Tuesday, April 27, 2010

सुडानमा २१ नेपाली बन्धक

सन्तोष घिमिरे नयाँ पत्रिका काठमाडौं, १२ वैशाख गैरकानुनी रूपमा सुडान पुगेका २१ नेपाली बन्धकका रूपमा काममा लगाइएका छन् । नेपालले सुडानमा रोजगारीका लागि जाने स्वीकृति नदिए पनि दलालहरूले उनीहरूलाई भारतको बाटो दुबई हुँदै सुडान पुर्‍याएका हुन् ।


दलालको फन्दामा परेर विभिन्न जिल्लाका २१ नेपाली तीन महिनाअघि सुडान पुगेका हुन् । सुडान पुर्‍याइएपछि फ्रेस सोप फ्याक्ट्रीमा दलालले काम मिलाइदिएका थिए । काठमाडौंमा मासिक पाँच सय अमेरिकी डलर तलब दिने सर्त राखिएको थियो तर सुडानमा एकदेखि दुई सय डलर मात्र दिइएको छ ।

थोरै पैसामा अप्ठ्यारो काममा लगाइएपछि नेपाली फिर्ता आउन खोजेका छन् । तर, कम्पनीले कारखानाभित्रै थुनेर काममा लगाइरहेको उनीहरूको गुनासो छ । उनीहरूको मोबाइलसमेत कब्जामा लिएर कम्पनीले पेटभरि खानासमेत नदिएको परिवारजनले जनाएका छन् । पीडित नेपालीले परिवार र राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलाई समेत सम्पर्क गरिसकेका छन् ।

'मानसिक र शारीरिक यातना दिइएको र सम्झौता गरेजति तलब नदिएको भन्दै सुडानबाट अच्युत विक र सञ्जीव परियारले हामीलाई सम्पर्क गरेका छन्,' राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका सदस्य अर्जुन शर्माले नयाँ पत्रिकासित भने, 'उनीहरूको जीवन नै खतरामा रहेछ, सरकारले पहल गरे उनीहरू रिहा भएर आउन सक्छन् ।'

त्यस्तै, परिवारजनले पनि उनीहरूलाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन् । नेपालीलाई झुक्याएर अलपत्र पारेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरे पनि कूटनीतिक प्रक्रिया अघि बढेको छैन । आफन्तहरूकै उजुरीका आधारमा काठमाडौंबाट भारतको बाटो हुँदै सुडान लैजाने पक्राउ परेका भुवनसिंह धामी, शेरबहादुर रसाइली र जयश्वर सुनार महानगरीय प्रहरी परिसर हनुमानढोकामा थुनामा छन् ।

भारतको बाटोबाट गैरकानुनी रूपमा खाडी मुलुक जाने नेपालीलाई भारतले मुम्बैमा रोक्न थालेपछि 'भिजिट भिसा' बनाएर बिदेसिने कामदारको संख्या ह्वात्तै बढेको छ । 'मानवतस्करी भइरहेको छ, यसमा गम्भीर रूपमा ध्यान दिइएको छैन,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, 'सुडान केसमा पनि त्यही भएको हुन सक्छ, सरकारले उचित ध्यान दिन आवश्यक छ ।' उनले श्रम, गृह र परराष्ट्र मन्त्रालयले संयुक्त संयन्त्र बनाएर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा राखिनुपर्ने सुझाब दिएका छन् । 'अहिले विभिन्न सञ्जालबाट नेपालमा रहेका नागरिकलाई यहाँका दलालकै सहयोगमा विदेश पुर्‍याउने गरिएको छ,' उनले भने, 'यसमा सरकारले ध्यान दिनुपर्छ ।' उनले विशेषगरी खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूमा त्यसरी गैरकानुनी रूपमा भागेर गएकाहरू पछि उद्धारमा पर्ने गरेको बताए ।

