Friday, August 6, 2010

सेक्सको सम्मान गर्नुहोस् : विनोदविक्रम केसी

सेक्सप्रति सम्मानको भावना किन जरुरी छ ? जीवनको केन्द्र, जीवनको स्रोतप्रति कसरी असम्मानको भावना राख्न सकिन्छ ? हामी आमाबाबुको किन सम्मान गर्छाैं ? किनभने उनीहरू जन्म दिने सूत्र हुन् । उनीहरू के कारणले जन्म दिने सूत्र भए ?


बिहान मैले उर्वशीको कथा भनेको थिएँ । एक मित्रलाई दिउँसो अत्यन्त कामोत्तेजक सपना आएछ । उनको चाहना छ- म यस्तो कुरा नभनूँ जसका कारण कामवासना भड्कियोस् । म केवल सत्य जान्ने बाटोबारे बताऊँ । मेरो कथाले उनको कामवासना जागृत भयो । किनभने, कामवासना उनीभित्र दबिएर रहेको थियो । मेरो कथाले त त्यसलाई बाहिर मात्रै ल्याएको हो । कुवामा बाल्टिन हालेपछि बाल्टिनमा पानी भरिएर आउने नै भयो । किनभने, कुवामा पानी छ । कुवा खाली छ भने बाल्टिनमा पानी आउन सक्दैन । बाल्टिनको काम पानी बाहिर ल्याउने मात्रै हो । पानी त आखिर कुवामा हुन्छ । यसको कारण पानी आयो भनेर बाल्टिनलाई दोष दिनु गल्ती हुनेछ । बाल्टिनले त केवल खबर ल्याउँछ कि कुवाभित्र पानी छ । बाल्टिन नहाले पनि कुवाको पानी विलीन हुँदैन । उर्वशीको कथा सुनेर मनमा वासना उठ्यो, कामोत्तेजक सपना आयो भन्नुको अर्थ हो- दबेको वासना छ मनमा । मनमा त्यो हुँदैनथ्यो भने उर्वशीको कथा त के स्वयं उर्वशी नै सशरीर उपस्थित भए पनि कामवासनालाई जगाउन सक्दिनथिन् । उर्वशीको कथादेखि कोही यति डराउँछ भने उर्वशी नै आइन् भने के होला ? र, उर्वशीको कुनै कमी छैन यस संसारमा । चारैतिर उर्वशी नै उर्वशी छन् । अब के गर्ने ? यस्तो भयभीत भएर कसरी जिउने ? मैले कथा भनेँ, राम्रो भयो । मित्रले सपना देख्नुभयो, त्यो झन् राम्रो भयो । यसलाई अलिकति निरीक्षण गरौँ, अलिकति विश्लेषण गरौँ । यो सपना मूल्यवान हुन सक्छ । यो स्वप्न के कुराको सूचना हो ? यो त्यस कुराको सूचना हो, जो म निरन्तर भनिरहेको छु । यो यस कुराको सूचना हो कि सप्रेस्ड माइन्ड -दमित मन) एक ज्वालामुखी हो जसमाथि हामी बसिरहेका छौँ र जसको मुनि आगो उम्लिरहेको छ । थोरै बहाना पाउनेबित्तिकै आगो बाहिर आउँछ । सपनामा त्यही कुरा हाम्रो चित्तमाथि आउँछ जसलाई जागृत अवस्थामा हामी दबाउने गर्छाैं । सपना बाइप्रोडक्ड हो दमनको । मान्छेले जुन कुराको दमन गर्छ, उसको सपनामा त्यही कुरा चित्र बनेर आउँछ । सेक्सको दमन गरिएको छ भने सेक्सको सपना आउँछ, भोकको दमन गरिएको छ भने भोजनको सपना आउँछ । सपना दमनको छाया हो । जसले आफ्नो सपनालाई राम्ररी बुझ्न सक्छ, उसले आफूलाई बुझ्न सक्छ । सपना सबभन्दा राम्रो सूचक हो ।

