Friday, August 6, 2010

माओवादी मिथिला राज्य समितिका ७२ सदस्यद्वारा सामुहिक राजीनामा

सुरेश यादव, जनकपुर, साउन २२-राज्यसमितिको निर्णय विपरित माओवादीले रिक्त दुई सभासदमा नियुक्ति गरेको विरुद्ध धनुषा र महोत्तरीका पार्टी जिल्ला इन्चार्ज सहित मिथिला राज्य समितिका ७२ जना सदस्यले शुक्रवार सामुहिक राजीनामा गरेका छन्।

नेकपा माओवादी र जनमोर्चा नेपालको एकीकरण लगतै पार्टीबाट बाहिरिएर पुरानै पार्टी नेकपा माओवादीको पुनर्गठनमा लागेका सभासद मातृका यादव र जगत यादवको पद अदालतले खारेजी गरेपछि पार्टीले धनुषाबाट मनोनित सभासद मातृकाको स्थानमा फरमुद नदाफ र सिरहाबाट मनोनित जगत यादवको स्थानमा रामकुमार पासमानलाई नियुक्त गरेको छ।
पार्टीको मिथिला राज्य समितिको निर्देशनमा जिल्ला कार्यसमितिले उक्त पदका लागी धनुषाबाट सिफारिस गरेको शहिद पत्नी तारादेवी महतोलाई बेवास्ता गरी केन्द्रिय कार्यसमितिले अन्यलाई मनोनित गरेको भन्दै यहाँका नेता, कार्यकर्ताले सामुहिक राजीनामा दिएका हुन्।

सभासदमा नियुक्त भएका नदाफ पार्टीमा शान्ति प्रक्रियामा आइसकेपछि मात्रै प्रवेश गरेको भन्दै पार्टी हितकै लागी पतिको ज्यान गुमाएकी मधेशी राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रिय सचिव समेत रहेकी तारादेवीलाई बेवास्ता गरी पार्टीले जिल्ला र राज्य समितिको निर्णयलाई उल्टाएको विरुछ आफुहरुले राजीनामा दिएको धनुषा इन्चार्ज रोशन जनकपुरीले बताए। उनका अनुसार जिल्ला कार्यसमितिले गरेको निर्णय विहीवारै राज्यसमितिका संयोजक मार्फत केन्द्रमा पठाइएको थियो।
पार्टीको यो निर्णय विरुद्ध धनुषाका इन्चार्ज रोशन जनकपुरी, महोत्तरीका इन्चार्ज महादेव यादव, पार्टीका केन्द्रिय सल्लाहकार असर्फी भिन्वार लगायत दर्जनौ नेता कार्यकर्ताले शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी सामुहिक राजीनामा दिएका छन्। उनीहरुले पार्टीले यो निर्णय सुधार नगरेसम्मका लागी साधारण सदस्य रहने गरी सम्पुर्ण पदीय जिम्मेवारी त्याग, केन्द्र तथा राज्य समितिको सम्पुर्ण कार्यक्रम वहिष्कार र जिल्ला कार्यसमितिको यो निर्णय नमान्ने स्थानीय अन्य नेताहरुलाई समेत वहिष्कार गर्ने निर्णय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्। (nagariknews)

No comments:

Post a Comment