साहुले हैरान पारिसके - दीपा क्षेत्री
(दिनेश क्षेत्रीकी श्रीमती, स्याङ्जा)
स्याङ्जा, सतौं गाविस, वडा नं. ९, ठूलोस्वाँरा गएको माघ २४ गते २० जना साथीसहित काठमाडौंबाट उड्नुभएको हो । काम गर्ने ठाउँमा साहुले दुःख दिइरहेको छ, खान पनि दिएको छैन भनेर हामीसँग फोनमा भन्नुभएको थियो । अहिले त सम्पर्कसमेत भएको छैन ।

यहाँबाट दुई लाख ऋण लिएर जानुभएको हो । यहाँ साहुहरूले मलाई दिनदिनै घरमा आएर कराएर हैरान पारेका छन् । साह्रै दुःख भएको छ । आर्थिक अवस्था एकदमै कमजोर छ । एक हल लाग्ने मात्रै जमिन र एउटा घर छ । घरमा बूढाबूढी बा-आमा हुनुहुन्छ । उहाँहरू धेरै चिन्ता मानिरहनुभएको छ । छोरो कहिले आउला भनेर मलाई सोधिरहनुहुन्छ, तर मसँग कुनै जवाफ छैन ।

मेरा श्रीमान्ले जोसँग पैसा लिनुभयो, उनीहरूले पनि केही महिनाका लागि पैसा दिएका रहेछन् । साहुहरूले घर बनाउन लागेका रै'छन् । केही समयका लागि पो ऋण दिएको त सधैंका लागि कसरी दिन सकिन्छ भनेर उनीहरू कराइरहेका छन् ।

अहिले काठमाडौं पुगेर परराष्ट्र मन्त्रालयमा निवेदन दिएर फर्केका छौँ । त्यहाँका सरहरूले हामी पहल गर्छौं, नआत्तिनुहोला भन्नुभएको छ । तर, त्यति बिरानो मुलुकमा पुग्नुभएको छ । खै के हो ? रातभर निद्रा लाग्दैन ।

सरकारले पहल गरे छुट्थे : जीतबहादुर तामाङ
(शुक्र तामाङका जेठान, सिन्धुपाल्चोक)
गोंगबुमा भर्खरै नयाँ खोलिएको म्यानपावरबाट उहाँ जानुभएको हो । तर, नाम मलाई थाहा भएन । आर्थिक रूपमा जाने व्यवस्था मैले नै मिलाइदिएको हुँ । घरमा वृद्ध बुबा-आमा छन् । साधारण अध्ययन गरेको मान्छे हो मेरो ज्वाइँ । घरमा दाजु-भाउजू, श्रीमती र दुई छोरी छन् । उहाँले विदेश जानका लागि एक लाख ८० हजारजति खर्च गर्नुभएको छ । गाउँमा ऋण लिएर उहाँ त्यता लाग्नुभएको हो । काम भनेकोजस्तो पाइएन, पैसा दिएन, उल्टै बन्धक बनायो भन्नुहुन्थ्यो । मलाई गाह्रो भो भनेर अस्ति फोनमा भन्नुभएको थियो । घरको आर्थिक अवस्था एकदम कमजोर छ । दुबई हुँदै सुडान पुर्‍याएछ दलालले । सरकारले पहल गरे उनीहरू छुट्लान् कि भन्ने आशा छ ।

भान्जा बन्धकमा छन् : कुमार सापकोटा
(मामा, लक्ष्मण सुवेदी धादिङ, गुम्दी)
भाञ्जा बन्धकमा परेका छन् भन्ने खबर आएको छ, कुन अवस्थामा राखिएको छ- अत्तोपत्तो छैन । अहिले म पनि काठमाडौंमै छु । भाञ्जाको सुडानबाट रिहाइ गर्नका लागि पहल गर्न आएको हो । परराष्ट्र मन्त्रालय पनि गइयो । हेरौँ केही होला कि ?

