Sunday, August 8, 2010

'माओवादी विकृतिको नेता’

प्रधानमन्त्रीका निम्ति चौथो चरणको चुनावसगै आफ्नो पार्टी फुटेपछि माले महासचिव सीपी मैनाली आक्रोशित छन् । मतदान हुन केही घन्टाअघि नौ सदस्यमध्ये चार जनाले नेकपा माले-समाजवादी पार्टी जन्माए । मैनाली माओवादीको योजना र षडयन्त्रमा विभाजित भएको ठहरमा छन् । प्रधानमन्त्री चुनाव र पार्टी विभाजनबारे मैनालीसँग कान्तिपुरका हरिबहादुर थापाले गरेको कुराकानी ।
परिणामविहीन प्रधानमन्त्रीय चुनावसँगै संसद्मा 'फ्लोर क्रस’ गर्ने क्रमसँगै तपाईंको त पार्टी विभाजन हुन पुग्यो, यसको कारण के हो ?

पार्टीमा नीति र सिद्धान्तमा कुनै विवाद थिएन । फुटेर या चोइटिएर जानेको पार्टीमा कुनै व्यक्तिगत या सांगठनिक गुनासा थिएनन् । मतदान हुनु अघिल्लो दिन सहमतीय सरकार निर्माण गर्ने नीतिका सवालमा पार्टी केन्द्रीय कार्यालयमा अन्तरक्रियामा तिनबाट प्रश्न र विरोध केही आएको थिएन । मालेले राष्ट्रिय सहमतिको सरकारको नीति अवलम्बन गर्दै आएको हो किनकि विगतका पुष्पकमल दाहाल र माधवकुमार नेपालको बहुमतीय सरकारले सक्षमतापूर्वक संविधान लेखन, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सकेनन् । तीन ठूला दल, मधेसवादी, जनआन्दोलनका सहयात्रीसहित संविधानसभाका दलहरूको सद्भाव पाउनेले मात्र लक्षित निष्कर्षमा मुलुकलाई पुर्‍याउन सक्छ भन्ने हो । बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चुन्ने स्थिति आउँदा पनि मालेले सहमतिको राष्ट्रिय सरकार बन्न सक्छ भन्ने नीति लियो र यसलाई संविधान र कानुनले रोक्दैन । त्यसमा छाडेर जाने साथीहरूको कुनै मतभिन्नता थिएन ।

त्यसो भए पार्टीमा कुनै भिन्नता या असहमति नभईकन कसरी फुट्यो त ?

पहिलो चरणमा एमाले अध्यक्ष झलनाथ खनालले ४ सय १ मत पाए उम्मेदवारी दिन्छु भन्नुभयो, माओवादीले सर्तसहित समर्थन गर्‍यो भने हामीले पनि सहमतिको सरकार बन्ने सम्भावना देख्यौं र समर्थन गर्‍यौं । खनालको ४ सय १ नपुगी उम्मेदवारी फिर्ता लिनुभयो, हामीले कसैलाई मत हालेनौं । बहुमतीय सरकारको पक्षमा मत हालेका छैनौं । हामी सहमतीय सरकारलाई मत दिने नीतिमा अडिग थियौं चाहे जुनसुकै दलबाट आओस् । मतदानको अघिल्लो रात एकाएक रातिबाट साथीहरूको फोनसम्पर्क हुन छाड्यो, विभाजनमा लाग्नेहरूको मोबाइल 'स्विच अफ' थियो । उनीहरूले एकैचोटि बिहान दस बजे 'कथित' नेकपा माले -समाजवादी) दल गठन भएको जानकारी आयो ।

विभाजनमा बाह्य पार्टीको खेल हो भन्ने तपाईंहरूको ठहर हो ?

हो । गैरराजनीतिक तवरमा सरकार निर्माण गर्ने योजनासहित माओवादीकै योजनामा पार्टी विभाजन भएको हो । माओवादी सभासद् किनेर, तानेर, धम्क्याएर, झुक्याएर बहुमतीय सरकार निर्माण गर्ने खेलमा लागेको छ । ठूलो दलको नाताले सरकारको नेतृत्व गर्नु र सरकारमा जानु स्वाभाविक हो तर माओवादी विगतमा सहमति र समझदारी कार्यान्वयन गर्न चाहिरहेको छैन, हालैमा पनि उसले नेपाली सेनाको समकक्षीमा राखेर लडाकु भर्ती खोलेको छ । त्यही कारण दलहरूले उसलाई पत्याएका छैनन् । दाहाललाई हामीले पनि २०६५ साउनमा मत हालेर सरकारमा पठाएका हौं, त्यति बेला पनि उनी सहमति या समझदारीमा हिँड्न चाहेनन् । शान्तिसम्झौतालाई समेत उल्लंघन गरी उहाँले प्रधानसेनापति नियुक्ति काण्ड मच्चाउनुभयो । हरतरहले सरकार निर्माण गर्ने योजनामा अनेक तत्त्व लागिरहेका छन्, भोलि माओवादीको सरकार बन्यो भने तिनीहरूलाई अनेक लाभ दिलाउने उद्देश्यसहित प्रयोग गरिरहेका छन् ।

माओवादीकै भूमिकामा तपाईंहरूको पार्टी विभाजन सिकार बन्नुपर्‍यो, होइन त ?

माओवादीकै योजनामा विभाजन भएको हो । जो माओवादीको फेर समातेर सरकारमा पुग्न चाहन्छन्, त्यसमा त्यतिखेर दक्षिणपन्थी तत्त्वहरूसमेत सामेल छन् र तिनले लगानी गरेका छन् । शाही परिवारका सदस्य पनि लगानी गर्न उत्रेका छन् । सभासद्को संख्या माओवादीको पक्षमा उभ्याएर त्यसबापत् मन्त्री सिट पाउने प्रलोभनमा लागेका छन् । यसरी माओवादीको बहुमत प्राप्त गर्ने उद्देश्य, कुनै व्यक्ति या समूहको पैसाको प्रभावमा मालेभित्र पनि विभाजनको नाटक रचियो । पार्टीका कृतघ्न व्यक्ति जगत बोगटी र केन्द्रीय सदस्य विष्णु अर्यालले पार्टीका सोझासाझा सभासद्लाई फकाएर, पैसा र पदको लोभलालचमा पारी पार्टीमा विचलन ल्याए ।

पार्टी विभाजनमा भएको खेललाई मालेले कसरी लिएको छ ?

हामी यो क्रियाकलापको निन्दा गछौर्ं । मतभिन्नता या सहमति नहुँदा राजनीतिक ढंगमा पार्टी छाड्न पाइन्छ । हाम्रो पार्टीमा सहमति हुँदाहुँदै पनि रातारात गोप्य षड्यन्त्र गरी जुन कृत्य गरेका छन् त्यो निन्दनीय छ । राजनीतिक पार्टी भएपछि षड्यन्त्र गर्नु हुँदैन । यस्तो षड्यन्त्रकारी प्रवृत्तिप्रति हरेक पार्टी सजग हुनुपर्छ । राजनीतिक कारणले भन्दा पनि पैसापद लोभ र आश्वासनमा जसरी पार्टी चोइट्याउने प्रयत्न भएको छ, यो अत्यन्त खेदजनक छ । यो पार्टीमा सिद्धान्त र आस्थाको राजनीति समाप्त पारेर पद, प्रतिष्ठा र पैसाको आधारमा पार्टी बदल्ने, पmलोर क्रस गर्नेजस्ता क्रियाकलाप अराजनीतिक हुन् ।

संसदीय कालखण्डक्रै विकृतिको पुनरावृत्ति हो ?

त्योभन्दा पनि महाविकृति उत्पन्न हुँदै छ । संसदीय कालखण्डमा धेरै विकृति/विसंगति आयो र जनतामा वितृष्णा पैदा हुन गयो । राजनीतिक सुधारकै उद्देश्यसहित संविधानसभा निर्माण भयो । हामी समानता, शोषण, उत्पीडनमुक्त, एकताबद्ध तथा सुदृढ नयाँ नेपालको खाका कोर्न भेला भएका छौं । यस्तो अवस्थामा पुरानो विकृतिले अझ भयंकर रूप धारण गरेको छ, यसमा सबभन्दा ठूलो दल लाग्नु चिन्ताको विषय बनेको छ ।

माओवादी जो संसदीय विकृतिको घोर आलोचक हो, उसैबाट यस्तो क्रियाकलाप कसरी हुन सक्छ ?

सत्तामा जान खोज्नु र बहुमत प्राप्त गर्न खोज्नु अपराध होइन तर त्यो राजनीतिक ढंगमा हुनुपर्छ । क्रान्तिकारी ठान्ने, मूल्यमान्यताको वकालत गर्ने, देशभक्त ठान्ने र हजारौंको बलिदानीबाट आएको पार्टी यस्तो कुकृत्यमा संलग्न हुनु नसुहाउने दृश्य हो । नयाँ नेपाल निर्माण गर्ने संविधानसभामा यस्तो फोहोरी दृश्य प्रवेश गराउनुले उसको नियत शंकास्पद बनेको छ । यदि यस्ता विकृति रोक्न माओवादी लाग्दैन भने उसको पनि अवसान हुनेछ । म माओवादीलाई खबरदारी गर्न चाहन्छु कि सत्ताप्राप्तिको महत्त्वाकांक्षा पूर्ति विकृतिको घोडा नचढ्नुस् । माओवादी सत्ताप्राप्तिका निम्ति अन्धो भएको छ र सबै दलमा खेल्न चाहन्छ । ऊ मधेसवादी दलमा पmलोर क्रस गराइसकेको छ । माओवादी विकृतिको नेता बनेको छ ।

पार्टी विभाजित भएपछि अबको रणनीति के हुन्छ ?

पार्टी फुट्यो भन्दा पनि पार्टी फुटाउन जुन तरिका अपनाइयो त्यसले चिन्तित तुल्याएको छ । फुटलाई पनि शक्तिमा बदलेर अघि बढ्छौं तर सबभन्दा दुःखको कुरा सबभन्दा ठूलो कथित जनवादी, क्रान्तिकारी, देशभक्त पार्टीबाट फोहोर बगाउने काम भएको छ यसले लोकतन्त्रकै विनाश गर्नेछ ।

२०५० मा पार्टीको 'हि्वप’ विपरीत गएर राष्ट्रियसभा सदस्य बनाउनुभएको जगतबहादुर बोगटीले पनि धोका दिनुलाई के ठान्नुहुन्छ ?

हो, त्यतिबेला मैले सीमा नाघेर पनि उनलाई सहयोग गरेको थिएँ । त्यसबापत् मैले आलोचित हुनुपर्‍यो । २० गते मात्रै पनि कुराकानी हुँदा बोगटीले भनेका थिए- 'कमरेड, पार्टीको राष्ट्रिय सरकार बनाउने नीति छाड्नु हुन्न । नीतिमा सोह्रैआना सहमत छु, तलमाथि गर्नु हुन्न ।' भोलिपल्ट मालेको पिठ्युँमा छुरा हान्नुभयो ।

तर तपाईंमाथि गुटबन्दी गरेको आरोप लगाएका छन् नि त ?

पार्टीमा सिद्धान्त, रणनीतिमा कुनै मतभिन्नता थिएन । रत्तिभर गुट छैन । सुरुमा लोकतन्त्र बहालीपछि ऋषि कट्टेल, टंक राई गएका थिए । कसैको उचलाइ र केही राजनीतिक सिद्धान्तको कुरा पनि थियो तर यसपालि पूर्णतः अराजनीतिक तवरमा जाने रेडिमेड तवरमा आरोप लगाउनुको कुनै अर्थ छैन ।

प्रधानमन्त्री चयन हुन नसक्दा मुलुकमा निराशा बढ्दो छ, कसरी निकास निस्कन्छ ?

अब निष्परिणाम चुनावमा जानु हुन्न । सहमतिको सरकार निर्माण गर्न माओवादी तयार भएन भने अन्य दलले कसरी निकास दिने हो त्यो सोच्नैपर्छ । एमाले र मधेसी दलले देशलाई बन्धक बनाउने काम गर्नु हुन्न । जनतालाई निराश पार्नु हुन्न । माओवादी सहमतिमा आउनुपर्छ, आउनुपर्छ, आउनुपर्छ, आएनन् भने विकल्पको बाटो खोज्नुपर्छ ।

अब तटस्थ बस्नु हुन्न भन्ने हो ?

अब कि त बाटो बदल्नु कि त पहिल्याउनुपर्‍यो । (ekantipur)

No comments:

Post a Comment