जागृत अवस्थामा हामी आफ्ना इच्छा-आकांक्षालाई दमन गर्छाैं । जब हामी सुत्छौँ, यो दबाउने प्रहरेदार निष्त्रिmय हुन्छ । र, दिनभरि बाहिर आउन कोसिस गरिरहेका चिज सपनामा आउँछन् । दमन गरिएको चिजले बाहिर आउने अरू बाटा पनि खाज्ने गर्छ । अश्लील फिल्म, नग्न चित्र, अश्लील साहित्यमा हामी किन आकर्षति हुन्छौँ ? सारा संसारमा दमित मान्छेको शोषण भइरहेको छ । एक अश्लील फिल्म बन्यो भने तपाईं फिल्म बनाउनेलाई दोष दिनुहुन्छ होला, तर दोषी त हाम्रो मन छ जो अश्लील फिल्म हेर्ने चेष्टा गर्छ । खुला रूपमा यस्ता कुरा हेर्ने आँट छैन हाम्रो । त्यसैले हामी फिल्म हलमा जान्छौँ, एकान्तमा यौनसम्बन्धी किताब लिएर बस्छौँ, अश्लील पोस्टर हेर्छाैं । यो संसारमा सेक्सको जति दमन भएको छ, अरू कुनै कुरामा त्यति दमन भएको छैन । त्यसैले सेक्स मान्छेको एकदमै आधारभूत समस्या हो । ईश्वरभन्दा पनि महत्त्वपूर्ण समस्या हो, सेक्स । किनभने, मानिसका लागि ईश्वर त एक कोरा शब्द हो केवल, तर सेक्स एक वास्तविकता हो जसको वरिपरि उसको जीवन घुमिरहेको हुन्छ । हजारौँ वर्षदेखि सेक्सलाई दबाउने शिक्षा दिइएको छ । यो दबाउने प्रक्रियामा हामी यति फस्न पुग्छौँ कि सारा जीवन यसलाई दबाउन र व्यवस्थित गर्न लागिपर्छौं । जब सेक्सका सपना आउँछन्, जब कमजोर क्षणमा सेक्स अभिव्यक्त हुन्छ, हामी भयभीत हुन्छौँ ।

तथाकथित साधुहरू किन कम सुत्ने कोसिस गर्छन् ? सेक्सका सपना नआऊन् भन्नका लागि । यसको अरू कारण छैन । किनभने, उनीहरू सपनादेखि डराउँछन् । निद्रा लागेपछि सपना आउँछन् र सपना तिनै चिजका आउँछन् जसलाई दिनभरि दमन गरिएको थियो । सपनाको डरले साधुहरू कम निदाउने कोसिस गर्छन् । यो पनि कुनै उपाय हो ? उपाय त यो हुनुपथ्र्याे- सपनाले जुन कुराको सूचना गरेको छ, त्यसको हल गर्नु । समस्यालाई समाधान गर्ने होइन, दबाउने उपाय गर्छन् । समाधान के हो त ? समाधान हो- चित्तको दमन नगर्नु, चित्तका वृत्तिप्रति कुनै दुर्भाव नराख्नु ।

मानिसको संस्कृतिमा सबभन्दा खतरनाक कुरा भनेको सेक्सप्रतिको दुर्भाव हो, सेक्सप्रति शत्रुताको भाव । तपाईं कल्पना गर्न सक्नुहुन्न, यो एक केन्द्रीय कुराले सिंगो जीवनलाई विषाक्त बनाइदिएको छ । सेक्समा के खराबी छ ? सेक्स त जीवनको जन्म हो । सेक्स सिर्जनशीलताको नियम हो । यही कामबाट त सारा जीवन विकसित हुन्छ । पशुपक्षी, बोटबिरुवा, मानिसका जीवन यही केन्द्रीय ऊर्जाबाट जन्मिन्छन् र विकसित हुन्छन् । सेक्सको शत्रु बन्नाले हामी आफूलाई नष्ट गर्नुबाहेक अरू केही हासिल गर्न सक्दैनौँ । जीवनको यस उद्गमप्रति हाम्रो मनमा दुर्भाव छ भने जीवनप्रति नै हाम्रो दुर्भाव छ । र, यस दुर्भावका दुष्परिणाम देखिन सुरु हुन्छ ।

सेक्सको निन्दा गर्ने परम्परा मानिसका शत्रु हुन् । सेक्सप्रति सम्मानको भावना हुनु जरुरी छ । जीवनको केन्द्र, जीवनको स्रेातप्रति कसरी असम्मानको भावना राख्न सकिन्छ ? हामी आमाबाबुको सम्मान गर्छाैं । यो सम्मानको भावना त्यतिवेलासम्म झुटो हुनेछ जतिवेलासम्म हाम्रो मनमा सेक्सप्रति सम्मानको भावना हँुदैन । आमाबाबुलाई सम्मान गर्नुको कारण के हो ? किनभने उनीहरू जन्म दिने सूत्र हुन् । उनीहरू जन्म दिने सूत्र किन र कसरी भए ? आमाबाबुप्रति सच्चा आदर र प्रेम त्यतिखेर मात्र हुन सक्छ, जब सेक्सप्रति हामी आदर र प्रेम व्यक्त गर्छौं ।

पत्नी पतिलाई कसरी आदर र प्रेम गर्न सक्छे जब ऊ सेक्सप्रति निन्दा र शत्रुताको भाव राख्छे । पति पत्नीलाई कसरी आदर गर्न सक्छ जब कि ऊ ठान्छ- स्त्री नरकको द्वार हो, यही हो उसलाई सेक्समा लैजाने उपकरण, पापमा लैजाने उपकरण । पापमा लैजाने उपकरणलाई कसरी आदर दिन सक्छ

उसले ? सन्तान आमाबाबुलाई कसरी आदर गर्न सक्छन्, आमाबाबु सन्तानलाई कसरी आदर गर्न सक्छन् ? जब कि उनीहरू सेक्सका बाइप्रोडक्ट हुन् । हाम्रो जीवन अनादरले भरिएको छ, घृणा र क्रोधले भरिएको छ, किनभने सेक्सप्रति हामी आदरभाव राख्दैनौँ । र जबसम्म, यो आदरको भाव पैदा हुँदैन, मानिसको जिन्दगीमा शान्ति छाउँदैन ।

जीवनको सबभन्दा ठूलो सत्यप्रति किन अनादरको भाव ? अहिले यहाँ मंगलग्रहबाट कोही आयो भने सबभन्दा पहिले तपाईंको दिमागमा के कुरा आउँछ ? सबभन्दा पहिले तपाईं के जान्न चाहनुहुन्छ ? यही कि ऊ स्त्री हो या पुरुष । किन ? यही तथ्य सबभन्दा पहिले मनमा आउनुको कारण ? किनभने मानिसको सम्पूर्ण व्यक्तित्वको विकास सेक्सको केन्द्रमा हुन्छ । यस केन्द्रलाई झुुटो तुल्याउन खोज्नुको अर्थ छैन । यसलाई हामी जति झुटो सावित गर्न खोज्छौँ, यो त्यति तीव्र प्रकट हुन खोज्छ । त्यसपछि दमन सुरु हुन्छ र हामी बिरामी बन्छौँ । जीवनका तथ्यलाई स्वीकार गर्ने क्षमता हुनुपर्छ, हामीमा । मेरा दृष्टिमा सेक्स केन्द्र हो, जीवनको । र, यसप्रति हाम्रो मनमा उच्च सम्मान-भाव जरुरी छ । सेक्सप्रति जति धेरै आदरभाव राख्नुहुन्छ, तपाईं सेक्सुआलिटी -कामुकता)बाट त्यत्ति नै मुक्त हुँदै जानुहुनेछ । जति घृणाभाव हुन्छ, त्यति दमन हुन्छ र दमनले कामुकता पैदा हुन्छ ।

चित्तलाई बदल्ने विज्ञान अर्कै छ । हजारौँ वर्षदेखि हामी जसलाई चित्त बदल्ने विज्ञान सम्झिरहेका छौँ, त्यो विज्ञान होइन । र, हामीले सारा मानव जातिलाई रोग आक्रान्त पारिदियौँ । मुठ्ठीभरका केही मानिसले मनुष्य जातिलाई गलत बाटोमा बेहिसाब हिँडाइदिए । हजारौँ वर्षदेखि यही बाटोमा हिँडिँदै आएकाले आज हामीलाई यही बाटो सही लाग्न थालेको छ । बच्चाको मनमा हामी सेक्सप्रति घृणा पैदा गरिदिन्छौँ, भय पैदा गरिदिन्छौँ, मानौँ सेक्स जीवनको हिस्सा नै होइन । बच्चा जब सोच-विचार गर्न सुरु गर्छ हामी भएभरका पर्खाल ठड्याउन सुरु गर्छौं, ताकि उसलाई थाहा नहोस् । तर, जीवनको तथ्यबाट उसलाई बेखबर राख्न कहाँ सकिन्छ र ? उसले थाहा पाएरै छाड्छ । तपाईंका कुनै उपायले उसलाई रोक्न सक्दैन । र, जब तपाईं उसलाई निषेध गर्नुहुन्छ, रोक्नुहुन्छ, उसको मनमा रस पैदा हुन थाल्छ, उत्सुकता पैदा हुन थाल्छ, कुण्ठा पैदा हुन थाल्छ । 'यसलाई किन लुकाउन खोजिँदै छ, यो कस्तो रहस्य हो,' उसले धुइँपताल खोजिनीति गर्न थाल्छ । गलत बाटो समाउन पुग्छ । सेक्सदेखि भयभीत हुन्छ । सेक्सप्रति उसको मनमा हामीले घाउ पैदा गरिदियौँ । अब ऊ जीवनभरि यो घाउ लिएर बाँच्नेछ । यसबाट छुट्कारा पाउन सक्दैन । हामीले बच्चालाई सेक्ससम्बन्धी सारा तथ्य प्रस्ट बतायौँ भने उसमा यो घाउ पैदा हुन पाउँदैन । ऊ कहिल्यै डराउने छैन । ऊ जीवनको केन्द्रीय शक्तिलाई कहिल्यै अस्वीकार गर्ने छैन । उसको मन स्वस्थ रहनेछ ।