सुडानमा बन्धक हुन बाध्य नेपालीहरू
नाम ठेगाना पासपोर्ट नम्बर

१) कुलप्रसाद सापकोटा बाग्लुङ ४४१०७०६
२) रामबहादुर क्षेत्री बाग्लुङ ४१३६४१९
३) मानबहादुर राना सुर्खेत ४६३९७७७
४) हरसिंह चुनारा सुर्खेत ४४७९४५२
५) अच्युत विक पर्वत ३२६०५१०
६) सञ्जीव परियार पर्वत ३२५९६१७
७) दिनेश क्षेत्री स्याङ्जा १९३७५२६
८) डम्बर परियार नवलपरासी ४१४७९३७
९) टीकाप्रसाद चौधरी नवलपरासी ४११३१०५
१०) शुक्र तामाङ सिन्धुपाल्चोक ४६३१३८१
११) बलबहादुर रानामगर धादिङ ४३४०२७५
१२) झंकबहादुर आले धादिङ ४२५९१२३
१३) भीमबहादुर राना धादिङ ४४५१७८२
१४) बोधबहादुर रानामगर स्याङ्जा ३१०२३०१
१५) दुर्गाबहादुर सुनार बाग्लुङ ३०६६९३१
१६) पदमबहादुर सुनार बाग्लुङ ४०३७२७६
१७) एकुवान गिरी खोटाङ ३४९६४०९
१८) नरबहादुर परियार बाग्लुङ ४५४६२०२
१९) लक्ष्मण सुवेदी धादिङ ३२६४४५२
२०) शम्भुप्रसाद भट्ट नवलपरासी ४६४५२९८
२१) हरि चमार नवलपरासी ४६४५३९६
भिजिट भिसाका नाममा मानवतस्करीः राजदूत पौडेल

कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले गैरकानुनी ढंगले दैनिक ५ देखि १० जना नेपाली महिला कामदार कुवेत पुग्ने गरेको बताएका छन् । उनले दूतावास भर्खरै खुलेको र उद्धार गर्न समस्या भएको पनि बताए । 'नयाँ खुलेको दूतावास भएकाले पर्याप्त स्रोत र साधन छैन,' उनले इमेलमा नयाँ पत्रिकासँग भने, 'गैरकानुनी रूपमा यता आउने कामदारलाई रोकिनुपर्छ ।'

पटक-पटक आफूले परराष्ट्र मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराएको तर त्यसप्रति ध्यान नदिइएको बताए । 'दिनदिनै गैरकानुनी रूपमा घरेलु कामदारका रूपमा कुवेत आउने नेपालीको संख्या बढिरहेको छ,' राजदूत पौडेलले प्रतिप्रश्न गरे, 'यसखालको मानवतस्करी भइरहँदा पनि किन सरकार मूकदर्शक बनेको हो ?' नेपालकै वैदेशिक रोजगार ऐनमा रहेका गलत कानुनी प्रावधान र अध्यागमनका प्रक्रियाहरूकै कारण कामदारहरू घरेलु कामदारका रूपमा विदेश गइरहेको पनि उनले बताए ।

मरूभूमिमा गाईका बथान

दिनेश रेग्मी अल, वैशाख १३ - रकियाको घाँसेमैदान डुल्दै गर्दा किसान साथीहरूले जर्सी 'गाई फारम' जाने कि भनेर सोधे ? ओहो ,यो त गजब मौका हो, नजाने त कुरै भएन । घुम्ने मान्छेलाई नयाँ ठाउँमा जान पाउनुको जस्तो आनन्द के हुन्छ र !
मिनी टाटामा घाँसको भारी थियो, त्यही फाराममा लैजान । काठमाडौं कोटेश्वरका बुद्ध थापा, बागलुङ खुङ्गाका गनबहादुर फगामी, सर्लाही लालबन्दीका बुद्धमान पाखि्रन र म फारामतर्फ लाग्यौं । थापा र पाखि्रन गाई फारामकै चालक र फगामी फारामका घाँसी । अल रकियाबाट १३ किमिमा छ- यो गाई फाराम पुग्न । अल मुजम्मा भन्ने ठाउँमा रहेको फाराम दोहाबाट साउदी बोर्डर लाग्दा सल्बा रोडको २९ किमि पार गरेपछि एक किमि दाहिनेतर्फ भित्र गए भेटिन्छ ।

गाई फारामको ठूलो कम्पाउन्डको गेटमै पुगियो । हामी प्रवेशद्वारमा छिर्न लाग्दा गेटमा त पानी ताल परेको थियो । गाडी छर्रर गर्दै अगाडि बढ्यो ।

बाटोमा किन पानी ताल पारेका होलान् भन्ने लाग्यो । कहाँ ताल पार्नु नि, त्यो त औषधि पानी पो रहेछ । गाई फाराममा जाँदा टायरले कीटाणु/जीवाणु बोकेर लैजान्छ भनेर तिनलाई मार्न पो रहेछ । कति सुरक्षा हैन ? सजिलै हुने भए त जसले पनि पाल्थे होला नि ।

भित्र छिरेपछि गाईका टहरा -गोठ) हरू खुबै देखिए । साथीहरू भन्दै थिए- गाईका ८ वटा र बाच्छीका २ वटा छन् । गाईलाई पनि वर्गीकरण गरेर राखिएको छ- दूध दिने क्षमताको आधारमा । संख्या जम्माजम्मी २ हजार रहेछ, जसमध्ये दूध दिने ८ सय । अरू केही ब्याउने अवस्थाका, केही थाकेका र कही बाच्छी । अस्टे्रलियाबाट शुक्रकीट ल्याएर तयार गरेका गाई हुन् भन्थे उनीहरू । बहर लगाउने चलन छैन । त्यही हुनाले बाच्छा जन्मिए पाल्नु नपर्ने रहेछ । प्रत्येक गाई हुन् वा बाच्छी सबैको कानमा ट्याग छ, जसको विस्तृत विवरण कम्प्युटरकृत गरिएको छ । कुनै गाईलाईर् पनि दाम्लो लगाएको छैन । नजिकै छुन जाने हो भने डराएर पर जान खोज्दा रहेछन् ।

हामी गाईलाई हेर्दे दाना बनाउने ठाउँमा गयौं, घाँस र अन्न मिलाएर बनाइँदै थियो- घाँस दाना । धनुषा सबैलाका सन्तोषकुमार साह लोडरबाट दाना बनाउने मेसिनमा घाँस खसाउँदै थिए । एकजना बंगलादेशी पनि थिए- तयार दानालाई निकाल्न । मेसिनमा मकै, जौ, भटमास, सूर्यमुखी फूल, भुस, कटन, हरियो र सुख्खा घाँस, डेरी मिक्स औधषि, सोडियम कार्बन, पानी, चुना, नुनलगायतका सामान मिसाएर तयार गरिन्छ भन्दै थिए- साह । उनले दाना कुटानी पिसानी गर्ने मिल, गाईको तौल लिने ठाउँहरू घुमाए ।

यो फारामको सनैयामा आफ्नै डेरी फार्म रहेछ, जहाँबाट दूध, दही, घिउ, पनिर, मोही उत्पादन हुँदोरहेछ । त्यही हुनाले गाई फाराम आफैंमा पर्फ]{ट छ, अर्थात् फारामका सबै चिजको व्यवस्था छ । काम गर्नेहरूमा एकजना डाक्टर, एक म्यानेजरसहित चालक, वेल्डर, लेबर, टेक्निसियन, इलेक्टि्रसियनसहितका रहेछन् । गाईको खुर काट्ने टेक्निसियन पनि रैछन् । नेपालीहरू भन्दै थिए- जम्मा ३९ जना छौं, जसमा सबैभन्दा बढी बंगलादेशी १५ जना, नेपाली ९, मिश्री ८, बर्मेली २ पाकिस्तानी, फिलिपिनो र सुडानी १/१ जना ।

