भारतीय विशेष दूत र माओवादी नेताहरुबीचको भेटप्रति धेरैको चासो थियो l
नेपाल भ्रमणमा रहेका भारतीय विषेश दूत श्याम सरणले नेपालमा जारी शान्ति प्रक्रियालाई टुङ्ग्याउन र संविधान निर्माण गर्न एकजुट हुन प्रमुख तीन दलका नेताहरुलाई आग्रह गरेका छन्।
भेटघाटमा सहभागी नेताहरुका अनुसार नेपालमा नयाँ सरकार निर्माणमा भइरहेको ढिलाईका विषयमा भारतले चासो देखाएको छ।
नेपाल गम्भीर राजनीतिक संकटतर्फ भासिन सक्ने चिन्ता व्याप्त भइरहेको बेला नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीका विशेष दूत श्याम सरण बुधबार काठमाण्डू आइपुग्ने वितिक्कै महत्वपूर्ण भेटघाटमा व्यस्त भएका थिए।
सो क्रमलाई तिब्रता दिदै उनले बिहिबार प्रमुख तीन दलका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट गरे।
‘आग्रह’
एकीकृत माओवादीका वरिष्ठ नेताहरुसँगको भेटमा श्याम सरणले आफ्नो भ्रमणलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको रुपमा नलिन आग्रह गरेको नारायणकाजी श्रेष्ठ प्रकाशले संवाददाताहरुलाई बताए।
“उहाँले यो भ्रमणलाई कृपया त्यसरी नबुझ्नुहोस् भन्नु भयो।”
माओवादी र अन्यन दलहरुलाई शान्ति प्रक्रियामा आउन सघाएको भारतले माओवादीलाई शान्ति प्रक्रिया र बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध रहन आग्रह गर्दै आएको छ।
बिहिबारको भेटमा पनि सो विषयमा भारतीय विशेष दूतसँग कुराकानी भएको प्रकाशले बताए।
भेटघाट
पूर्व विदेश सचिव समेत रहेका विशेष दूत श्याम सरणले नेपाली कांग्रेसका वरिष्ठ नेताहरुसँग पनि भेटघाट गरेका थिए।
सो भेटपछि नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार समेत रहेका नेता रामचन्द्र पौडेलले आफूहरुले भारतको समर्थन नखोजेको बताए।
“हामीले उहाँहरुको समर्थन खोजेनौं, हाम्रो अडानप्रति सबैको समर्थन छदैछ नि।”
भारतीय राजदूत राकेश सुदसंगै देखिएका विशेष दूत श्याम सरणले नेकपा एमालेका वरिष्ठ नेताहरुसँग पनि कुराकानी गरेका थिए।
आशा
सो भेटमा सहभागी एमाले नेता भरत मोहन अधिकारीका अनुसार श्याम सरणले सबैदलहरुलाई मिलेर जान आग्रह गरे।
प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएपछि उनको उत्तराधिकारी चुन्न तीन-तीन पटक भएका चुनाव अनिर्णित भएलगत्तै भएको भारतीय विशेष दूतको भ्रमणले वर्तमान राजनीतिक गतिरोध तोड्न सघाउ पुग्ने आशा कतिपयको छ।
तर त्यसरी गतिरोध तोडिने कुनै संकेत बिहिबार साँझ अबेर सम्म मिलेको थिएन। (BBC)
Thursday, August 5, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment