Saturday, August 14, 2010

'त्यो दिन आउँछ'

— मुनिदेवी दमाइ, कैलाली—
मलाई छिमकीहरुले बोक्सी भन्न थालेको आठ वर्ष भयो। छिमेकीहरुको यो आरोपसँग जुध्दै जाँदा मैले बुझेँ-बोक्सी भनेका गरिब हुँदारैछन्, दलित हुँदारैछन्, अनि म जस्तै बेसाहारा हुँदारैछन्।
सानै छँदा बोक्सीले जादुटुना गरेर मान्छेमाथि कपट गर्छन् भनेको सुनेकी थिएँ। फलानीलाई बोक्सी लाग्यो रे
भन्ने हल्ला पनि चल्थ्यो। त्यसैले होला दिमागमा बोक्सीहरु डरलाग्दा र जे चाह्यो त्यही गर्न सक्ने हुन्छन् भन्ने छाप परेको थियो। तर ४० वर्षको उमेरमा, एकदिन अचानक यही समाजले मलाई नै बोक्सी भन्यो। दिउँसो गहुँ काट्न बारीतिर जानलाग्दा छिमेकीले 'दिदी, यता आऊ, कुरा गरौं' भनेर बोलाए। उनी भएतिर जाँदैथिएँ, एक्कासी भाटाले टाउकामा हिर्काए। लडेपछि लातैलातले छातीमा हाने। 'तँ बोक्सी' भन्दै मुखमा दिशा कोच्याए। त्यसपछि मैले होशै पाइनँ।
म बिउझँदा धनगढी अस्पतालको ओच्छ्यानमा थिएँ। घरनजिकै बस्ने चन्द्र विकले अस्पताल पुर्‍याउनुभएछ। ऐनामा अनुहार हेरेँ। मुखैभरी घाउ नै घाउ। आफ्नो अनुहारसँग आफैंलाई डर लाग्यो। त्यसबेला म रगत दिशा गर्ने र रगत नै वान्ता गर्ने अवस्थामा थिएँ। के म साँच्चै बोक्सी भएँ त ? छिमेकीले किन मलाई बोक्सी देखे ? मैले धेरै सोचें, तर जवाफ पाइनँ।
१५ दिनपछि घर फर्कंदा गाउँ पहिले जस्तो थिएन। मान्छेहरु मलाई आँखा तरेर हेर्थे, आपसमा मुखामुख गर्थे। बोल्न कोही आउँदैनथे। अहिले पनि "यो बोक्सी हो, यसले भेद्न सक्छे" भनेर छिमेकीहरु तर्किन्छन्। तर कसैलाई भेद्न सक्ने भए, मलाई दिसा खुवाउनेलाई मैले छाड्थेँहुँला र ? मनभरी रिस त छ, तर मलाई मरणासन्न तुल्याउनेहरुलाई तह लगाउने मन्त्र मसँग आज पनि छैन।
दुई बर्षअघि प्यास लागेकाले बाटैछेउको एउटा घरमा नल देखेर पानी पिउन पसेँ। ठकुरीको घर रहेछ। 'तँ बोक्सी, डुमिनी, मेरो धारा छुने' भन्दै लछारपछार गरी कुटे। प्रहरीले उसलाई समाते पनि एकजना सभासद्ले तुरुन्तै छुटाइदिए। पछि उल्टै उसले मेरा छोराहरुलाई गुण्डागर्दी गरेको आरोपमा थुनायो।
"तँ माथि अन्याय भयो" भनेर त गाउँमा धेरैले भने। तर सहयोग गर्ने कोही नभएपछि मैले न्याय खोज्न सकिनँ। अझैपनि पूर्व पश्चिमतिर महिलालाई बोक्सी भनेर जलाइयो, कुटियो भन्ने खबर सुन्छु। उनीहरु पनि मजस्तै गरिब्, दलित अनि म जस्तै बेसाहारा होलान् भनी सोच्छु। अचेल म ठोकरै भन्न सक्छु, "म धनी भएकी भए बोक्सी हुन्नथेँ।"
तीनका जग्गाको कमाईले गुजारा नचलेपछि पहिले श्रीमान् इण्डिया जान्थे। आँखा कमजोर भएपछि उनी थला परे। कमाउन इण्डिया गएको जेठो छोरोलाई उतै बैरीले मारिदियो। बोक्सीको आरोप लागेपछि गाउँमा काम दिन गाह्रो मान्छन्। त्यसैले काम खोज्न टाढाका गाउँसम्म पुग्नुपर्छ।

आठ बर्षको यो भोगाइले सानी छँदा बनेको बोक्सीप्रतिको मेरो धारणा चोइटिएर गएको छ। बोक्सी भनेको धनी र कुनियत भएकाहरुले लाउने आरोप मात्रै हो। यो आरोप सधैं गरीब र पेटभरि खानै नपाउने आइमाइलाई लगाइन्छ।

अहिले म हिजो जस्तो एक्लै छैन। कान्छो छोरो र छोरी हुर्किसकेका छन्। यहाँका पनि केही मान्छेले मेरो पीरव्यथा बुझेका छन्। उनीहरुको ढाडसले मभित्र दह्रो आँट आएको छ। दुःख-कष्ट र छिःछि-दुरदुर हुँदा पनि मैले गाउँ छाडिनँ। किनभने, तिनै मान्छेको साथ-सहयोगले मभित्र विश्वास जगाइदिएको छ-एकदिन सिंगो समाजले मलाई 'मुनी दिदी, तिमीमाथि अन्याय भयो' भन्नेछ। म आफ्नै टोलछिमेकमा शिर ठाडो पारेर हिँड्न सक्नेछु। र; मलाई विश्वास छ, त्यो दिन पक्कै आउँछ। (nagariknews)

No comments:

Post a Comment