सेक्सको भावनमा प्रवेश गर्नु मन्दिरमा प्रवेश गरेजति पवित्र हुनुपर्छ । सेक्सप्रतिको निन्दाका कारण पति-पत्नी एक-अर्काका शत्रु भएका छन्, मित्र होइन । मित्रता कसरी होस् त ? उनीहरूलाई जोड्ने सेतुप्रति नै उनीहरूको गलत भाव छ । र, यस शत्रुतामा बच्चा जन्मिन्छन् । यसरी जन्मिएका बच्चा सुन्दर र श्रेष्ठ हुन सक्दैनन् । तनाब र द्वन्द्वबाट पैदा भएका बच्चा कसरी सुन्दर र श्रेष्ठ हुन सक्छन् ? पापग्रस्त र भयभीत बाबुआमाका चित्तका छाप बच्चामा देखिन्छन् । जुन दिन पति-पत्नी सेक्सको क्षणलाई पवित्रतम र प्रार्थनाको क्षण ठान्नेछन्, त्यसपछि उनीहरूबाट जन्मिने बच्चा एकदम फरक र श्रेष्ठ हुनेछन् । त्यतिखेर हामी एक अलग प्रजातिको जन्मदाता हुन सक्छौँ ।

बच्चाहरू रोगग्रस्त चित्त लिएर जन्मन्छन् । र, समाजले यस रोगलाई बढाउन थप मलजल गर्छ । यस रोगको शोषण गर्ने केही मानिस हुन्छन् । यी सारा फोहोरी फिल्म, फोहोरी चित्र र फोहोरी वातावरण सेक्सका प्रति भ्रान्त धारणाका प्रतिक्रिया हुन् । जुन समुदाय सेक्सबाट धेरै भयभीत छ, त्यही समुदायमा कामुकता अत्यन्त प्रवल हुन्छ । तर, हामी तथ्यलाई स्वीकार गर्न चाहँदैनौँ । हामी विचार गर्न चाहँदैनौँ, सोच्न चाहँदैनौँ । सेक्सका सम्बन्धमा हाम्रो धारणा अब परिवर्तन हुनैपर्छ ।

सेक्सलाई निन्दा गर्छाैं, घृणा गर्छाैं, यसबाट भयभीत हुन्छाँै र जब भित्रबाट धक्का आउँछन्, चोट आउँछन्, हामी बहकिन्छौँ । बहकिए पनि पीडा हुन्छ, नबहकिए पनि पीडा हुन्छ । र, मान्छे संसारबाटै छुट्कारा प्राप्त गर्न चाहन्छ । किनभने यो संसार उसलाई एकदम गडबड लाग्न थाल्छ । संसार गडबड छैन, यसलाई हामीले यस्तो बनाइदियौँ । संसार त आनन्दले भरिपूर्ण छ, रसमय छ । तर, हामीले सबै रसलाई विकृत तुल्याइदियौँ । हामी पागल भएका छौँ । र, यस पागलपनको केन्द्रमा कामवासना बसेको छ । पागलहरूको अध्ययनबाट प्रस्ट हुन्छ कि नब्बे प्रतिशत पागल सेक्सको रोगका कारण पागल भएका हुन्छन् । जसको जीवन डाँवाडोल हुन्छ, त्यसको कारण पनि सेक्स नै हुन्छ ।

हामी गलत नतिजा निकाल्छौँ । देख्छौँ- सारा मानिस सेक्सका कारण तनाबग्रस्त छन् र नतिजा निकाल्छौँ- सेक्सलाई जीवनबाट हटाउनुपर्छ, खत्तम गर्नुपर्छ । एउटा गाउँमा एक व्यक्ति मदिरा-निषेध आन्दोलन चलाइरहेको थियो । एउटा सभामा ऊ गाउँलेलाई भाषण दिइरहेको थियो- रक्सी खराब चिज हो । यसले जीवन नष्ट गर्छ । गाउँमा कसको श्रीमती सबभन्दा राम्रो लुगा लगाउँछे ? भट्टी मालिकको । कसकी श्रीमती सबभन्दा महँगा गहना लगाउँछे ? भट्टी मालिकको । र, कसको पैसाले ऊ सानदार जीवन बाँचिरहेकी छे ? तपाईंहरूको पैसाले ।' सारा गाउँले जम्मा भएका थिए, त्यहाँ । सभा सकिएपछि एकजनाले उसलाई भन्यो- 'म तपाईंसँग सोह्रै आना सहमत छु । तपाईंले मेरो मन बदलिदिनुभयो ।' मदिरा-निषेध आन्दोलन चलाउनेले प्रसन्न भएर उसलाई अँगालो हाल्यो र सोध्यो- 'त्यसोभए, तपाईंले रक्सी छाड्ने विचार गर्नुभयो ?' 'होइन, होइन,' मन बदलिएको मान्छेले भन्यो, 'मैले अब भट्टी खोल्ने विचार गरेँ ।'

सिग्मन्ड प|mायड पत्नी र बच्चाको साथमा भियनाको एक पार्कमा घुम्न निस्केका थिए । साँझपख घर फर्किने वेला छोरा नदेखेपछि प|mायडकी पत्नी झसंग भइन् । एकछिन अघि उनीहरू नजिकै खेलिरहेको छोरो गायब भएको थियो । प|mायडले पत्नीलाई सोधे- तिमीले उसलाई यस पार्कको कुनै ठाउँमा नजानू भनेकी थियौ ?' उनले भनिन्, 'पानीको फोहरा भएको ठाउँमा नजानू भनेकी थिएँ ।' 'त्यसो भए,' प|mायडले निर्धक्क भने, 'ऊ त्यहीँ भेटिने उनान्सय प्रतिशत सम्भावना छ ।' प|mायड दम्पती फोहरा भएको ठाउँमा पुगे । नभन्दै, प|mायडपुत्र फोहरा हेर्दे आनन्द लिइरहेको थियो । प|mायडकी पत्नी चकित परिन् र सोधिन्, 'ऊ यहाँ छ भन्ने कुरा तपाईंले कसरी जान्नुभयो ?' प|mायडले भने, 'जुन कुरालाई निषेध गरिन्छ, त्यसप्रति मान्छेको तीव्र आकर्षण हुन्छ । त्यसैले तिमीले नजानू भनेको ठाउँमा छोरो गयो ।'

निषेधले आकर्षण पैदा गर्छ । निषेधले विकृति पैदा गर्छ । र, विकृतिले आकर्षण समाप्त पारिदिन्छ । स्वीकार गर्ने साहस हुनुपर्छ । तथ्यहरूलाई हेर्ने दृष्टिकोण वैज्ञानिक हुनुपर्छ । तथ्यलाई स्विकारेपछि एक शक्ति प्राप्त हुन्छ जसले हामीभित्रको निषेधको रोगलाई समाप्त गर्न सक्छ ।

म यस गाउँमा आएको छु । 'फलानो-फलानो ठाउँमा ओशोको प्रवचन छ, ती ठाउँमा आउन मनाही छ' भन्ने आशयको केही पोस्टर टाँसिदिनुभयो भने मानिस जसरी पनि ती ठाउँमा आइपुग्छन् । किनभने निषेधित कुरा जति आकर्षक अरू केही हुँदैन ।

सेक्सको विरोधमा खडा नहुनुहोस्, यसलाई स्वीकार गर्नुहोस् । सेक्सलाई जान्न खोज्नुहोस्, बुझ्न खोज्नुहोस् । यो एकदमै गहिरो वृत्ति हो । सेक्सको गहिराइमा नपुगी यसबाट मुक्त हुन सकिँदैन । प्रेम सेक्सको रूपान्तरण हो । कामुक मान्छे प्रेमी हुन सक्दैन ।

(ओशो रजनीशको एक प्रवचनको अंश)

No comments:

Post a Comment