हामीहरू घुम्दै बाच्छाहरू राख्ने ठाउँमा पुग्यौं, जहाँ दूधे बाच्छाहरू थिए । तिनलाई हेर्ने एकजनाले हामीलाई गाईको दूध र बिगौती दूध खान दिए । दूध त ठीकै हो तर बिगौती दूध खान कस्तो कस्तो लाग्यो । घरमा त भैंसीको बिगौती पकाएर खाने गरिन्थ्यो । गाईको बिगौती, त्यसमा पनि काँचै, घुटुघुटु निल्न अप्ठ्यारै भयो । तैपनि तीन घुट्की निलियो ।

अलि पर खोटाङ, टेम्माका कबिन्द्र राई गोबर सोहर्ने गाडी -बोक्टाट) चलाउँदै थिए । गाईको माथि टिनका ढ्वाङजस्ता भाँडा थिए- 'कोरल कुल' हो भने भने राईले, जसले गाईलाई गर्मीबाट जोगाउँछ अर्थात् गाईको लागि एसी । गाई फाराम डुल्दै गनबहादुर र म दूध दुहुने ठाउँ, जसलाई मिल्क पार्लर भनिँदो रहेछ- त्यहाँ पुग्यो । दुईटा पार्लरमध्ये एउटामा दूध दुहेर सकिएको रहेछ । अर्को पार्लरमा भने दुहुँदै थिए- संखुवासभा, मादीमूलखर्कका ठिटा वीरेन्द्र कार्की र एकजना बर्मेली ।

एउटा गाई दुहुन ५ मिनेट भए पुग्ने । एक सिफ्टमा ३२ वटा गाई दुहुँदा रहेछन्- यहाँ । एउटा गाईले दिनमा ३०/ ४० लिटर दूध दिँदो रहेछ । दिनमा तीनपटक गाई दुहुनैपर्ने । गाईलाई मिल्क पार्लरमा ल्याएर छुट्टाछुट्टै क्याबिनमा लस्करै राखेपछि ग्वालाहरू थुनको सरसफाइ गर्छन् । अनि दूध दुहुने मेसिन फिट गरिदिएपछि सरर दूध र्झछ र मेसिन आफैं खस्छ । दूध पाइपमा जम्मा भएर ट्याङ्कीमा पुग्छ । गाइको गतिविधि र कुन गाईले कति दियो, सबै गाईको कति भयो, क्यामरा र कम्प्युरटले रेकर्ड गरिरहेको हुन्छ । रमाइलो लाग्यो- गाई फारम नियाल्दा । कृषिप्रधान देश भए पनि अहिलेसम्म आफ्नो देशमा यस्तो देख्न पाइएको थिएन । तर मरुभूमि नै मरुभूमिको देशमा व्यवस्थित पशुपालन देख्दा भने आश्चर्य नै लाग्यो । (कान्तिपुर कतार)

सार्कमा भाग लिन प्रधानमन्त्री थिम्पु प्रस्थान

काठमाडौ, वैशाख १४ - सार्क सम्मेलनमा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार बिहान भुटानको राजधानी थिम्पु प्रस्थान गरेका छन् । १६ औं सार्क सम्मेलन बुधबारदेखि थिम्पुमा हुन लागेको हो ।


पत्नी गायत्री, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई,योजना आयोगका सदस्य दिनेशचन्द्र देवकोटा लगायत १३ सदस्यीय टोली सहित प्रधानमन्त्री त्यसतर्फ गएका हुन् । भुटान प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थला संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले शिखर सम्मेलनमा नेपालले जलवायु परिवर्तन सम्बन्धी मुद्दालाई महत्वका साथ उठाउने बताए । त्यस्तै विगातमा सार्क सदस्य राष्ट्रकाबीच भएका सहमतिको कार्यान्वयनमा जोड दिने उनले उल्लेख गरे । सम्मेलनमा भाग लिई प्रधानमन्त्री आगामी शुक्रबार स्वदेश फर्किनेछन् । यसअघि परराष्ट्रमन्त्री सुजाता कोइराला सहितको टोली भुटान पुगिसकेको छ । भुटानमा पहिलो पटक सार्क सम्मेलन हुन लागेको हो ।

भुटान जानुअघि प्रधानमन्त्रीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा माल्दिभ्सका राष्ट्रपति मो.नासिदसंग भेटवार्ता गरेका छन् । नासिद नेपाल हुँदै भुटान प्रस्थान गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको बताइको छ । कुटनीतिक सम्बन्ध विस्तार गर्ने,माल्दिभ्सले नेपाली दक्ष कामदार लिने आदि विषयमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए । पाकिस्तानका प्रधानमन्त्री सैयद युसुफ राजा गिलानीपनि नेपाल भएरै भुटान गएका छन् । (कान्तिपुर)

हिंसात्मक हुने शंका भए पर्यवेक्षण गर्नुस् : डा. भट्टराई

१४ बैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीले घोषणा गरेको आन्दोलन हिंसात्मक हुने शंका भए पर्यवेक्षण गर्न नागरिक अगुवाहरुलाई आग्रह गर्नुभएको छ । मंगलबार बिहान आफ्नै निवास शान्तिनगरमा नागरिक अगुवाहरुसँग छलफल गर्दै डा. भट्टराईले आफ्नो आन्दोलन पूर्णतया शान्तिपूर्ण हुने जानकारी दिँदै दिगो शान्ति र संबिधान सुनिश्चित गर्न आन्दोलनमा जानुपरेको स्पष्ट पार्नुभएको थियो ।


अभिनेता राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, गायीका आनी छोइङ डोल्मा, मानवअधिकारकर्मी सुशील प्याकुरेल लगायतका नागरिक अगुवाले डा. भट्टराईलाई भेटी मुलुक मुठभेडमा जान लागेकोमा चिन्ता जनाएका थिए ।

‘मुलुकलाई द्वन्द्वमा लैजाने हाम्रो चाहना हैन,’ डा. भट्टराईले भन्नुभयो- ‘दीगो शान्तिका लागि नै हामी शान्तिपूर्ण आन्दोलन गर्दैछौं, यदि शंका लाग्छ भने तपाईहरुकै नेतृत्वमा आन्दोलनको पर्यवेक्षण होस् ।’

छलफलपछि संचारकर्मीसँग कुरा गर्दै अभिनेता राजेश हमालले भन्नुभयो, ‘मुलुक द्वन्द्वमा जाने अबस्था आए परिवर्तनसहितको शान्तिपूर्ण यात्राका लागि डा. भट्टराईले नेतृत्व गर्नुपर्छ । हामी उहाँलाई सघाउन तयार छौँ ।’

कलाकारहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउन तथा वार्ता र सहमतिलाई पनि प्राथमिकतामा राख्न माओवादी उपाध्यक्ष भट्टराईलाई सुझाव दिएका थिए । (अनलाइनखबर)

फिरौती माग्ने ३ पक्राउ

रमेश खतिवडा, चरिकोट, वैशाख १३ - बालक बेपत्ता पारी परिवार सगँ फिरौती माग्ने ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ।


महोत्तरी घर भई दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा जुत्ता सिलाउने काम गर्दै आएका जोगीराम महराका १२ बर्षिय छोरा सञ्जयको अपहरण गरी पिरौती माग्ने ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ। गत ५ गते देखी अपहरणमा परेका बालकको भने हाल सम्म अवस्था अज्ञात छ।

उनलाई सदरमुकाम चरिकोटमै बसेर काम गर्दै आएका तराईबासीले अपहरण गरी उनको परिवारलाई फिरौती माग गरेका थिए। प्रंहरीले घटनामा संलग्न रहेको अभियोगमा सर्लाही जिल्ला लक्ष्मीपुर गाविस ७ घर भई हाल चरिकोटमा सिलाईको काम गर्दै आएका मुन्ना भनिने जुबेर मन्सुर, भारतको सितामढी घर भई चरिकोटमा कपडा बेच्दै आएका महोम्मद नुर आलम र भारतको सिमान घर भई चरिकोटमा कवाडी समानको ब्यापार गर्दै आएका रामकिशोर रायलाई पक्राउ गरेको छ।

उनीहरुले चरिकोटमा जुत्ता सिलाउने काम गर्दै आएका जोगिरामका छोरा सञ्जयको अपहरण गरी फिरौती माग गरेको प्रहरीले बताएको छ। उनीहरुले सञ्जयलाई फकाएर गत ५ गते नै लामोसाघुँ जिरी सडक हुदै अरनिको राजमार्ग भएर सिन्धुपाल्चोकको बलेफी सम्म बालकलाई पुर्‍याएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। यद्धपी बालकको अवस्था भने हाल सम्म अज्ञात छ। बालक जिल्ला बाहिरै हुन सक्ने प्रहरीको अनुमान छ।

यता जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक धिरजप्रताप सिंहले बालकको खोजी कार्य भईरहेको जानकारी दिए। उनले घटनामा संल्रग्नहरुलाई अपहरण सम्बन्धी ऐन २०६३ अन्तर्गत कानुनी कार्वाही चलाईने बताए। (नागरिकन्यूज)

चाबहिलमा भिडन्त, प्रहरी आक्रमणको निसानामा पत्रकार

काठमाडौँ, वैशाख १३ (नागरिक) नेपाल विद्यार्थी संघले चाबहिलमा गरेको आन्दोलनमा प्रहरीले हानेको ढुंगाबाट पत्रकारहरु घाइते भएका छन् । नागरिकका फोटोपत्रकार विजय राई, राजधानीका फोटोपत्रकार अशोक महर्जन र थप एक पत्रकार घाइते भएको नागरिकन्युजकर्मी केशब थोकरले जनाएका छन्। घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ।


घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ। आन्दोलनकारीले एउटा मोटरसाइकल जलाएका छन्। चाबहिल-गौशाला क्षेत्र तनावग्रस्त छ।

अनेरास्ववियु त्रिचन्द्र इकाई सभापति समिक बडालमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका त्रिचन्द्र स्ववियु उपसभापति विष्णु पौडेलेको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रिएको हो।

नेविसंघका विद्यार्थीहरूले सोमबार उपत्यकाका विभिन्न स्थानमा एक घन्टा चक्काजाम गर्नुका साथै आधा दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले आजसम्म पक्राउ परेका विद्यार्थीको रिहाइ नगरे भोलि बुधबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन्।

रत्‍नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा

रत्‍नपार्कमा सोमबार फोटो पत्रकारहरुमाथि आक्रमण गर्दै प्रहरी। तस्बिरः दीपक तोलांगे

डढेलोले पर्यटकीयस्थल रेसुङ्गा जोखिममा

१४ वैशाख, गुल्मी । गुल्मीको प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा जङ्गलमा हिँजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीले जङ्गलको माथिल्लो भागमा रहेको प्रसिद्ध धार्मीक, ऐतिहासिक तथा पर्यटकीयस्थल रेसुङ्गा क्षेत्र जोखिममा परेको छ ।


जिल्लाकै सबैभन्दा ठूलो बन अन्तर्गत पर्ने सो बनको पराल्मी गाविसको १ देखि ५ नम्बर वडासम्म फैलिएको जङ्गल क्षेत्रमा हिँजो साँझदेखि भिषण आगलागी भइरहेको हो । जिल्ला बन कार्यालयका रेन्जर कर्ण पान्डेका अनुसार वनक्षेत्रमा रहेका मृग, बाघ, चितुवा, कालीजलगायतका पशुपंछीको बासस्थान र महत्वपूर्ण जडिबुटी नष्ट भएको छ ।

गतवर्ष पनि सो क्षेत्रमा लागेको आगो चार दिनको प्रयासपछि नियन्त्रणमा आएको थियो । यसैगरी सल्यान हिवल्चा गाविस- ३ को देउराली सामुदायीक बनबाट फैलिएको डढेलोले स्थानीय रातो रोकाको घर जलेको छ । (अनलाइनखबर)