामन्ती पुनरुत्थानवाद र यथास्थितिवाद’ सँग भएको चर्चा गर्नुभयो ।

भदौ २ गते अगाडि केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा पार्टीमा केही मतान्तर भएको स्वीकार्दै उहाँले काँग्रेसलाई भोट हाल्नका लागि एमालेले कुनै बैठक वा निर्णय नगर्ने पनि प्रष्ट पार्नुभयो । यस विषयमा पार्टी एक ढिक्का भएर प्रस्तुत हुन उहाँले पार्टीका नेता र कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा एमाले स्थायी समितिका सदस्य के.पी.शर्मा ओलीले माओवादीले ‘सत्ता कब्जा’ को नीति कायमै राखेर सहमतिको राजनीति त्यागेकाले एकसय एक पटक निर्वाचन भए पनि उसको नेतृत्वमा सरकार बन्न नदिने प्रण गर्नुभयो ।
माओवादी कम्युनिस्ट आन्दोलनको नाममा कलङ्क भएको आरोप लगाउँदै उहाँले भारतीय प्रतिनिधिहरुलाई कसले बोलायो ? र लाइन लागेर श्यामशरणलाई भेट्न को गयो ? अनि कसले राष्ट्रवादका चर्चा नारा उछालेको छ ? भन्ने कुरा छर्लङ्ग भएको बताउनुभयो ।

उहाँले एमालेले तटस्थ बसिरहँदा पनि माओवादीले जित्ने र काँग्रेसलाई छेक्न मात्रै तटस्थता कायम राखेको भन्ने पर्ने अवस्था आएमा त्यस निर्णयमा सोच्नुपर्ने धारणा राख्नुभयो ।

सेना र हतियार छाडेमा माओवादीको नेतृत्व आफूहरुलाई आपत्ति नहुने ओलीको कथन थियो । नेता ओलीले एमाले विभाजनका लागि माओवादीले भैंसीपूजासमेत गरेको भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने प्रष्ट पार्नुभयो ।

माओवादी ‘सांस्कृतिक राजा’ को नाममा साँठगाँठ गरिरहेको दाबी गर्दै उहाँले समयमा संविधान नबन्नुको मुख्य दोषी पनि माओवादी नै भएको ठोकुवा गर्नुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज राजेन्द्र श्रेष्ठले माक्र्सवाद र लेलिनवादलाई तिलाञ्जली दिएर कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्न नसकिने भन्दै उग्रवामपन्थीलाई एमालेले वैचारिकरुपमा परास्त गर्नुपर्ने बताउनुभयो ।

भेलाका अध्यक्ष तथा काठमाडौँ जिल्ला कमिटीका संयोजक निर्मल कुइँकेलले काठमाडौँमा आगामी असोज ५ र ६ गते हुने पाँचौ अधिवेशन एकबद्धरुपमा सम्पन्न गरिने जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment