काठमाडौं, साउन २१ (नागरिक) एमालेसहित संविधानसभामा प्रतिनिधित्व गर्ने १८ राजनीतिक दलले प्रधानमन्त्रीका दुवै प्रत्यासीलाई सहमतिको नयाँ प्रक्रियाका लागि उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। प्रधानमन्त्री निर्वाचनका क्रममा देखिएको विकृत, अमर्यादित र अराजनीतिक क्रियाकलापप्रति पनि बैठकले खेद प्रकट गरेको छ। बिहीबार १८ दलको संयुक्त बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा सहमतिको नयाँ प्रक्रियाका लागि दुवै उम्मेदवारलाई ढोका खोल्न आह्वान गरिएको छ।
तीनपटकको प्रधानमन्त्री निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत जुटाउन नसकेको प्रसंग उल्लेख गर्दै विज्ञप्तिमा यसरी बन्ने सरकारले शान्ति र संविधानको सुनिश्चितता गर्न नसक्ने निष्कर्ष उल्लेख छ। 'बहुमतीय सरकारले शान्ति र संविधानको सुनिश्चितता गर्न नसक्ने बताउँदै सहमति सरकारका लागि ढोका खोल्न दुवै उम्मेदवारलाई आग्रह गरेका हौँ,' नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले भने।
चौथो चरणको निर्वाचनको पूर्वसन्ध्यामा बैठकले गैरसंसदीय अभ्यास रोक्न आग्रह गरेको छ। बैठकले माओवादीलाई लडाकु भर्ना प्रक्रिया रोक्न पनि आग्रह गरेको छ।
बैठकमा मधेसी मोर्चाका चारै दल सहभागी थिए। मधेसवादी दलले बैठकमा शुक्रबारको निर्वाचनमा कसैको पक्ष नलिई तटस्थ बस्ने जानकारी गराएका थिए। बिहीबारको बैठकमा संविधानसभामा रहेका जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल, जनता दल र राष्ट्रिय जनमोर्चा सहभागी थिएनन्।
Thursday, August 5, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment